आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

‘प्रचण्ड बाहिरिएपछि देउवाले ओलीलाई पाँच वर्ष प्रधानमन्त्री बन्न अफर गर्नुभयो’

गठबन्धन भत्काउन प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबाहेक एमालेसँग विकल्प थिएन : विशाल भट्टराई
सोमबार, ११ पुस २०७९, १७ : १९
सोमबार, ११ पुस २०७९

नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु पार्टी अध्यक्ष केपी शर्मा ओलीको जीतको रूपमा अर्थ्याउँछन् । प्रचण्डलाई प्रधानमन्त्री बनाएर ओलीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्काउन सफल भएको र आफूमाथि लाग्दै आएको प्रतिगमनको बिल्ला हटाउन सफल भएको उनको दाबी छ ।

प्रचण्डको आकाङ्क्षामाथि खेलेर एमालेले देशलाई गठबन्धनको १८ महिना लामो शासनलाई अन्त्य गरेको भट्टराईको भनाई छ । आखिर कसरी एमालेले कांग्रेस नेतृत्वको गठबन्धनलाई भत्काउन सफल भयो त ? यो सर्प्राइज मुभ थियो कि लामो कसरत पछिको परिणाम ? यसै सन्दर्भमा रातोपाटीका लागि रोहित दाहालले भट्टराईसँग कुराकानी गरेका छन् :

–कस्तो आश्चर्यजनक ढङ्गले परिवर्तन गरिदिनुभयो नेपालको राजनीतिलाई एकै दिनमा कसरी सम्भव भयो ? पहिलेदेखि नै एमाले तयारीमा थियो कि ?

निर्वाचनअघिदेखि नै मान्छेहरूमा चर्चा चाहिँ के थियो भने चुनाव सकिएसँगै यो गठबन्धन यथावत् नरहन सक्छ । मान्छेहरूको पूर्वानुमान नै थियो निर्वाचनपछि प्रचण्डले प्रधानमन्त्रीका दाबी गर्नुहुन्छ । कांग्रेसले त्यो दिँदैन । नदिनुको कारणमा शेरबहादुर देउवाको उमेर पनि उत्तरार्द्धमा छ, स्वास्थ्य पनि प्रतिकुल छ । उहाँले पहिलो चरणमा दाबी गर्ने र दोस्रो चरणमा प्रचण्डलाई दोस्रो चरणमा लिने । तर प्रचण्डलाई म यो बेला प्रधानमन्त्री भइनँ भने अर्को चरण त के हो के हो । सम्झौता पनि उल्लङ्घन होलान्, अर्को समीकरण पनि आउला । जे हुने हो यो बेलै हुनुपर्छ भन्ने उहाँलाई लाग्यो । उता कांग्रेस सभापतिलाई पनि प्रचण्ड यति सजिलै गठबन्धन छोडेर हिँडिहाल्लान् जस्तो लागेको थिएन । 

–भनेपछि एमालेमा बनेको गठबन्धन नितान्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालजीको प्रधानमन्त्री बन्ने आकाङ्क्षाले बन्यो ? 

गठबन्धन टिकेन, गठबन्धनमा उहाँहरूसँग कुरा मिलेन । उहाँहरू आउनुभयो, हामीले दियौँ भने भइगयो । वास्तवमा माओवादीको २०६४ पछिको जस्तो ओरालो यात्रा छ नि त्यो ग्राफ निरन्तर ओरालो झर्दैछ । त्यो आधारमा मैले बारबार प्रधानमन्त्री पाउँदैछु भन्ने विश्वास प्रचण्डमा छँदैछैन । 

नेपाली कांग्रेसको अहिलेको नेतृत्व त आत्मविश्वास गुमाएकै नेतृत्व हो । किनभने नेकपा विभाजन हुँदा पनि हामी जित्छौँ भन्ने आत्मविश्वास नहुने कुरा त भयङ्कर ठुलो आत्महीनता हो । त्यसको शिकार भएको यो नेतृत्वमा केपी ओलीजस्तो मान्छेले भेट्टाउनुभयो । उहाँ कस्तो हो भने एकदमै अन्धकारमा पनि उज्यालो देख्ने, पूरै रसातालमा पुग्दा पनि डाँडैमा भएको महसुस गराउन सक्ने विशेषता छ । मैले धेरै सङ्गत गर्दा कहिल्यै म निराश भएको र म तल छु भन्ने फिल नै नगर्ने एउटा नेता हो केपी ओली । अनि उहाँले त हेरिरहनु पनि भएको थियो । 

फेरि अहिलेको सांसदको अङ्कगणित पनि कस्तो भइदियो भने राजकीय पदका हिसाबले भन्ने हो भने के कांग्रेस जिरो हुने, कि एमाले जिरो हुने । हिजोसम्म भएको गठबन्धन उतै भएको भए एमाले केहीमा पनि हुँदैन थियो । सभामुख, राष्ट्रपति, सरकारमा पाउने ठाउँमा कहीँ पनि हुँदैन थियो एमाले । मलाई लाग्छ पहिले भएका कतिपय नियुक्ति पनि उल्टिनसक्ने खतराहरू थिए । अब ठ्याक्कै एमाले यता भएर कांग्रेस एक्लिने स्थितिमा फेरि कांग्रेसको हालत त्यही हुने थियो । त्यो पोजिसनमा बसेको एमालेलाई त ‘उहाँ आइदिनुभयो के भयो त ?’ २ वर्ष प्रधानमन्त्री लिनुहुन्छ, त्यसपछि बाँकी कुरामा एमाले पनि सिटकै कारणले अगाडि छ । 

–आखिर प्रचण्डलाई २ वर्ष प्रधानमन्त्री मान्न त केपी ओली तयार नै रहेछन् । २ वर्षअघि यसरी नै तयारी भइदिएको भए यस्तो विनाश भोग्नु पर्दैन थियो नेपालका कम्युनिस्टहरूले भन्छन् नि ।

एकदमै फ्ल्यास ब्याकमा जान खोज्नुभयो । मलाई एकदमै खुसी लाग्यो । यो कुरा कोट्याउनुपर्ने आवश्यकता नै महसुस गरेको थिएँ । प्रचण्डको सुरुदेखिको जीवनदर्शन चाहिँ सत्ताबाहेक सबै भ्रम हो भन्ने सिद्धान्त हो । उहाँको सम्पूर्ण चिज चाहिँ त्यसमा केन्द्रित छ । विद्रोहका समयमा उहाँले विद्रोहका माध्यमबाट सत्ता लिन खोज्नुभयो । त्यो चाहिँ अन्तर्राष्ट्रिय परिस्थिति लगायत उहाँहरूको आत्मगत, वस्तुगत सबै परिस्थितिले त्यसलाई साथ दिएन । 

जब उहाहरु शान्तिप्रक्रियामा आइसक्नुभयो, त्यसपछि सेना समायोजन मार्फत सत्ता लिन खोज्नुभयो । त्यो पनि प्रयास असफल भयो । तेस्रो पटक उहाँले माधव नेपाल प्रधानमन्त्री भएका बेला देशभरि विद्रोह गरेर सत्ता लिन खोज्नुभयो । त्यो प्रयास पनि असफल भयो । त्यसपछि एमालेसँग एकता गरेर नेतृत्व हत्याउने र देश आफ्नो मुठीमा लिने प्रयास गर्नुभयो । किनभने एमाले त पूर्व–पश्चिम, उत्तर–दक्षिण, हिमाल, पहाड, तराई सर्वत्र फैलिएको पार्टी घरघर पुगेको पार्टी, एक किसिमले भन्ने हो भने सुसङ्गठित, सुव्यवस्थित र सुविचारित पार्टीलाई च्याप्प मैले लिन सकेँ भने देश मेरो मुट्ठीमा आइहाल्यो भनेर उहाँले अन्तिम प्रयास गर्नुभयो । 

उहाँले एउटा कुरा हेर्नु भएको थियो केपी ओलीको स्वास्थ्य । उहाँको स्वास्थ्य प्रतिकुल भयो भने माधव नेपाल, झलनाथ खनाल, अरूलाई त मैले कार्यकर्ता नै बनाएको छु भन्ने भयो । अब कति मज्जाले धोका दिनुहुँदो रहेछ हिजो ४ बजे नै थाहा भइहाल्यो । हिजोको घटना इतिहासमा उल्लेख्य घटनाका रूपमै रहन्छ होला । माधव नेपाल र झलनाथ खनाललाई हिजोका दिनमा उहाँले दिएको धोकाको कुरा गर्ने हो भने त । 

–कांग्रेसलाई दिएकोभन्दा ठुलो धोका हो, होइन ?

भयङ्कर ठुलो धोका हो । किनभने उहाँकै आडभरोसा पार्टी फुटाउनुभयो उहाँहरूले । धेरै कुरा उहाँहरूले गुमाउनु भयो । माधव नेपाल जस्तो मान्छे, राष्ट्रिय पार्टीको हैसियत बनेन पार्टीको हेर्नुस् त । किनभने बिचरा दशौँ महाधिवेशनमा कुरेर तपाईं अध्यक्ष हुनुहोस् भनेर केपी ओलीले भन्दा, नवौँमा केपी ओलीसँग हार्नुभएको । बीचैमा अध्यक्ष हुने प्रयास गर्नुभयो । त्यो हालतमा माधव नेपाललाई पुर्‍याएर राष्ट्रिय पार्टीको हैसियत लिन नसक्ने स्थितिमा पुग्नु भनेको त माधव नेपाल त सिद्धिनु हो । अब त झन् माधव नेपालको पार्टीमा कति ठुलो पहिरो जाला ? यो अवस्था कसले बनायो त भन्दा प्रचण्डले नै बनाउनुभयो नि । 

–त्यो त एमालेमा पनि बनाउनु होला नि त, त्यस्तै हो भने ?

त्यसमा हामी सचेत छौँ । किनभने हामीले जेजस्ता पात्रहरू लिएर अघि बढेका छौँ, त्यो राम्रोसँग हेक्का राख्नुपर्छ । दिनानुदिन काममा हरेक कुरामा हेक्का राख्नु पर्छ । यत्ति हो एमाले बेगर यो गठबन्धन एक मिनेट पनि अगाडि बढ्न सक्दैन । अब २ वर्ष अविश्वासको प्रस्ताव राख्न पाइन्न । यो अवधि हामी पुरापुर सहयोग गरेर जान्छौँ । कुनै प्रकारको किचलो हुँदैन । त्यसपछि पनि माओवादी केन्द्रलाई एउटा सजिलो के हो भने उहाँहरूको एउटा बाध्यता छ, देशभरि कहीँ पनि उहाँको पकड छैन, कसै न कसैसँग टाँसिनुपर्छ । आगामी ८४ सालमा हुने निर्वाचनमा एमालेसँग नजोडिई उपाय नै छैन । त्यस कारण अब अढाई वर्षपछि जब सत्ता हस्तान्तरणको बेला आउँछ, त्यो बेला उहाँले आफ्नो भविष्य हेरेर पनि कसैलाई धोका दिनुहुँदैन । 

–यसको मतलब साढे दुई वर्षपछि चाहिँ उहाँले सत्ता हस्तान्तरण गर्नुहुन्छ ?

हस्तान्तरण गर्न उहाँ अभिशप्त हुनुहुनेछ । किन हुनुहुन छ भने त्यसपछि हुने निर्वाचनमा नेपाली कांग्रेसले उहाँलाई लिँदैन । अनि एमालेसँग नमिली त उहाँको खैरात छैन । 

–सहज हस्तान्तरण गर्नुहुन्छ भन्ने विश्वास छ तपाईंहरुलाई ?

विश्वास छ किनभने उहाँसँग अरू उपाय पनि त छैन । 

–फेरि कांग्रेसतिर गएर प्रधानमन्त्री बन्ने सम्भावना छैन ?

त्यो सम्भावना छैन । किनभने त्यसपछिको निर्वाचन पनि हेर्नुपर्ला नि त । अर्को कुरा कति पटक धोका दिने भन्ने पनि त होला नि । बन्दै जाँदा त्यो सङ्ख्या पनि त बढ्दै जाला । 

–एमालेभित्रै नेता कार्यकर्ताहरू प्रचण्डलाई प्रधानमन्त्री मानेर गएको कुरामा त्यति सन्तुष्ट देखिँदैनन् नि? 

दुई धार, दुई पक्ष छ एमालेमा । पक्ष भनेको गुटबन्दीका हिसाबले होइन कि अटोमेटिक धारणा बनेको के छ भने त्यसलाई कसैले नेतृत्व गरिहालेर छाहरी प्रदान गरेर गुटै बनाएको चाहिँ छैन । एउटा धारणा के छ भने एमाले सम्पूर्णरुपमा बाहिर बसेर बलियो प्रतिपक्षीको भूमिका निर्वाह गरेको भए त अर्को चुनावमा हामी बलशाली नै हुन्थ्यौँ नि त । किन आत्तिनुपर्थ्यो ? अर्को एउटा पक्ष के छ भने संसदीय व्यवस्थामा जिम्मेवारीमा नगई नीति कार्यान्वयन गर्न सकिँदैन । अनि जम्मै ठाउँमा हामी खाली भएर कसरी पार्टी बलियो बनाउन सकिन्छ ? विकास निर्माणको काम गर्नुछ सकारकामा छैनौँ । सरकारमा भएन भने बजेट हुँदैन । बजेट नभए नीति कार्यान्वयन हुँदैन । त्यही भएर हामी ठाउँमा बसेर काम गर्नुपर्छ भन्ने ठुलो पङ्क्ति छ । त्यो दुईवटै पङ्क्तिको संशय के छ भने भोलि प्रचण्डले के गर्छन् ?

–प्रचण्डलाई प्रधानमन्त्री स्वीकारेकोमा तपाईंको धारणा चाहिँ के छ ?

व्यक्तिगत रूपमा एमालेले आफ्नो लागि गरेको यो स्ट्राटेजी सही छ भन्ने मेरो ठहर छ । 

–तपाईंहरुले केपी ओलीको राजनीतिक चलाखी भने पनि जीत त प्रचण्डको भयो नि । आफू प्रधानमन्त्री बन्न ओलीलाई पनि समर्थन गर्न लगाउनुभयो ?

उहाँको प्रधानमन्त्री पदप्रतिको लालसा र लोभ जुन छ त्यसबाट यो गठबन्धन भत्काउनु नै एमालेको ठुलो जीत हो । अदालतको फैसलाबाट बनेको यो गठबन्धन हामी नभत्काएको भए, अनवरतरुपमा निरन्तर हुन्थ्यो । अन्तर्राष्ट्रिय शक्तिहरूको साथ थियो । त्यस्तै, प्रचण्डलाई साबिकको गठबन्धनबाट उम्काएर अर्को गठबन्धनमा उभ्याउने कुरा प्रधानमन्त्री पदबाहेक अन्य कुराबाट सम्भव थिएन । आकाङ्क्षाको हिसाबले प्रचण्डको सफलता हो । तर आममान्छले वहाँलाई के भन्दैछ भन्नेतर्फ हेर्‍यौँ भने वहाँ सफल हुनुभयो भन्दा पनि जसरी पनि पदमा तयार हुने देखियो ।

रटानको रूपमा प्रतिगमन भयो भनियो, एमाले प्रतिगमनको नाइके भनियो, केपी ओली प्रतिगमनको नेता हो भनियो । अहिले वहाँ प्रतिगमन सबै बिर्सिएर त्यही केपी ओलीको निवास बालकोटमा पुग्नु भयो । लामो समय अपमान गरिएको बार्दलीमा प्रचण्डलाई पनि प्रतिकात्मक रुफमा उभ्यानुभयो । यो पनि केपी ओलीको ठुलो सफलता हो । 

यसमा नेपाली कांग्रेसको मूल नेतृत्वको अकर्मण्यता पनि हो । कांग्रेसको नेतृत्वले प्रचण्डलाई बेलैमा चिन्न सकेन । खास बेला सहयोग गरे पनि खास बेला बेलामा धोका दिनसक्नुहुन्छ भन्ने वहाँहरूले बुझ्नु भएको रहेनछ । देउवा आरामले मलाई प्रधानमन्त्री मानिहाल्छन् नि, राष्ट्रपति पनि भइहाल्छन् नि भन्ने सोच्नुभयो । जब बालुवाटारबाट वहाँ गाडी लिएर बालकोट हिँड्नुभयो, बीचमा देउवाले केपी ओलीलाई फोन गरेर तपाईं बनिदिनुहोस् पाँच वर्ष प्रधानमन्त्री, हामी लिखित गरिदिन्छौँ भन्ने ठाउँमा पुग्नु भयो नि । त्यो भनेको अलिकति खेल्ने ठाउँ राखौँ भन्ने थियो ।

यो गठबन्धन बनेपछि देशले पछिल्ला १८ महिनामा जे अवस्था भोगिरहेको छ, त्यसबाट कुनै न कुनै रूपमा देशलाई मुक्त गर्नुपर्ने थियो । एउटा विशेष परिस्थितिमा देउवा ठुलो पार्टीको दलको नेता चुनिनु भयो तर मुलुक नै ड्राइभ गर्नका लागि शेरबहादुर देउवा त्यति योग्य मान्छे होइन । हिजो अयोग्य भनेको त होइन, तर आज वहाँको उमेर र स्वास्थ्यले देश चलाउनका लागि जुन प्रकारको आत्मबल, भिजन र कोओर्डिनेसन गर्ने क्षमता थिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप