बागमती प्रदेश : मुख्यमन्त्री बन्ने बानियाँ र लामाको सपनामा यसरी लाग्यो ‘ब्रेक’
बागमती प्रदेशसभामा सबैभन्दा ठुलो दल रहेर पनि नेपाली कांग्रेस अब सत्ता बाहिर रहनुपर्ने भएको छ । ३७ सांसदसहित प्रदेशसभामा प्रतिनिधित्व गरिरहेको कांग्रेसले केन्द्रमा बनेको नयाँ समीकरण अनुसार अब प्रतिपक्षी भूमिका निर्वाह गर्नुपर्ने भएको हो । केन्द्रमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा लगायतका दल मिलेर सरकार गठन गरेसँगै प्रदेशहरूमा पनि सोही अनुसारको समीकरण बन्ने भएको हो ।
प्रदेशसभामा एमाले–माओवादीसहितका दल सम्मिलित नयाँ गठबन्धनको सहजै बहुमत पुग्ने भएपछि कांग्रेसबाट मुख्यमन्त्री पदमा दाबी गर्दै आएका कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुर सिंह लामाको सपनामा ब्रेक लागेको छ । संसदीय दलको नेताको रेसमा रहेका ती दुई नेता मुख्यमन्त्री बन्ने दाउमा थिए ।
प्रदेशसभाको सबैभन्दा ठुलो दल बनेको कांग्रेसको २५ प्रत्यक्ष र १२ समानुपातिकमा गरी ३७ प्रदेशसभा सदस्य छन् । संसदीय दलको नेताको रेसमा रहेका दुवै नेताहरू कांग्रेस संस्थापन पक्षका हुन् ।
संसदीय दलको नेता बन्ने कसरतमा रहेका लामा मुख्यमन्त्री बन्नकै लागि प्रतिनिधिसभाबाट प्रदेशमा झरेका थिए । निर्वाचनको टिकट वितरणको समयमा लामा प्रतिनिधिसभा सदस्य पदका लागि दाबी गरिरहेका थिए । नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्य पदमा दाबी गर्दै आएका उनलाई कांग्रेसको आन्तरिक विवाद समाधान गर्न मुख्यमन्त्रीको अफरसहित प्रदेशसभा सदस्य पदमा प्रतिस्पर्धा गराइएको थियो ।
यता प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलको नेता भइसकेका बानियाँ सोही कार्यकालमा मुख्यमन्त्रीको दाबेदार थिए । मुख्यमन्त्री बन्ने उनको पटक पटकको प्रयास असफल भएको थियो ।
केही समय अघि मात्र कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन सरकारमा उनी मुख्यमन्त्री पदका मुख्य दाबेदार थिए । सो समयमा पहिलो चरणमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई सघाउने र दोस्रो चरणमा कांग्रेसबाट बानियाँ मुख्यमन्त्री बन्ने लिखित सहमति समेत भएको थियो । तर, सहमति कार्यान्वयन नहुँदा उनी मुख्यमन्त्री बन्न सकेनन् ।
बागमती प्रदेशसभामा एमालेले प्रत्यक्षमा १३ र समानुपातिकमा १४ गरी २७ सिट पाएको छ । प्रत्यक्षमा १४ सिट जितेको माओवादी केन्द्रले समानुपातिकतर्फ ७ सिट गरी २१ जना सांसद पाएको छ भने एकीकृत समाजवादीले प्रत्यक्षबाट ५ र समानुपातिकबाट २ गरी ७ जना सांसद पाएको छ । राप्रपाले १३ जना सांसद पाएको छ भने नेमकिपाले ३ जना सांसद पाउँदा हाम्रो नेपाली पार्टीले २ जना सांसद पाएको छ ।
सरकार गठनका लागि ११० सदस्यीय बागमती प्रदेशसभामा एमालेसहितको गठबन्धनको सहजै बहुमत पुग्ने देखिन्छ । बागमती प्रदेशमा एमाले, माओवादी केन्द्र र राप्रपा मात्र मिलेर सरकार गठन गर्न सक्ने अवस्था छ ।
बागमती प्रदेशसभा सचिवालय हेटौँडाका अनुसार पुस १४ गते प्रदेशसभाका सदस्यहरूको शपथ हुने छ । पुस १३ गते प्रदेशसभाको ज्येष्ठ सदस्यको शपथ ग्रहणको कार्यक्रम छ । ज्येष्ठ सदस्यको रूपमा नुवाकोटबाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुङ्गानाले १३ गते दिउँसो २ बजे प्रदेश प्रमुखबाट शपथ लिनेछन् ।