सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित, एमाले सांसद कोइरी सुरक्षित !

मङ्गलबार, १२ पुस २०७९, २२ : ३०
मङ्गलबार, १२ पुस २०७९

संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेको जनाएको छ । मंगलबार संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले एक सूचना जारी गर्दै सांसद गुरुङले भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन रहेको भन्दै निलम्बन भएको जनाएका हुन् । 

गौतमले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्र सेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ भन्ने व्यवस्था समेत रहेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखेको पत्रको आधारमा समेत उनी निलम्बनमा परेको जनाएका छन् । 

उनले  सूचनामा भनेका छन्–‘प्रतिनिधि सभाका सदस्य सार्वजनिक पद धारण गरेको व्यक्ति र राष्ट्रसेवक रहेको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २ (घ) र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २ (घ) ले स्पष्ट पारेको अवस्था छ अतः प्रतिनिधि सभाका सदस्य टेक बहादुर गुरुङ उपरको मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा रहेकोमा उक्त मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था कार्यान्वयन गर्न गराउन सम्बन्धित निकायमा लेखि पठाउने भनि उक्त आयोगबाट मिति २०७९/९/८ मा निर्णय भएको व्यहोरा उल्लेख गरि आयोगको प.सं. ०७९ /०८०, च नं.२७८२७, मिति २०७९/०९/०८ को पत्र यस सचिवालयमा प्राप्त हुन आएकोले प्रतिनिधि सभाका माननीय सदस्य श्री टेक बहादुर गुरुङ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ बमोजिम मिति २०७९/०९/०८ देखि स्वतः निलम्बन हुनु भएकोले यो सूचना प्रकाशन गरिएको छ ।’

एमाले सांसद कोइरीको सवालमा मौन 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले कांग्रेस सांसद गुरुङ र महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरीलाई प्रतिनिधि सभा सदस्यको रुपमा गतिविधिमा रोक लगाउन संघीय संसद सचिवालयलाई पत्राचार गरेको थियो । कोइरीमाथिको हत्या मुद्दा अदालतमा विचाराधीन रहेकोले उनलाई संसदीय गतिविधिमा रोक लगाउन भनिएको थियो । तर संसद सचिवालय उनको विषयमा भने मौन बसेको छ । 
कोइरीमाथि २०७२ सालमा भएको मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या गरेको अभियोग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप