बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

यति खास कसरी बन्यो ‘अवतार : द वे अफ वाटर’ ?

सोमबार, ११ पुस २०७९, १४ : ४३
सोमबार, ११ पुस २०७९

अहिलेसम्मकै सबैभन्दा सफल चलचित्रको सिक्वेल १३ वर्षको लामो प्रतिक्षापछि हलमा रिलिज भएको छ । यस्तो अवस्थामा जेम्स क्यामरुनको यो फिल्म उनले सोचे जस्तो सफल होला त ?

द हलिउड रिपोर्टरका अनुसार जेम्स क्यामरुनको २००९ मा रिलिज भएको फिल्म ‘अवतार’ २.९ बिलियन डलर कमाएर सिनेमा जगतको सबैभन्दा ठूलो बक्स अफिस हिट फिल्म बनेको छ । यसैकारण, हालसम्मको सबैभन्दा सफल फिल्मको सिक्वेलको रुपमा ‘अवतार : द वे अफ वाटर’ का लागि पनि बक्स अफिसलाई निकै आशा छ ।

यस्तो अवस्थामा ठूलो प्रश्न यो छ कि यो फिल्मले पनि पहिलो फिल्म जस्तै सफलताको कीर्तिमान स्थापित गर्न सक्ला ? यस्तो हुने आशा पनि देखिएको छ । हालसम्मका धेरैजसो प्रतिक्रिया सकारात्मक छ ।

मुभी र्‌याङ्किङ वेबसाइट रोटेन टमाटोजका अनुसार चलचित्रले व्यावसायिक समीक्षकबाट ८० प्रतिशत सकारात्मक रेटिङ पाएको छ । साथै, ९५ प्रतिशत यस्ता मानिसहरुले यसलाई रुचाएका छन् जो फिल्म प्रशंसकको रुपमा दर्ता भएका छन् ।

तर, अब सिनेमा देखाउने अधिकार बेच्ने विषयमा स्ट्रिमिङ प्लेटफर्मबीच प्रतिस्पर्धा भइरहेको छ । अर्को शब्दमा भन्ने हो भने कुन स्ट्रिमिङ प्लेटफर्ममा यसलाई देखाउने भन्ने विषयमा एक किसिमको तनाव नै हुने गर्छ । यसबाहेक विश्वको ठूलो फिल्म बजार चीनका थुप्रै सिनेमाघर अहिलेसम्म महामारीका कारण बन्द छन् ।

क्यामरुनले फिल्म रिलिज हुनु अघि रोयटर्ससँगको कुराकानीमा भने, ‘के हामी परिवर्तन भएको बजारको फाइदा लिन सक्छौं वा हामी धूमकेतु ठोक्किएपछि मर्ने अन्तिम डाइनासोर हौँ ? म अहिले यी प्रश्नको जवाफ दिन सक्दिनँ ।’

जेम्स क्यामरन : ब्लकबस्टरका राजा

‘अवतारः द वे अफ वाटर’ निर्माणको पूरा खर्च भने खुलाइएको छैन । यद्यपि, हलिउड रिपोर्टरले यसको बजेट ३५ करोड डलर भएको अनुमान गरेका छन् । यस्तोमा हेर्ने हो भने  ऐतिहासिक रूपमा यो सबैभन्दा धेरै बजेटको फिल्म हो ।

जेम्स क्यामरुनले रोयटर्ससँगको कुराकानीमा घाटाबाट बच्नका लागि फिल्मले कम्तीमा २ अर्ब डलरको कमाई गर्नुपर्ने बताएका छन् । यद्यपि, अहिलेसम्म यो उपलब्धि चारवटा फिल्मले मात्रै हासिल गरेको छ जसमध्ये दुई फिल्म ‘अवतार’ र ‘टाइटानिक’ (१९९७) को निर्देशन क्यामरुनले नै गरेका छन् ।

लियोनार्डो डिक्याप्रियो र केट विन्सलेट अभिनीत, टाइटानिकले बक्स अफिस रेकर्ड मात्र तोडेको छैन धेरै प्रशंसा पनि पाएको छ । यो चलचित्रले ११ ओस्कार अवार्ड पाएको छ । यसअघि ‘द लर्ड अफ रिङ्ग्स ः द रिटर्न अफ द किङ्ग्स’ (२००३) र ‘बेन हर’ (१९५९) ले मात्रै यति ओस्कर अवार्ड पाएका थिए ।

‘अवतार : द वे अफ वाटर’ को पनि राम्रो सुरुवात

‘अवतार : द वे अफ वाटर’ लाई लिएर धेरै अपेक्षा छन् र सुरुवात पनि राम्रो भएको छ । अहिलेसम्म फिल्मले अमेरिकामा १३४ मिलियन डलर र विदेशमा ३०० मिलियन डलर कमाइसकेको छ । महामारीको यो युगमा यसलाई निकै राम्रो सुरुवात मानिन्छ । यो फिल्म पनि सफल हुनेमा जानकारहरु आशावादी छन् ।

मिडिया रिसर्च कम्पनी फ्रान्चाइज इन्टरटेनमेन्टका डेभिड ए ग्रोसले एएफपीलाई भने, ‘अपेक्षाहरू फरक कुरा हुन्, यो चलचित्र उत्कृष्ट छ । यसले छुट्टीहरूमा राम्रो व्यापार गर्नेछ ।’

नयाँ प्रविधिको प्रयोग

जसरी क्यामरुनले चलचित्र ‘अवतार’को पहिलो एपिसोडका लागि नयाँ क्यामेरा प्रणाली विकास गरेका थिए, त्यसैगरी यसपटक पनि उनले थ्रीडीमा पानीमुनि छायांकन गर्न सकिने गरी छायांकनकर्ता पावेल अक्टेलसँग मिलेर नयाँ प्रणाली विकास गरेका छन् ।

‘द वे अफ वाटर’ को कथा मुख्य पात्र ज्याक सुली (स्याम वर्थिङ्टन) र नेतिरी (जो साल्दाना) को वरिपरि घुम्छ जो आफ्नो पुरानो शत्रुबाट बच्न घर छोडेर जंगलमा भाग्छन् । उनीहरु मेटकायना समुदायको टोनोवारीमा आश्रय लिन जान्छन् ।

यो यस्तो टापु हो जसको लागि समुद्र नै सबै थोक हो । उनीहरू आफूलाई जलीय जीवजस्तै ठान्छन् । सुलीको परिवारको लागि चुनौती भनेको शत्रुहरूसँग व्यवहार गर्नु र समुद्र र पानीको नयाँ संसारमा अनुकूलन गर्नु हो ।

चलचित्र निर्माणका क्रममा टुटेका रेकर्ड

द हलिउड रिपोर्टरका अनुसार केट विन्सलेटले एक दृश्यका लागि सात मिनेट १५ सेकेन्डसम्म पानीमुनि सास रोकेकी थिइन् । इन्टरनेट मुभि डाटाबेसका अनुसार उनले टम क्रुजको ‘मिशन इम्पोसिबल ः रोग नेसन’ को सुटिङका ​​क्रममा ६ मिनेटसम्म सास रोकेर रेकर्ड तोडेका थिए ।

विन्सलेटले यसअघि क्यामरुनसँग टाइटानिक फिल्ममा काम गरिसकेका छिन् । हलिउड रिपोर्टरसँग कुरा गर्दै, उनले क्यामरुनको ‘अविश्वसनीय महिला भूमिकाहरू सिर्जना गर्ने क्षमता’ का लागि प्रशंसा गरिन् । उनले भनिन्, ‘यी महिला नेतृत्व गरिरहेका छन्, उनीहरुसँग शारीरिक शक्ति छ र उनीहरु भावनात्मक पनि छन् ।’

फिल्म ‘अवतार’ मा उनले मेटकायना कुलकी कुलमाताको भूमिका निभाएकी छिन् । यस भूमिकाबारे उनले भनिन्, ‘ विश्वलाई मैले जस्तै देख्ने व्यक्तिको भूमिका खेल्न पाउँदा म निकै उत्साहित थिएँ । ’

सिक्वेलको बढ्दो चलन

पछिल्लो एक दशकमा, पैसा कमाउनका लागि सिक्वल र स्पिन–अफमा निकै विश्वास गरिएको छ । जस्तै कि स्टार वार्स र मार्वल फिल्म र सिरिज । ‘लर्ड अफ रिङ्ग्स’ यस वर्षको हासम्मको सबैभन्दा महँगो टिभी सिरिज हो ।

यी सबै अपेक्षाका बीच अवतारका दुई भागबीचको लामो दूरीका कारण यो फिल्म हेर्न धेरैलाई चासो नहुन सक्छ भन्ने आशंका केही समीक्षकहरू छन् ।

बक्सअफिस प्रोका सीन रोबिन्सले रोयटर्सलाई भने, ‘सामान्य धारणा यो छ कि पहिलो फिल्म पप संस्कृतिमा फिट भएन । तर, यस कथासँग सम्बन्धित सम्झनाहरू जनताको दिमागबाट पूर्ण रूपमा हटेका छैनन् ।’

फ्लोरिडाको वाल्ट डिज्नी वर्ल्डमा थ्रीडी ‘अवतार’ रोलरकोस्टर सबैभन्दा लोकप्रिय आकर्षणहरू मध्ये एक भएको छ । यहाँ मानिसहरू पेन्डोरा ग्रहको दुनियाँमा उडान भर्नका लागि तीनदेखि चार घण्टा प्रतीक्षा गर्छन् ।

जे होस्, क्यामरुन पनि सिक्वेल बनाउने बढ्दो प्रवृत्तिमा सामेल भएका छन् । ‘द वे अफ वाटर’ बाहेक अब उनले फिल्म ‘अवतार’को तेस्रो र चौथो भागमा पनि काम  सुरु गरेका छन् । उनले यी फिल्मको सुटिङका ​​लागि डिज्नीसँग सम्झौता गरेका छन् ।

जलवायु संरक्षण र प्रेम कथा

सिक्वेल भए पनि जलवायु संरक्षण र प्रेमकथामा आधारित यो चलचित्रले दर्शकलाई तानिरहेको छ । सन् २००९ मा रिलिज भएको चलचित्र ‘अवतार’ ले प्रकृतिसँग मेलमिलापमा जीवन बिताउनु पर्ने महत्वलाई देखाउँदै पर्यावरणीय समस्यामा जनताको ध्यानाकर्षण गरेको थियो ।

आज जेम्स क्यामरुन प्रकृति संरक्षण र महासागरहरूको संरक्षणको लागि पूर्ण रूपमा काम गरिरहेका छन् । यस्तै, जलवायु आपतकाल पनि ठूलो दर्शक माझ चर्चाको विषय बनेको छ।

‘प्रेम’सँग जोडिएको मानवीय जोशलाई विशेष गरी क्यामरुनका फिल्महरूमा देखाइएको छ । ‘टाइटानिक’ जस्तै ‘अवतार’ मा पनि नयाँ क्यामेरा प्रविधिको सहयोगमा दृश्यहरूलाई आकर्षक ढंगले देखाउँदै जलवायु संकटसँग सम्बन्धित सन्देश दिने प्रयास गरिएको छ ।

हलिउड रिपोर्टरसँगको कुराकानीमा मुख्य अभिनेत्री जो सल्दानाले यो मूलतः प्रेमकथा भएको बताइन् ।

नयाँ पार्टमा रोमान्टिक सम्बन्ध मात्र नभएर परिवारसँग जोडिएको प्रेमलाई पनि देखाइएको छ । तसर्थ, सेन रोबिन्स विश्वास गर्छन् कि क्यामरुनले यो ठूलो शर्तमा पनि सफलता पाउनेछन् । दर्शकले के हेर्न चाहन्छन्, त्यसको लागि उनलाई अझ राम्रो अनुभव भएको उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप