बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

‘साहित्यिक आकाशमा जून भएर उदाउनु आठौँ आश्चर्य’

सोमबार, ११ पुस २०७९, १२ : ४७
सोमबार, ११ पुस २०७९

यो नेपाली शिर उचाली संसारमा लम्किन्छ
जूनकीरीझै ज्योति बाली अन्धकारमा चम्किन्छ...
चाहे झुकोस् नीलो आकाश यो नेपाली झुक्दैन
चाहे रुकोस् चिसो बतास यो नेपाली रुक्दैन.... ।

यति मीठो राष्ट्रभक्तिले भरिएको गीतका लेखक हुन् भूपि शेरचन । शेरचनले यस्ता थुप्रै गीत लेखेका छन् । उनी गीतबाट जति चर्चित छन् त्यो भन्दा बढी कविताबाट चर्चित छन् । ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ कविता सङ्ग्रले उनलाई चर्चाको यो शिखरमा पुर्याएको हो । यो उनको सबैभन्दा उत्कृष्ट कविताहरूको सँगालो हो । यसले २०२६ सालमा साझा पुरस्कारसमेत प्राप्त गरेको थियो । 

उनले विभिन्न नाममा आफ्ना कृतिहरू प्रकाशित गरेका छन् । परिवर्तन (२०१०) मा भूपेन्द्रमान शेरचन्द ‘सर्वहारा’, नयाँ झ्याउरे (१९५४ ई.) मा ‘सर्वहारा’, निर्झर (२०१५) मा बीएम शेरचन जस्ता नाम लेखेका भए पनि ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ (२०२५) कविता सङ्ग्रहमा भूपि शेरचन भनेर आफूलाई चिनाएका छन् । 

जन्मस्थलबाटै सिर्जनाको प्रेरणा

भूपि शेरचन मुस्ताङको थकटुकुचेमा जन्मिएका थिए । साहित्य सिर्जनमा उनले त्यो भूगोल र वातावरणबाट प्रेरणा पाएका थिए । दमको रोगबाट थलिएपछि सुरेन्द्र गौचनले लिएको अन्तरवार्तामा भूपिले आफैँ यो कुरा बताएका थिए । “मुस्ताङ थाक खोला नजिक थकालीहरूको जुन बस्ती छ त्यसको अन्तिम बस्ती टुकुचे भन्ने ठाउँमा मेरो जन्म भयो,” उनले भनेका छन्, “त्यसको अगाडि पछाडि नीलगिरि, धौलागिरि हिमाल पर्छ । त्यो धूपि र सल्लाहरूको जता हेर्यो उतै तिनीहरूको समूह, अगाडि काली गण्डकी पछाडि थाक खोला त्यहाँको भौगोलिक अवस्था हेर्दा मलाई लाग्छ त्यहाँ जन्मने मान्छे यदि ठूला भएर धेरैजसो कवि, कलाकार भएनन् भने त्यो ठाउँको अपमान हुन्छ जस्तो लाग्छ । त्यस्तो ठाउँमा आफू जन्मेँ ।”

फेरि यसलाई खण्डन गर्दै प्राकृतिक सौन्दर्यले मात्र केही हुँदैन, कवि, लेखक हुनलाई सानो अवस्थामा कुनै न कुनै कुराले भित्रैसम्म घचघच्याउने गरी आघात पुर्याएको हुनुपर्छ भन्छन् । “त्यसो नभई मानिसभित्रको संवेदना तिक्खर हुँदैन, मलाई लाग्छ म पाँच वर्षको हुँदा मेरी माताज्यूको आकस्मिक निधन भयो,” भूपिले भनेका छन्, “मैले जीवनको अन्तिमसम्म अहिलेसम्म पनि आमाको मायाको अभावको अनुभव गरेँ । त्यो अभावले मेरो संवेदनालाई तीक्ष्ण बनायो, यसले मलाई कविको रूपमा चिनायो ।” 

भूपिका जस्ता बिम्बात्मक कविता लेख्ने कविहरू उनीभन्दा अघि र पछि पनि देखा परेका छैनन् । भूपिको यो क्षमतालाई उषा शेरचन भने आश्चार्य मान्छिन् । “हाम्रो समुदाय आफ्नै संस्कार र संस्कृतिको धनी हो । साहित्य, सङ्गीत, कलासँग खासै सरोकार राख्ने समुदाय होइन,” शेरचन भन्छिन्, “तर उहाँ जसरी राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा नेपाली साहित्य आकाशमा जून भएर उदाउनुभयो त्यो आठौँ आश्चार्यमध्ये एउटा आश्चार्य हो ।” शेरचन समुदायबाट नेपाली साहित्यमा आउने पहिलो कवि हुन् उनी, शेरचन, भट्टचन, तुलाचन र गौचन त्यो समुदायभित्र पर्छन् । भौगोलिक कारणले पनि यो समुदाय आफ्नो व्यापार व्यवसाय र पाक कलामा निपुण समुदाय हो । 

भूपिको रोग

धेरै साहित्यकारले भूपिको विलाशी जीवनले गर्दा रोगले च्याप्यो भनेका छन् । २०४२ साल वैशाख १ गतेदेखि उनी ओछ्यान परेका थिए । त्यसपछि कहिले अस्पताल, कहिले घर गर्दै उनको धेरै समय वित्यो । बिरामी हुँदा भेट्न जाने शुभचिन्तकहरूले रक्सी पिएको थाहा पाएर उनलाई सम्झाउँथे । यस्तो सल्लाहबाट दिक्क भएर भूपिले यो कविता लेखको बताइन्छ । 

‘मैले पिएकोमा रिसाएका साथीहरू,

पिएर त हेर, पिउन झन् गाह्रो छ, 

मरेर शहीद हुनेहरू, 

जिएर त हेर, जिउन झन् गाह्रो छ ।’

तर भूपिले दिएको अन्तरवार्तामा त्यो कुरा मेल खाँदैन । किनभने भूपिका बुबा र दाजुहरू रक्सी खाँदैन थिए तर बाध्यतावश केही वर्षपछि उनले खानु परेको बताउँछन् । “हरेक व्यक्तिको रेसिस्टेन्ट पावर फरक हुन्छ,” रोगका बारेमा भूपिले भनेका छन्, “अनियमित राजनीतिक र साहित्यिक कार्यक्रमको व्यस्तताका कारण खानपान, अनियमित जीवन र अतिशय चुरोट खाने बानीले यो रोग लागेको हो कि ।” 

संसारमा कैयौँ यस्ता कवि, लेखकहरू छन् जसले जीवनमा कहिल्यै चुरोट छोएनन् । फेरि कसरी उनीहरू ठूला कवि लेखक भए ? भनी भूपि आफैँ प्रश्न गरेका छन् । “तर चुरोटका अम्मली कवि लेखकलाई चाहिँ लेख्नेबेलामा सबैभन्दा बढी चाहिन्छ, ध्यान केन्द्रित गर्दा चुरोट स्वाट्ट तान्दा तेस्रो आँखा खुले जस्तो हुन्छ, मलाई पनि त्यो हुन्थ्यो ।”

सबैभन्दा बढी मनपर्ने आफ्नै सिर्जना

हरेक पाठकलाई भूपिका कविता र गीतहरू उत्कृष्ट लाग्छन् । तर उनी आफैँले भने लाहुरे भई परदेशिएका नेपाली दाजुभाइहरू र तिनका परिवारको अवस्थालाई केन्द्रित भई लेखिएको कविता उत्कृष्ट मानेका छन् । उनले भनेका छन्, “हामी नेपालीहरूको अवस्था, विशेष गरेर हाम्रा पहाडी दाइभाइहरूको जनजीवनको अवस्थालाई लिएर निकै वर्षअगाडि लेखेको तीतरा, बट्टाई र भक्कूको राँगोका सन्तानहरूप्रति कविता निकै मनपर्छ ।”...

तीतरा, बट्टाई र भक्कूको राँगोका सन्तानहरूप्रति 

जर्मनका धावैमा होस् 

वा बर्माको घेरामा 

मलायाका रबडका वनमा होस्

या नेफा र लद्दाखका पराइ लडाइँमा

ती जो मरे 

विना कुनै स्वार्थ

विना कुनै अर्थ

व्यर्थ

तीतरा, बट्टाई र भक्कुको राँगोजस्तै

अरूको हा... हा... हामा लागेर 

अरूको थपडी र नाराले जागेर 

अरूले ख्याएको जाँड र कटले मात्तिएर 

‘आयो गोर्खाली’ भन्दै

(गोरु खालि बन्दै !)

युद्धमा हाम्फालेर 

ती मरेका लोग्नेहरूको पेन्सनले

आफ्ना छोराको पास्नी गर्ने ए अभागिनी स्वास्नीहरू !

ती मरेका छोराहरूको आर्जनले आफ्नै चौरासी पूजा गर्ने

ए बूढा–बूढीहरू !

ती बितेका साथीहरूको जर्सी लगाएर

रोदीमा सोल्टी फकाउने ए तन्नेरी मान्छे हो !

ती मरेका प्रेमीहरूको कोसेली चुरा लाएर

डोलीमा बस्ने ए ब्याहुली जेठी–कान्छीहरू हो !

खुपै सुहाएको छ तिम्रो छातीमा

यी तक्मा ‘परम वीरचक्र’ र ‘भिक्टोरिया क्रस’को

तर के आउँदैन यसबाट कहिलेकाहीँ

ओस्सिएको गन्ध तिम्रो आफन्तहरूको लाशको !

(घुम्ने मेचमाथि अन्धो मान्छे पृ५७) 

भूपिका अन्तिम सिर्जना–

२०४२ साल वैशाखदेखि बिरामी भएपछि उनको सिर्जनात्मक कार्यमा अवरोध भयो । तर उनले यस समयमा पनि कलम चलाए । उनले ‘प्राज्ञिक अदालतमा साक्षीको बयान’, र आफ्नो जीवनीमा आधारित एउटा लघु काव्य पनि लेखेका थिए– ‘टुकुचेदेखि टुकुचासम्म’ । यसमा उनको वितेका ५० वर्षसम्मको जीवनमा मैले के पाएँ भनेर लेखेका र ती खेस्राकै रूपमा रहेको उनले अन्तरवार्तामा बताएका छन् । “आफू जन्मिएका ठाउँ पनि टुकुचे हो, अहिले बस्ने ठाउँ पनि टुकुचा छेउमा हो,” उनले भनेका छन् । यसअर्थमा टुकुचेदेखि टुकुचासम्म लघुकाव्यमा उनको आत्मवृत्तान्त समेटिएको हुनसक्ने देखिन्छ । 

‘कालको हातमा राखेर...’ गीत अधुरै

भूपि प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ भएर गएको समयमा अहिलेका बरिष्ठ सङ्गीतकार दीप श्रेष्ठ जागिरेका रूपमा प्रज्ञामै थिए । त्यो समय उनलाई भूपिले एउटा गीत रेकर्ड गर्न दिएका थिए । “एक दिन दीप सर तपाईंसँग एउटा काम थियो भन्नुभयो, मलाई सर नभन्नुस्, भाइ भन्नुस् भनेँ,” दीप भन्छन्, “तपाईंलाई एउटा रचना दिन्छु, तपाईंको कम्पोज एकदमै मनपर्छ मलाई, यो रचना कम्पोज गरेर गाइदिन मिल्छ ? भन्नुभयो । हजुरको रचना गाउन पाउनु मेरो सौभाग्यको कुरा हो दाइ भनेँ ।”  भूपिले दीपलाई दिएको गीत यस्तो थियो–

कालको हातमा राखेर 

आफ्नो आयुलाई बन्धकी 

जन्मेर यहाँ पाइन्छ 

तर यो कस्तो जिन्दगी.... भन्ने शब्द थिए ।  

त्यति ठूला मान्छेको गीत पाउँदा दीप निकै गौरवान्वित भए । चाँडोभन्दा चाँडो कम्पोज गर्न उनी हरदिन लागिपरे । “एक महिनाजस्तोमा मैले त्यसलाई कम्पोज गरेँ अनि दाइलाई तयार भयो भनेँ,” दीप भन्छन्, “उहाँलाई ५ बजेपछि मात्र फुर्सद हुन्थ्यो, अफिस छुटेपछि मैले सुनाएँ, असाध्यै तारिफ गर्नुभयो ।” त्यतिबेला भूपि आफैँ पनि अलि अलि सङ्गीत गर्थे । 

दीपले त्यो गाना सुनाएको एक दुई हप्तापछि भूपिले आफ्नै घरमा एउटा कार्यक्रम राखे र दीपलाई पनि बोलाए । “गैरीधारा पुलिस अफिस नजिक घर थियो, त्यहाँ गएँ । त्यहाँ नातिकाजी, शिजशङ्कर, गोपाल योञ्जन, अम्बर गुरुङ सबै राम्रा राम्रा सङ्गीतकारहरू देखेँ,” दीप भन्छन्, “त्यस्ता सङ्गीतकारका लाइनमा अलिक सङ्कोच मान्दे बसेँ ।” सबैले हल्का पिउने कार्य गरेपछि भूपिले दीपलाई त्यो गीत सुनाउन अनुरोध गरेका थिए । “हारमुनियम बजाउँदै गीत सुनाएँ,” दीप भन्छन्, “अनि उहाँले यहाँ आउनुभएका सबै  सङ्गीतकारहरूलाई २, ३ वर्षअगाडि गाउन दिएको हो, आजसम्म सङ्गीतै भएन । तपाईंले गर्नुभएको सङ्गीत मलाई असाध्यै मन पर्यो र सुनाउन यो आयोजना गरेको भन्नुभयो फ्याट्टै ।” यो सुनेर दीपलाई निकै अफ्ठ्यारो लागेको बताउँछन् ।  

दीपले सङ्गीत भरेको भूपिको यो पहिलो र अन्तिम गीत नै भयो । भूपि हुँदै त्यो गीत रेकर्ड गराउने योजनामा थिए तर आजसम्म रेकर्ड गर्न हुन नसकेको दीप बताउँछन् । 

भूपिका छोरा समीर श्रेष्ठ अहिले पोखरामा बस्छन् । उनलाई रेकर्ड गर्न सकिरहेको छैन भनेर बेला बेलामा दीपले सुनाउने गर्छन् । तर खर्च व्यवस्थापन, त्यसका श्रोताको कमीका कारण पनि रेकर्ड गराउन सकेका छैनन् । यसपालि चाहिँ रेकर्ड गर्छु, त्यसका लागि अलिकति खर्च पनि लाग्छ भन्छन् उनी । 

भूपिको स्वभाव र पारिवारिक अवस्था

भूपि शेरचन २०३६ सालमा प्रज्ञा प्रतिष्ठानमा मनोनयन भएर गएका थिए । त्यो कार्यकालपछि २०४१ सालमा पुनः पाँच वर्षसम्मका लागि नियुक्ति पाका थिए । तर दास्रो कार्यकालमा उनी निकै नै बिरामी परे ।  

प्रज्ञामा गायक तथा सङ्गीतकार दीप श्रेष्ठ पनि जागिरेका रूपमा नियुक्ति पाएका थिए । उनको भेट भूपिसँग पनि भएको थियो । उनका अनुसार भूपि शेरचन असाध्यै भद्र स्वभावका थिए । त्यति ठूलो ओहदाको मान्छे, त्यति श्रद्धालु भएर बोल्ने मान्छे धेरै कम हुन्छन् भन्छन् उनी । दीपलाई पनि भूपि अत्यन्त मनपर्ने कवि भएकाले घुम्ने मेचमाथिको अन्धो मान्छे धेरै पटक पढे ।

“भूपि दौरा सुरुवाल कोट, टोपी लगाएर अफिस आउनुहुन्थ्यो, एकदमै फुर्तिलो हुनुहुन्थ्यो, लोसेलासे, थाकेको जस्तो कहिल्यै देखिनुहुन्न थियो,” दीप भन्छन्, “उहाँलाई देख्दा एकदमै ऊर्जा आउँथ्यो । उहाँको अनुकरण गरौँ जस्तो पनि लाग्थ्यो ।” 

पारिवारिक अवस्था हेर्दा पनि भूपि शेरचन एकदमै सम्भ्रान्त परिवारका सदस्य थिए । चम्चाले खाना खाने खानदानमा जम्मेका हुन् भन्छिन् कवि उषा शेरचन । “भूपिले देख्दा हामी सानै थियौँ, उहाँहरू युवा हुनुहुन्थ्यो, असाध्यै ह्यानसम, एकदमै बोल्ड गेटअप गर्ने, राम्रो ड्रेसअप गर्ने हुनुहुन्थ्यो,” उनी भन्छिन्, “मुखमा चुरोट च्यापिरहनुहुन्थ्यो, हाम्रो घरछेउको बाटो हुँदै हिँड्नुहुन्थ्यो ।” भूपिकी कान्छी श्रीमती पनि कवि उषाकौ टोलकी थिइन् । भूपि गीतकार चेतनकार्कीहरूसँग मेला भर्न गएको पनि देख्तिन् उनी । 

भूपिको समयमा पोखरामा कला साहित्यको निकै उत्थान भएको थियो । “त्यतिबेला उहाँहरू बिँगो खेल्ने, बियर खाने अनि योङ केटाहरू हल्ला गर्ने गरेको म सानो हुँदा देखेको हो,” उषा भन्छिन्, “त्यो चाहिँ हामीले टाढाबाट हेर्नेबाहेक कुनै सामीप्यता थिएन ।”

भूपि र उनको समूह देखेर डराउँथ्यौँ भन्छिन् कवि उषा । “उहाँहरू सम्भ्रान्त परिवारको, हामी भनेको फुच्चाहरू थियौँ,” उनी भन्छिन्, “मैले २०३४, ३५ सालदेखि सार्वजनिक साहित्य लेखनमा प्रवेश गरेपछि उहाँलाई भेटेको थिएँ ।” त्यतिबेला तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ भएर गएपछि पहिलो पटक उनले भेटेकी थिइन् । त्यसपछि पनि विभिन्न साहित्यिक कार्यक्रममा भेट भयो तर भूपिसँग उनको धेरै सामीप्यता भएन । 

उषा शेरचन नेपाली साहित्यमा निकै चम्किएकी कवि, गीतकार, कथाकार र उपन्यासकार हुन् । भूपि शेरचनसँग सामीप्यता कम भएका कारणले उनको लेखनमा त्यस्तो धेरै प्रभाव परेन । “मेरो लेखनलाई अघि बढाउन त्यस्तो कुनै उल्लेखनीय भूमिका छैन,” उनी भन्छिन्,  “तर अघिल्ला पुस्ताका कविहरूलाई जसरी अरूले हेर्छन्, भूपिलाई म पनि त्यही नजरले हेर्छु ।” 

यस वर्षको भूपि काव्य पुरस्कार पाएकी शेरचन भन्छिन् “कुनै पनि सर्जकले पुरस्कार पाइएला भनेर साहित्यमा लागेको हुँदैन तर साहित्यकारहरूको लस्करहरूमा हिँड्दै गर्दा यस्ता सुखद् क्षणहरू आफसे आफ भेटिँदो रहेछ ।” तर यस्तो खुसीको क्षणहरू आउँदा डर मिश्रित खुसीको अनुभव हुन्छ किनभने यस्तो क्षण आउनु भनेको अझै जिम्मेवारी थपिनु हो, अझ गहन रूपमा लाग भन्नु हो भन्छिन् उनी । वास्तवमा यो ऊर्जा पनि हो र भार पनि हो । त्यसकारण डर मिश्रित खुसी लागेको उनी बताउँछिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप