आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश खारेज गर्न पनि तलबभत्ता खानुपर्ने भयो : भक्ति सिटौला

‘मन्त्री भएर पनि प्रदेश सरकार, प्रदेशसभा खारेज गर्न भूमिका खेल्ने हो’
सोमबार, ११ पुस २०७९, १६ : ४५
सोमबार, ११ पुस २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रदेश १ प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलाले आफूहरू प्रदेशसभा र प्रदेश सरकार खारेज गर्न लागिपर्ने बताएका छन् । प्रदेशसभा सदस्यको शपथग्रहणपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै उनले घरभित्रै पसेर घर भत्काउन सकिने भएकाले आफूहरू प्रदेश भत्काउन लाग्ने बताएका हुन् ।

‘हामीले प्रदेशसभा जरुरत छैन भनेका छौं । प्रदेशसभाले नेपाली जनतालाई आर्थिक भारमात्रै थपेको छ । आज विदेशसँग ऋण लिएर प्रदेशसभाका सदस्यहरूलाई तलब भत्ता खुवाउनु परेको छ । यो वाहियात हो,’ उनले भने, ‘केन्द्र सरकारले स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्छ भन्ने हामी प्रमुख रुपमा उठाउँछौँ । भत्ता खाने म पनि पर्छु । तर स्वाभावैले बिगार्न लाग्दा पनि भोको पेट त हुँदैन । घर भत्काउन पनि भोको बसेर भत्काउन सकिँदैन नि त ?’

सिटौलाले मन्त्री बन्ने परिस्थिति निर्माण भए सोही अनुसार अगाडि बढ्ने बताए । यद्यपि मन्त्री हुँदा पनि प्रदेश खारेज गर्न नै लागिपर्ने उनको भनाइ छ । ‘परिस्थिति मुताबिक चल्ने हो । मन्त्री भएर पनि प्रदेश सरकार, प्रदेशसभा खारेज गर्न भूमिका खेल्ने हो । त्यही घरभित्र बसेर घर भत्काउनु प¥यो,’ सिटौलाले भने, ‘बाहिरबाट कराएर घर भत्काउ भनेर हुँदैन रहेछ । प्रदेशसभामा भाग लिएको पनि त्यसैका लागि हो । हामी चुनाव लड्दा नै प्रदेश खारेजको मुद्दा लिएर चुनाव लडेका हौं ।’

प्रदेश खारेज हुनुपर्छ भन्ने मान्यता रहे पनि प्रदेशको नाम भने छिटो राख्नुपर्ने उनले बताए । ‘म पहिलो नम्बरमै प्रदेशको नाम राख्नुपर्छ भन्ने मान्यता राख्छु । तत्कालका लागि नाम राख्नु पर्छ,’ उनले भने, ‘प्रदेश खारेज नभएसम्म अनाम हुनुभएन । मेरो पार्टीको एजेन्डा नै प्रदेश सरकार जरुरत छैन । हामीले केन्द्र सरकार र स्थानीय निकायले काम गर्दा हुन्छ भन्ने कुरा हो । म पनि नेपाली जनताको लागि बोझ भएको छु भन्ने हाम्रो मान्यता हो ।’

उनले केन्द्रको राजनीतिमा र प्रदेशमा के गर्ने भन्ने विषयमा दुई दिनपछि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय लिने बताए । ‘अहिले हामीले केन्द्र सरकारलाई समर्थन मात्रै गरेका छौं । सरकारमा जाने नजाने भन्ने निर्णय अहिले भएको छैन । सरकारमा जाँदा के शर्तमा जाने र नजाँदा किन नजाने भन्ने विषयमा पर्सिको बैठकबाटै गर्छौं । प्रदेशको हकमा पनि सोही बैठकमा छलफल चल्छ र प्रदेशमा जाने नजाने भन्ने विषयमा पनि कुरा गर्छौं,’ उनले भने ।

राप्रपा प्रदेशसभा संसदीय दलको बैठक आगामी १५ गते बस्ने उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप