आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ सरकार बन्ने प्रक्रियालाई सहजतापूर्वक लिनुपर्छः खाँण

सोमबार, ११ पुस २०७९, १५ : ०७
सोमबार, ११ पुस २०७९

गृहमन्त्री बालकृष्ण खाँणले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकार बन्ने प्रक्रियालाई आफूले सहजतापूर्वक लिएको प्रतिक्रिया दिएका छन् । सोमबार मन्त्रालयमा आयोजित आफ्नो बिदाइ भेटमा बोल्दै काँग्रेस नेता समेत रहेका गृहमन्त्री खाँणले नयाँ सरकार गठन प्रक्रियालाई देशले पनि सहजतापूर्वक लिनुपर्ने बताए । उनले नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई आफूले फोनमार्फत् बधाई तथा शुभकामना दिएको उल्लेख गर्दै दाहाल नेतृत्वको सरकारलाई सबैले सहयोग गर्नुपर्ने पनि स्पष्ट पारे । 

मन्त्री खाँणले सरकार भनेको सरकारकै निरन्तरता भएकाले नयाँ सरकारलाई पनि सहयोग गर्न कर्मचारीहरुलाई पनि  सचेत गराए । उनले भने, ‘आम निर्वाचनपछि सरकार निर्माण गर्ने प्रक्रियामा केही परिवर्तनहरु पनि भएका छ । गठबन्धनमा परिवर्तन पनि भएको छ । यसलाई यसलाई देशले सहजतापूर्वक नै लिनुपर्दछ । तर सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालजीलाई मैले हिजो फोन गरेर बधाई तथा शुभकामना पनि दिएको छु । र, नयाँ सरकारलाई हामी सबैले मद्दत गर्नु पर्दछ । अव हाम्रो संवैधानिक व्यवस्थाले, दलीय प्रबन्धले राजनीतिक दलका नेता र कार्यकर्ताहरु दलमा आवद्ध रहनु त स्वभाविक हो । तथापि सरकार भनेको सरकारकै निरन्तरता हो । हामीले हिजोको सरकारको निरन्तरतालाई नै अगाडि बढाएको हो । अव आउने नयाँ सरकारले पनि त्यसैलाई निरन्तरता दिएर जान्छ । त्यसकारणले सरकारलाई सहयोग गर्नु हामी सबैको साझा दायित्व हो । र, तपाईहरुलाई पनि आग्रह गर्न चाहन्छु–सबैले सहयोग नै गर्नुहोला । र, खास गरेर गृह मन्त्रालयमा काम गर्दाखेरी सीमित स्रोत, साधनलाई कसरी विस्तार गर्ने ? त्यसलाई कसरी जुटाउने यो सरकारको दायित्व नै हो ।’

गृहमन्त्री खाँणले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहेपनि फरक नपर्ने अनुभूति समेत सुनाए । प्रधानमन्त्री कार्यालयमा रहेको सो विभागलाई गृह मन्त्रालय मातहत ल्याउन अझै पनि दवाव परिरहेका बेला उनले भने जहाँ रहेपनि फरक नपर्ने प्रतिक्रिया दिए । 

गृहमन्त्री खाँणले सो विभागले आवश्यक परेका सबै सूचनाहरु दिएकाले पनि आफूले जता भएपनि भिन्नता महसुस गर्नु नपरेको उल्लेख गरे । गृहमन्त्री खाँणले गृह मन्त्रालयमा स्रोत र साधनको भने कमी रहेको औंल्याउँदै त्यसको बन्दोबस्त गर्न आवश्यक रहेको पनि पटकपटक दोहोर्‍याए । उनले मध्यरातमा आफूले मन्त्रालयमा बसेर काम गरेको र त्यसमा सबै कर्मचारीहरुले सहयोग गरेको भन्दै धन्यवाद समेत व्यक्त गरे । 

गृहमन्त्री खाँणले १ वर्ष ६ महिना १२ दिन गृह मन्त्रालयको नेतृत्व  गरेका थिए ।  त्यसलाई सफलतापूर्वक संचालन गरेको उनको दावी थियो । खासगरी स्थानीय तहको निर्वाचन र आम निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आफू खुशी रहेको गृहमन्त्री खाँणले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप