सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

‘नाटक किन गर्नुपर्छ भन्ने जानकारी हामी धेरैलाई हुन आवश्यक छ’

मङ्गलबार, १२ पुस २०७९, ०९ : ५५
मङ्गलबार, १२ पुस २०७९

हामीले भर्खरै ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ सम्पन्न गर्‍यौँ । यसको अर्थ, उद्देश्य र प्रभावका बारेमा स्वयंं हामी रंगकर्मीले समीक्षा गर्नुपर्छ र मिडियाले यसको समीक्षा गरिदिए अझ राम्रो हुने थियो । नाटक कसरी तयार गरिन्छ, रिहर्सल कसरी हुन्छ, नाटक मञ्चनको समग्र प्रक्रियालाई हेरेर मिडियाले समाचार, समीक्षा लेखिदिने हो भने रंगमञ्च क्षेत्रलाई टेवा पुग्ने हाम्रो अपेक्षा हो । मञ्चमा मञ्चित नाटक मात्रै हेरेर नाटक बुझ्न सहज हुँदैनजस्तो मलाई लाग्छ । 

यस महोत्सवले हामीलाई सबैभन्दा बढी सकारात्मक ऊर्जा प्रदान गरेको छ । महोत्वसमा सहभागी देश–विदेशका नाट्यकर्मीको भनाइ नै यो थियो कि यस्तो काम पनि सम्भव हुँदो रहेछ । एउटा साधारण संस्थाको कामलाई उहाँहरूले प्रशंसा गर्नुभयो ।  

महोत्सवका लागि हामीलाई आर्थिक चुनौती थियो । यसपालि हामीले धेरै सरकारी निकायसँग पनि समन्वय गर्ने कोसिस गर्‍यौँ । हाम्रो प्रयास देखेर उहाँहरूले कम्तीमा कान ठाडो गर्नुभएको छ । हामीले अलि छिटो प्रस्ताव लगेको भए धेरैले हामीसँग सहकार्य गर्ने थिए भन्ने हामीलाई लागेको छ । 

नेपाली रंगमञ्चको उत्थानमा सबैभन्दा ठूलो भूमिका मिडियाकै छ । मञ्चित नाटकका बारेमा समीक्षा वा समाचार दिएर मिडियाबाट सहयोग पाइरहेका छौँ । अहिले समग्रमा मिडियाले मञ्चित नाटकलाई प्रचारमा ल्याउन सहयोग गरिरहेका छन् । अब मञ्चित नाटकका बारेमा मिडियाले गुणदोषसहित समीक्षा लेखिदिनुपर्छ । हाम्रो कामको गुण पनि भनिदिनुपर्छ र दोष पनि औँल्याइदिनुपर्छ । 

रंगमञ्च क्षेत्रलाई व्यावसायिक बनाउने वा सामाजिक दायित्व वहन गर्ने बनाउने भन्ने प्रश्न प्रमुख रूपमा छ । यी दुवै कुरा सँगसँगै अगाडि बढ्ने र बढ्नुपर्छ भन्ने मलाई लाग्छ । अधिकांश नाटकले व्यक्ति वा समाजको कथा भन्ने नै हो । ती कथामा न्याय र अन्यायका मुद्दा आएका हुन्छन् । न्याय र अन्यायलाई बुझेर नाटक गरियो भने त्यसले सामाजिक दायित्व वहन गर्छ । यसरी गरिएको नाटकलाई दर्शकले टिकट काटेर हेरिदिनुभयो भने रंगमञ्च व्यावसायिक हुने हो । 

एउटा कलाकारले एउटा नाटकका लागि तीन महिना जति समय दिनुपर्छ । तर, एउटा नाटकबाट कलाकारले पाउने पारिश्रमिक भनेको बढीमा २०–२५ हजार रुपैयाँ हो । यति पैसाले काठमाडौंमा कसरी टिक्ने ? 

रंगकर्मीलाई रंगमञ्चमै टिकाउन दर्शक, सरकार, नाटकघर, मिडिया– सबैको सहयोग आवश्यक छ । कम्तीमा वर्षमा दुई–चारवटा नाटक सरकारी वा गैरसरकारी संघ–संस्थासँगको सहकार्यमा नाटकघरहरूले गर्न पाउँछन् भने कलाकारलाई केही सहज हुने थियो । 

​एउटा अभिनेताका लागि अभिनय नै प्रमुख हुन्छ । फिल्म होस् वा नाटक, अभिनेताले सुन्दर अभिनय गर्न सक्नुपर्छ । नाटक मेरो मनमा छ र गर्छु । काम गर्दै जाँदा यो मेरो कर्तव्य पनि बन्यो । १३ वर्षअघि रंगमञ्चकै उत्थानका लागि एउटा संस्था र नाटकघर खोलेका थियौँ । त्यसलाई निरन्तरता दिन र आफ्नो जीविका चलाउन पनि मैले केही काम गर्नैपथ्र्यो र फिल्ममा काम गरे । 

कुनै कथाहरू पढिरहँदा मेरो मस्तिष्कमा आउँछ, यसलाई कसरी मञ्चमा देखाउन सकिएला ? यस्तै सोच र रुचिले गर्दा म रंगमञ्चमा छु ।

अहिले नाटक एक खालको ट्रेन्डका रूपमा त आयो, तर यसलाई व्यवस्थित र गुणस्तरीय हिसाबले अगाडि बढाउन अझै सकिएको छैन कि जस्तो लाग्छ । नाटकका लागि पहिले त लेखिएको नाटक चाहियो । नाटक लेख्नेले लेखिदिनुपर्‍यो । अर्कोकुरा, नाटक किन गर्नुपर्छ भन्ने जानकारी हामी धेरैलाई हुन आवश्यक छ । 

हामीकहाँ व्यक्तिको अग्रसरतामा संघ–संस्थाहरूले आफ्नै नाटकघर बनाएर नाटक मञ्चन गर्न थालेको २० वर्ष मात्रै भएको छ । यो बीचमा कलाकार निकै उत्पादन भए । तर, नाटकमै लागेर जीवन चल्ने अवस्था अझै आइसकेको छैन । यद्यपि अहिले रंगमञ्चले विस्तारै गति लिइरहेको छ । जस्तो हुनुपर्ने थियो, त्यस्तो भइरहेको भने छैन । संसारभरि नै नयाँनयाँ नाटक लेखिएको कम्ती नै रहेछ । 

अहिले हामीले देशका विभिन्न समुदायका संस्कृति, संघर्षलाई नाटकमा ल्याउन सकेका छैनौँ । पहिचानकै कुरा उठेकै धेरै भएको छैन । यसलाई नाटकले बोक्न सक्नुपथ्र्यो । राजनीतिक मुद्दा मात्रै होइन, हाम्रो मौलिक संस्कृति, सम्पदालाई हामीले नाटकमा ल्याउन सक्नुपर्छ । यो खालको चेतना हामीकहाँ भर्खर भर्खर मात्र बढेको देखिन्छ । 

(कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप