सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

प्रचण्ड नेतृत्वको सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी पाउने पौडेल को हुन् ?

सोमबार, ११ पुस २०७९, १७ : २६
सोमबार, ११ पुस २०७९

४४ औं प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेलले उप प्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । पौडेलले तेस्रो पटक अर्थमन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

२०१६ मंसीर १६ गते स्याङजाको पुतलीबजार नगरपालिका वडा नं. १० मा जन्मेका पौडेल गत मंसिरमा भएको निर्वाचनमा रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।   

पौडेल २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसअघि २०७० मा रुपन्देहीकै क्षेत्र नम्बर चारबाट निर्वाचित पौडेल संविधानसभा सदस्यमा समेत निर्वाचित भएका थिए । २०७० चैत्र १४ देखि २०७२ असोज ३ सम्म संविधानसभाको संविधान अभिलेख अध्ययन तथा निर्क्यौल समितिको सभापति समेत भइसकेका पौडेल २०५१ सालदेखि नै संसदीय राजनीतिमा छन् । ०५१ सालमा पौडेल पाल्पा ३ बाट निर्वाचित भएका थिए ।

त्यस्तै पौडेल २०७८ जेठ १ देखि २०७८ असार २९ सम्म उपप्रधानमन्त्री तथा अर्थमन्त्री, २०७७ असोज २८ देखि २०७८ वैशाख ३१ सम्म पनि अर्थमन्त्री, २०७२ कात्तिक १९ देखि २०७३ श्रावण १९ सम्म अर्थमन्त्री बनेका थिए ।  
२०६७ चैत्र ३ देखि २०६८ भदौ ११ सम्म रक्षामन्त्री बनेका पौडेल २०६५ भदौ ६ देखि २०६६ जेठ ७ सम्म  जलश्रोत मन्त्री बनेका थिए । २०५३ चैत्र १२ देखि २०५४ असोज १० सम्म उनी युवा, खेलकुद तथा संस्कृति मन्त्री बनेका थिए ।  
२०७८ मङ्सिर १० देखि १४ मा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले), दशौं राष्ट्रिय महाधिवेशनबाट पाँचवर्षे कार्यकालका लागि केन्द्रीय कमिटीको उपाध्यक्षमा निर्वाचित  पौडेल सर्वोच्च अदातलको फैसला पश्चात् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पूर्ववत् अवस्थामा फर्किएपछि २०७७ फागुन २३ देखि २०७८ मंसीर १४ सम्म नेकपा (एमाले)को उपमहासचिवको जिम्मेवारीमा कार्यरत रहेका थिए ।  

२०७५ जेठ ३ देखि २०७७ फागुन २३ सम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को एकताबाट गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महासचिव रहेका पौडेल त्यसवेला एमाले र माओवादी एकताको वातावरण बनाउन मुख्य भूमिका खेल्ने मध्येका एक थिए ।   

२०७१ असार २५ देखि साउन १ मा काठमाडौंमा सम्पन्न (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको उपमहासचिवमा निर्वाचित पौडेल २०६५ फागुन ५ देखि १४ मा बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले), केन्द्रीय कमिटीको सचिवमा निर्वाचित भएका थिए ।  

२०५९ माघ १८ देखि २२ मा जनकपुरमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका उनी केन्द्रीय कमिटीको प्रथम बैठकबाट स्थायी कमिटीको वैकल्पिक सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तै २०५४ माघ १२ देखि १८ मा नेपालगन्जमा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले), केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित उनी २०४९ माघ १४ देखि २० मा काठमाडौँमा सम्पन्न पाचौँ राष्ट्रिय महाधिवेशनबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले), केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित भएका थिए ।  

२०४७ पुष २२ मा एमाले केन्द्रीय कमिटीको सदस्यमा मनोनीत भएका उनी  २०४६ भदौ ९ देखि १४ मा सिरहामा भूमिगत रुपमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (माले)को चौंथो महाधिवेशनको प्रतिनिधि बनेका थिए ।  

संघर्ष तथा जनआन्दोलनमा भूमिका :
–२०३७ असार १२ मा नेपाल कम्युनिष्ट पार्टी (माले)का दस्तावेजहरूसहित रुपन्देही जिल्लाको गौतम बुद्ध विमानस्थल नजिकबाट गिरफ्तार । राजकाज मुद्दामा ३ वर्ष कारागार र रु. ३००० जरिवानाको सजायसहित भैरहवा कारागार चलान । ४५ दिनको लगातारको मेहनत र तयारी पछि २०३७ भदौ १ गते बिहान ४.३० बजे भैरहवा जेल विद्रोह गरी सुरक्षित रुपमा जनताको माझमा पुग्न सफल ।

–२०३५–२०३६ मा रुपन्देही जिल्लामा सञ्चालित निरंकुश पंचायती व्यवस्था विरोधी जनआन्दोलनमा सक्रिय सहभागी ।

–२०४६–२०४७ मा नवलपरासी जिल्लामा सञ्चालित निरंकुश पञ्चायती व्यवस्था विरोधी जनआन्दोलनमा नेतृत्वदायी भूमिका ।
–२०६२–२०६३ मा लुम्बिनी अञ्चलमा राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सञ्चालित जनआन्दोलनमा नेतृत्वदायी भूमिका ।

राजनीतिक यात्राको आरम्भ र विकासक्रम :
–२०३४ मा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (माक्र्सवादी– लेनिनवादी) सँग सम्पर्क ।
–२०३५ असोज ७ मा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (माक्र्सवादी­–लेनिनवादी) को सदस्यता प्राप्त ।
–२०३५ माघ ३ देखि रुपन्देही जिल्ला अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माले)को ईलाका कमिटी सदस्य ।
–२०३७ असोजमा नेपाल कम्युनिष्ट पार्टी (माले) को रुपन्देही जिल्ला कमिटीको सदस्य । २०३७ मङ्सिर देखि २०४० कार्तिक सम्म नेपाल कम्युनिष्ट पार्टी (माले) पाल्पा जिल्ला कमिटी सदस्य ।
–२०४० मंसीर देखि २०४७ मंसीरसम्म फरक–फरक समयमा नेपाल कम्युनिष्ट पार्टी (माले) जिल्ला कमिटी अर्घाखाची, गुल्मी र नवलपरासीको सचिव र पश्चिम दक्षिण क्षेत्रीय कमिटी (साविक लुम्बिनी अञ्चल) को सदस्य ।
–२०३५ मंसीर ३ देखि २०४६ चैत्र २६ सम्म भूमिगत राजनीतिमा कृयाशील । २०३५ मंसीर ३ देखि हालसम्म पूर्णकालिन राजनीतिककर्मींको भूमिकामा क्रियाशील ।
–२०३५ देखि २०४६ सम्मको भूमिगत राजनीतिक जीवनमा कैलाश, पवन, जयन्त, कपिल, उमेश, दिव्य, ध्रुव आदि भूमिगत नामको प्रयोग ।
–२०४७ पुषमा नेपाल कम्युनिष्ट पार्टी (माले) तथा नेपाल कम्युनिष्ट (माक्र्सवादी)को एकीकरण भएलगत्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय परिषद सदस्य र केन्द्रीय कमिटी सदस्यमा मनोनीत ।
–२०४७ माघ देखि २०४९ माघसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाकाली अञ्चल इन्चार्ज  । २०४९ देखि २०७३ सम्म विभिन्न समयमा करिब १० वर्ष लुम्बिनी अञ्चल इन्चार्ज ।
–२०५१ माघ २७ देखि विभिन्न समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय संगठन विभागको सदस्य, सचिव र ६ कार्यकाल प्रमुख ।
–२०५३  सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उद्योग व्यवसाय विभागको प्रमुख । २०५५ असार २७ मा स्थानीय निकाय विभागको प्रमुख । २०६६ असार ५ मा संविधानसभा संसदीय विभागको प्रमुख ।
–२०५६ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले), केन्द्रीय कार्यालय सचिव ।
–२०६१ साउन १५ र २०६९ असार ८ देखि नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालय सचिव । विभिन्न समयमा केन्द्रीय सचिवालय सदस्य ।
–२०६६ असार ५ देखि पश्चिमाञ्चल विकास क्षेत्रमा पार्टी कामको अनुगमन ।
२०७३ असोज ११ देखि नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश नंं. ५ को संगठन कमिटीको संयोजक ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप