आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विशेष चित्रकला कार्यशाला सम्पन्न

मङ्गलबार, १२ पुस २०७९, ०६ : ४२
मङ्गलबार, १२ पुस २०७९

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा प्रतिष्ठानका प्राज्ञ तथा चर्चित कलाकार सञ्जय बान्तवाको विशेष पहलमा “विशेष चित्रकला कार्यशाला” राजधानीमा सम्पन्न भएको छ । अपाङ्गता भएका कलाकारहरूको क्षमता प्रदर्शन तथा उनीहरूको कलालाई प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित सो चित्रकला कार्यशालामा १० जना अपाङ्गता भएका कलाकारहरूले भाग लिएका थिए । 

प्राज्ञ बान्तवा नेपालका चर्चित अपाङ्गता भएका कलाकार हुन् । उनका चित्रकलाहरूको स्वदेश तथा विदेशमा धेरै पटक प्रदर्शनी समेत भइसकेको छ । सो चित्रकला प्रदर्शनीमा नेपालका माउथ पेन्टर (मुखले चित्र बनाउने) अमिर बञ्जन तथा चर्चित बहिरा कलाकार प्रतिज्ञ शाक्य लगायतका १० जना कलाकारहरूले कार्यशाला अवधिमा नै विभिन्न खालका सन्देशमूलक चित्रकलाहरू कोरेका थिए । 

कार्यशालाको उद्‍घाटन तथा समापन सत्रलाई संवोधन गर्दै प्रतिष्ठानका कुलपति  कान्छा कुमार कर्माचार्यले यस विशेष चित्रकला कार्यशालामा अपाङ्गता भएका कलाकारहरूको कलालाई मुक्तकंठले प्रशंसा गर्दै कार्यशालाको आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरे  ।

अन्तर्राष्ट्रियस्तरमा नेपालका अपाङ्गता भएका कलाकारहरूको चित्रलाई प्रवद्र्धन गर्न तथा उनीहरूलाई प्रोत्साहन गर्नका लागि आइसल्याण्डका चर्चित माउथ पेन्टर ब्राण्डुर कार्सन पनि कार्यशालामा सहभागी भएका थिए । एक सामाजिक उद्यमीका रूपले समेत आफ्नो परिचय बनाएका ब्राण्डुर २६ वर्षको उमेर हुँदा एक रोगका कारण घाँटि भन्दा तल संपूर्ण शरीर प्यारलाइसिस भएपछि उनले म मुखले गर्ने काम के गर्न सक्छु त ? भनेर बिकल्पहरूको खोजी गर्दै जाँदा एक जना महिला कलाकारले मुखले चित्र बनाएको भन्ने थाहा पाएपछि “म पनि अब चित्र कोर्छु” भन्ने अठोटका साथ उनले कलाकारिता क्षेत्रमा पाइला टेकेका हुन् । उनको अथक प्रयास तथा निरन्तरको अभ्यासबाट नै उनी अहिले अन्तर्राष्ट्रियस्तरमा नै चर्चित माउथ पेन्टर बन्न सफल भएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप