बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

विद्यार्थी संगठनहरूको एक मत-‘कुनै पनि बहानामा स्ववियु चुनाव नगराउने षड्यन्त्र नहोस्’

सोमबार, ११ पुस २०७९, १८ : ३३
सोमबार, ११ पुस २०७९

विद्यार्थी संगठनहरूले जसरी भएपनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गराउन त्रिभुवन विश्वविद्यालयसँग माग गरेका छन् । विभिन्न बहाना बनाएर स्ववियु चुनाव नगराउने खेल भइरहेको भन्दै विद्यार्थी संगठनहरूले त्रिविको ध्यानाकर्षण गराएका हुन् । 

चुनावका विषयलाई लक्षित गरेर त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्ले आज विद्यार्थी संगठनहरूसँग छलफल गरेको थियो । छलफलको क्रममा विद्यार्थी संगठनका प्रतिनिधिहरू जुनसुकै हालतमा पनि चुनाव हुनुपर्नेमा जोड दिएका हुन् । परिषद्का प्रमुख पशुपति अधिकारीले चुनावको मितिका विषयमा छलफल गर्न विद्यार्थी संगठनहरूलाई बोलाएका थिए । त्यही क्रममा उनीहरूले आफूहरू चुनावको लागि तयार रहेको र त्रिवि त्यसबाट पछि हट्न नहुनेमा जोड दिए । 

हरेक २/२ वर्षमा फागुन १४ गते स्ववियु चुनाव गराउनुपर्ने व्यवस्था छ । तर, २०६५ सालयता स्ववियु चुनाव हुन सकेको छैन । यो वर्षको फागुन १४ गते चुनाव गर्ने बताएको थियो । तर, विद्यार्थीको परीक्षा तथा भर्नाका कारण फागुन १४ मा चुनाव गर्न नसकिने निष्कर्षमा परिषद् पुगेको थियो । परिषद्ले फागुन १४ गते सट्टा फागुन २८ गते चुनाव गर्ने प्रस्ताव गरेको थियो । उक्त नयाँ प्रस्तावित मितिबारे परिषद्ले विद्यार्थी संगठनहरूसँग छलफल गरेको हो । छलफलको क्रममा विद्यार्थी संगठनका पदाधिकारीहरूले जुनसुकै हालतमा चुनाव गराउनुपर्ने बताएका हुन् । 

बैठकमा सहभागी नेविसंघ त्रिविका नेता विष्णु बडैलाले सबै विद्यार्थी संगठनले जसरी पनि चुनाव गर्नुपर्नेमा जोड दिएको बताए । ‘सबै विद्यार्थी संगठनका अध्यक्ष उपस्थित भएका थिए । सबैले त्रिविले प्रस्तावित गरेको मितिमा चुनावका लागि हामी तयार छौं भन्ने कुरा भयो,’ उनले भने, ‘फागुन १४ गते गरेपनि, फागुन २८ मा गरेपनि, चैत २ गते गरेपनि या चैत १४ मा गरेपनि हामी तयार छौं भन्ने कुरा भयो । यो पाली कुनै पनि हालतमा पनि चुनाव गराउनुपर्छ भन्नेमा सबैको जोड रह्यो ।’

त्रिविले चुनाव गराउनको लागि सशक्त रूपमा लाग्नुपर्ने र त्यसका लागि विद्यार्थी संगठनहरूको पूर्ण सहयोग र समर्थन रहनेमा उनीहरूले जोड दिएका थिए । क्याम्पसहरूमा देखिएका विकृति विसंगती रोक्न चुनाव अपरिहार्य रहेको भन्दै त्रिविलाई पछि नहट्न आग्रह गरेका थिए । उक्त बैठकमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु अध्यक्ष सुनिता बराल, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली लगायतका विद्यार्थी संगठनका अध्यक्ष तथा पदाधिकारीको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप