शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सलमान पहिलो फिल्म फ्लप होस् भनेर प्रार्थना गर्थे : पातलो खुट्टा लुकाउन केटीको ६ वटा लेगिङ लाउँथे

मङ्गलबार, १२ पुस २०७९, १३ : ४०
मङ्गलबार, १२ पुस २०७९

आज सलमान खानको ५७ औँ जन्मदिन हो । सलमान ती सुपरस्टार हुन् जो आफ्नो दुब्लोपनका कारण कहिल्यै हिरो बन्न चाहँदैनथे । निर्देशन सिकिरहेका थिए । भाग्यले डोहोर्‌यायो र पाए फिल्म ‘बीवी हो तो ऐसी’ । त्यसपछि उनी ठूलो पर्दामा आए । रोचक कुरा के छ भने सलमान आफैँ उनको यो फिल्म फ्लप होस् भन्ने चाहन्थे किनभने उनलाई लाग्थ्यो कि उनले यो फिल्ममा असाध्यै नराम्रो काम गरेका कारण कसैले पनि उक्त फिल्म नहेरोस् भन्ने उनी चाहन्थे ।

जब उनले फिल्म ‘मैने प्यार किया’ साइन गरे, उनी यति पातलो थिए कि हावा चल्दा उनको पातलो खुट्टा पाइन्ट माथि स्पष्ट देखिने भएकाले पाइन्ट मुनि उनी ६–७ वटा लेगिङ लगाएर सुटिङ गर्ने गर्थे । यो फिल्म ब्लकबस्टर रह्यो तर ८ महिनासम्म कुनै फिल्म पाएनन् । अवस्था यस्तो थियो कि बेइज्जत हुनबाट जोगिनका लागि फिल्मका नक्कली घोषणा पनि गरिए ।

अब यी सबैलाई पछि पारेर सलमान आज बलिउडका सबैभन्दा महँगो र व्यस्त स्टारमध्ये एक हुन् । कुनै समय सलमानको पहिलो कमाई ७५ रुपैयाँ थियो, आज उनको कुल सम्पत्ति २३०० करोड भारु छ । करिब १०० फिल्ममा काम गरिसकेका सलमान अहिले दुई प्रोडक्सन हाउसका मालिक हुन् । बिइङ ह्युमन अब एउटा फाउन्डेशन मात्रै होइन, ब्रान्ड बनिसकेको छ ।

५७ औँ जन्मदिनमा उनको जीवनका केही यस्ता रोचक किस्साबारे जानकारी लिऔँ ।

– अफगानिस्तानबाट पलायन भएर भारत पुगेका थिए सलमानका जिजुबुवा

– २७ डिसेमबर सन् १९६५ मा सलमान खानको जन्म इन्दौर, मध्यप्रदेशमा भएको थियो ।

– सलमानका पिता स्क्रिन राइटर सलिम खान हुन् र आमा हिन्दु सुशिला चरक हुन् जो विवाहपछि इस्लाम कबुल गरेर सलमा बनेकी थिइन् ।

– वास्तविक ‘दबंग’ थिए सलमान खानका हजुरबुवा, जिजुबुवा थिए अफगानिस्तानी । सलमान खानका हजुरबुवा अब्दुल राशिद खान इन्दौरका डिआइजी थिए यस्तै उनका हजुरबुवा अलकोजाई पस्तुन थिए जो अफगानिस्तानबाट भारत आएका थिए ।

– सलमान खान १६ वर्षको हुँदाा उनका पिता सलिमले नायिका हेलेनसँग दोस्रो विवाह गरे । बुवाको विवाहका दिन सलमान असाध्यै रोएका थिए । सलिम खानले दोस्रो विवाह गरेपछि परिवारमा असाध्यै असन्तुष्टि थियो तर समयसँगै यो सबै समाप्त भइसकेको छ । अब सलमान खान आफ्नो सौतेनी आमा हेलनसँग निकै नजिकको सम्बन्ध राख्छन् ।

– सलमानले ग्वालियरको सिन्धिया स्कूल र मुम्बईको सेन्ट स्टेनिसलस हाई स्कूलमा पढेका थिए । सलमान सेन्ट जेभियर कलेजमा भर्ना भए तर उनले बीचमा नै पढाई छोडेका थिए ।   

जब सलमान खानले बुबा सलिमको तलबमा आगो लगाए

सलमानको बाल्यकालको अधिकांश समय इन्दोरमा बित्यो, जहाँ सलमान आफ्ना दाजुभाइसँग धेरै बदमासी गर्थे । एक दिन दीपावली मनाउने क्रममा सलमान आफ्ना दाजुहरूसँग कागज बालिरहेका थिए । वरपरका सबै कागजहरू सकिएपछि सलमान कागज खोज्दै बुबाको कोठामा पुगे । दराजमा राखिएको बुबाको पैसाहरु उठाएर बाल्न थाले । साना सलमानका लागि त्यो एउटा कागजको टुक्रा मात्र थियो तर वास्तवमा यो सलीम खानको महिनाभरको तलब थियो । उनले ७५० भारु जलाएका थिए । सलीम खानलाई थाहा हुने बित्तिकै उनले रिसाउनुको सट्टा बच्चाहरूलाई बोलाएर मायाले पैसाको महत्व सिकाएका थिए ।

सलिम खानले सलमानलाई क्रिकेटर बन्न दबाब दिएका थिए, जानाजानी म्याच हारे

क्रिकेटमा खास रुचि नभए पनि सलमान बाल्यकालमा निकै राम्रो क्रिकेट खेलाडी थिए । यस्तै सलमान एक राम्रो क्रिकेटर बनुन् भन्ने सलिमको चाहना थियो । यसका लागि सलिमले पाकिस्तानका दिग्गज क्रिकेटर सलिम दुर्रानीलाई सलमानको ट्रेनर बनाए । सलमानलाई बिहानै उठ्न मन पर्दैनथ्यो तर अभ्यासका लागि उनले आफ्नो निद्रा माया मार्नु पर्दथ्यो ।

एकपटक सलिम खान सलमानको खेल हेर्न स्टेडियम पुगेका थिए । सलमानलाई थाहा थियो कि यदि उनले राम्रो प्रदर्शन गरे भने उनका बुबाले उनलाई क्रिकेटर बन्न दबाब दिनेछन् र दैनिक अभ्यासका लागि निद्रा माया मार्नु पर्नेछ । यही डरका कारण सलमानले जानाजानी यति नराम्रो खेले कि उनका बुवाले रिसाएर उनको अभ्यास बन्द गराए ।

पहिलो कमाइ ७५ रुपैयाँ, ताज होटलमा नाचेका थिए

सलमान खानको पहिलो कमाई मात्र ७५ भारु थियो, जुन उनले ताज होटलको एक कार्यक्रममा डान्स गरेबापत पाएका थिए । सलमानका एक साथी ताज होटलको एक कार्यक्रममा नाच्न गएका थिए । उनले सलमानलाई पृष्ठभूमिमा उनीसँग नाच्ने मौका पनि दिए, जसको लागि उनले ७५ भारु पाए ।

सलमान खान अभिनेता होइन निर्देशक बन्न चाहन्थे

कलेज छाडेपछि सलमान खान निर्देशक बन्न चाहन्थे, किनभने उनको फिजिक देखेर उनलाई लाग्थ्यो कि उनी जस्तो कमजोर केटा कहिल्यै हिरो बन्न सक्दैन । आफ्नो करियर सुरु गर्न सलमान खानले सन् १९८८ मा ज्याकी श्राफको फिल्म फलकमा शशिलाल नायरलाई असिस्ट गरेका थिए । निर्देशक बन्नका लागि सलमानले एउटा फिल्मको स्क्रिप्ट पनि लेखेका थिए । उनी धेरै निर्मातासँग घुमफिर गर्थे तर कोही पनि उनीमा पैसा लगानी गर्न तयार थिएनन् ।

कोही अडिशन दिन नपुगेपछि संयोगवश सलमानले पाए पहिलो फिल्म

सन् १९८८ मा सलमानले फिल्म ‘बीवी हो तो ऐसी’ मा साइड रोल निभाएर फिल्म करियर सुरु गरेका थिए ।

वास्तवमा निदेशक जे.के. बिहारीको यो फिल्ममा रेखाको देवरको भूमिकाका लागि नयाँ अनुहारको खोजी थियो ।

एकदिन अडिसन राखियो तर कोही पनि अडिशन दिन पुगेनन् । निर्देशक जे.के बिहारीले निराश भएर गेटको अगाडि जो व्यक्ति सबैभन्दा पहिला आउँछ, उनलाई नै फिल्ममा कास्ट गर्ने सोच बनाए ।

संयोग नै मान्नुपर्छ ती पहिलो व्यक्ति सलमान खान थिए । सलमान खान आउने बित्तिकै निर्देशकले ‘बधाई छ, तिमी मेरो फिल्मको हिरो बन्नेछौ’ भने । सुरुमा सलमानले सोचे कि यो एउटा ठट्टा हो तर निर्देशकले उनलाई पछि विश्वास दिलाए ।

आफ्नो पहिलो फिल्म फ्लप होस् भनेर प्रार्थना गर्थे

‘बीवी हो तो ऐसी’ फिल्मका लागि सलमानले ११ हजार पारिश्रमिक लिएका थिए । फिल्मको सुटिङ सुरु हुँदा सलमानलाई अभिनय कसरी गर्ने भन्ने थाहा थिएन । सलमानले आफ्नो सुटिङको अन्तिम सट देखे, उनी खासै खुसी भएनन् । यो सीन पुनः सुटिङ गरिदिनुस् न भन्न पनि उनी सक्दैनथे । यो फिल्म रिलिज भयो भने देशभरका मानिसहरूले हेर्नेछन् र उनको अभिनय र फिजिकको खिल्ली उडाउनेछन् भन्ने चिन्ता सलमानलाई थियो । सलमान यति चिन्तित थिए कि आफ्नो पहिलो फिल्म फ्लप होस् भनेर प्रार्थना गर्न थाले । सलमान चाहन्थे यो फिल्म यस्तो फ्लप होस् र कसैले पनि हेर्न नजाओस् ।

बीवी हो तो ऐसी फिल्म रिलिज हुँदा सलमान यसबाट सन्तुष्ट थिएनन् । उनले आफ्ना बुवा सलिम खानलाई एउटा फिल्म बनाउन र आफूलाई पुनः लञ्च गर्न आग्रह गरे तर बुवाबाट जुन जवाफ पाए, सलमान त्यसबाट टुटे ।

सलिम खानले भने, ‘इन्दौरबाट मुम्बई आएर मैले कहिल्यै घोडामा पैसा लगाइनँ भने गधामा कसरी लगाउन सक्छु ?’

स्क्रिन टेस्टमा फेल भएपछि ‘मैने प्यार किया’ पाए, आफैँ फिल्म छोड्न चाहन्थे

मैने प्यार किया सलमान खानको करियरको पहिलो मुख्य फिल्म थियो, जसले सलमानलाई स्टारको हैसियतमा पुर्यायो । तर, सलमान यो फिल्म गर्न चाहँदैनथे । हो, सलमान आफ्नो अघिल्लो प्रदर्शनबाट यति दुखी थिए कि उनले कहिल्यै नायकको रूपमा काम मिलोस् भन्ने चाहेनन् । उनी यस फिल्ममा सहायक निर्देशकको रुपमा काम गर्न चाहन्थे ।

वास्तवमा यो सुरज बडजात्याको निर्देशनमा बनेको पहिलो फिल्म थियो । उनका बुवा राजकुमार बडजात्याको प्रोडक्सन हाउस राजश्री प्रोडक्सनबाट बनेका पछिल्ला केही फिल्म फ्लप भएका थिए र सुरज बडजात्याले ‘मैने प्यार किया’बाट धेरै आशा राखेका थिए । सुरुमा फिल्मको स्क्रिप्ट मन नपरेपछि ५ महिनासम्म फिल्म सुरु हुन सकेन । दोस्रो स्क्रिप्ट तयार हुँदा सूरज बडजात्यासँग ठूला नायक लिन त्यति पैसा थिएन । यस्तो अवस्थामा उनी नयाँ कलाकार सलमान खानलाई मौका दिन चाहन्थे ।

जब सलमानले फिल्मको स्क्रिन टेस्ट दिए, उनी असफल भए । तर पनि सुरजले उनलाई फिल्ममा कास्ट गरे । सुटिङ सुरु हुनासाथ केही समयपछि सलमान डराए र सुरज बडजात्यालाई फिल्म छोड्छु भनेर फोन गरे  बोलाए ।

सलमानले भने, ‘मलाई फिल्मबाट निकाल्नुहोस् किनभने तपाईंको पिता राजकुमार बडजात्याको यो फिल्ममा धेरै पैसा लगानी भएको छ । सबै डुब्नेछ । मलाई हिरोको साटो फिल्मको असिस्टेन्ट निर्देशक बनाइदेउ ।’

सलमानले सुरजबाट जवाफ पाए, ‘बीवी हो तो ऐसी फिल्म तिम्रो स्क्रिन टेस्ट थियो र मैले तिमीलाई मैने प्यार किया फिल्ममा कास्ट गरेर कुनै गल्ती गरेको छैन ।’

यति दुब्ला थिए कि निर्देशकले पाइन्ट भित्र लगाइदिएका थिए महिलाको सातवटा लेगिङ्ग्स

फिल्मको ‘कबूतर जा’ गीतको सुटिङका ​​क्रममा सलमानले ग्रे रंगको सुट पाइन्ट लगाएका थिए । सुटिङ सुरु हुने बित्तिकै हावा चल्यो र सलमानको पातलो खुट्टा देखिन थाल्यो । निर्देशकले सलमानको खुट्टा बाक्लो देखाउनका लागि पाइन्ट भित्र ६–७ केटीको लेगिङ लगाइदिएका थिए ।

बुवाले ‘मैने प्यार किया’ हिट हुने भविष्यवाणी पहिल्यै गरेका थिए

सलमानले बडजात्याको फिल्म मैने प्यार कियाको सुटिङ सुरु गरेका थिए । यो फिल्ममा भाग्यश्री उनको नायिका थिइन् । यो फिल्मपछि सलमानले सबै काम छोडे । सलमानले यस फिल्मको बारेमा बुबा सलीम खानको प्रतिक्रिया जान्न चाहेका थिए । सलिमले यस फिल्मका केही दृश्यहरू हेरे । सलमान आफ्नो बुवा घरमा आउने प्रतीक्षामा थिए । अन्ततः सलिम राति २ः३० बजे सलमानको कोठामा पुगे र भने,

सलीम– तँलाई के लाग्छ, तँ स्टार बन्नेछस् ?

सलमान – मलाई थाहा छैन, तपाईं भन्नुहोस् ।

सलिम – यो एक हिट फिल्म हो, कल्ट हो । (मुस्कुराउँदै)

सलिमको प्रशंसा पाएपछि सलमानको उत्साह बढ्यो र अन्ततः उनको भविष्यवाणी सही साबित भयो । सन् १९८९ मा आएको फिल्म मैने प्यार किया वर्षको सबैभन्दा धेरै कमाउने फिल्म साबित भयो, जसले सलमानलाई उत्कृष्ट अभिनेतामासमेत मनोनित गर्यो ।

महिनौँसम्म काम नपाएपछि बेइज्जत हुने डरले घोषणा गरे नक्कली फिल्म

सन् १९८८ मा रिलिज भएको ‘मैने प्यार किया’ मुख्य भूमिकामा सलमान खानको पहिलो हिट फिल्म थियो तर यसको सम्पूर्ण श्रेय भाग्यश्रीलाई दिइयो । यो फिल्मपछि सलमान खानले ८ महिनासम्म कुनै काम पाएनन् । यसबाट सलमान यति रिसाए कि उनका बुबा सलीम खानले निर्देशक जीपी सिप्पीलाई फिल्मको नक्कली घोषणा गर्नका लागि २००० रुपैयाँ घुस दिए ताकि सबैले सलमानको फिल्म हो भनेर सोचून् । जीपी सिप्पीले फिल्मको घोषणा गरे तर त्यो फिल्म बन्न सकेन ।

त्यसपछि भाग्यले फेरियो र निर्देशक रमेश तौरानीले ५ लाख तिरेर जीपी सिप्पीबाट उक्त फिल्मको संगीत अधिकार किने । त्यही ५ लाख रुपैयाँमा त्यो फिल्म बनेको थियो, जसको नाम ‘पत्थर के फूल’ थियो जुन सन् १९९१ मा रिलिज भएको थियो । यो किस्सा सलमान खानले २०२२ मा आइफा समारोहमा सेयर गरेका थिए ।

भारतमा १०० करोड कमाउने पहिलो फिल्म ‘हम आपके है कौन’ थियो

‘मैने प्यार किया’ पछि सलमान बागी, ​​पत्थर के फूल, सनम बेवफा, कुर्बान, साजन जस्ता फिल्ममा देखिए । सन् १९९४ मा सलमान आमिर खानको अपोजिट फिल्म ‘अंदाज अपना अपना’ मा देखिएका थिए । फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो, यद्यपि यसले पछि कल्ट कमेडीको स्थिति प्राप्त गर्यो । यसपछि सलमान सूरज बडजात्याको फिल्म ‘हम आपके है कौन’ मा देखा परे जसले हिन्दी सिनेमाको बक्स अफिसको नक्सा नै बदलिदियो ।

हम आपके है कौन भन्दा अघि, सन् १९८३ को फिल्म डिस्को डान्सरले १०० करोडको ओभरसिज कलेक्सन गरेको थियो, जसमध्ये सोभियत युनियनमा फिल्मले ९४ करोड र भारतमा मात्र ६ करोड कमाएको थियो । यस सन्दर्भमा, हम आपके है कौन भारतमा १०० करोडको व्यापार गर्ने पहिलो फिल्म थियो ।

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप