शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रमा समस्या छ तर समाधान गर्न सकिन्छ – अर्थमन्त्री पौडेल

मङ्गलबार, १२ पुस २०७९, १५ : ३५
मङ्गलबार, १२ पुस २०७९

उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले आज मध्यान्ह अर्थ मन्त्रालयमा भेटवार्ता गरेको छ । सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रका तर्फबाट बधाई एवं शुभकामना दिए ।

अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ पनि गरेका थिए । अध्यक्ष गोल्छाले अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि महासंघको तर्फबाट सुझाव समेत पेस गरेका थिए । अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रूपमा देखापरेको चालूपू“जी कर्जा मार्ग निर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न तथा तरलता व्यवस्थापन र ब्याजदर स्थायित्वका लागि केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव सो अवसरमा राखे ।

मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा पनि अध्यक्ष गोल्छाले जोड दिए । अर्थतन्त्रमा वहुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र वैकिङ समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न आग्रह गरे ।

तरल महासंघका अध्यक्ष गोल्छाले अर्थ मन्त्रीज्यूबाट अर्थतन्त्रको संवेदनशीलता बुझेर सोही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको बताए । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै अहिले संकुचित हुँदै गएको यथार्थता सो अवसरमा राखिएको थियो ।

उपप्रधान एवं अर्थमन्त्री पौडेलले आफ्नो कामको पहिलो शुरुवात नै महासंघको प्रतिनिधिमण्डलसँगको भेटबाट भएको बताए । निजी क्षेत्रका मागप्रति सरकार कति गम्भीर छ भन्ने कुरालाई निजी क्षेत्रको छाता संगठनसँगको भेटलाई दिएको प्राथमिकताले पनि स्पष्ट पार्ने उनले बताए । सरकार निजी क्षेत्र बीचको सम्बन्ध अन्योन्याश्रित रहेको उनले पारे । निजी क्षेत्रको मनोबल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ, तपाईँहरूको मनोबललाई उच्च बनाएर काम गर्ने आफ्नो पहिलो प्राथमिकता हुने उनले स्पष्ट पारे । 

नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालयका सचिवद्वयको समेत उपस्थितिमा आयोजित भेटघाटमा अर्थमन्त्री पौडेलले महासंघले अगाडि बढाएको ‘अर्थतन्त्र जोगाऔं’ अभियानलाई सरकारको पनि समर्थन रहेको बताए । तपाईहरू दह्रो मनोबलका साथ काम गर्नुहोस्, समस्याको समाधान गर्न हामी प्रतिबद्ध छौं, अर्थमन्त्रीले भने, ‘समस्या छ तर समाधान गर्न सकिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप