चिलिमे—त्रिशूली २२० केभी प्रसारण लाइन चैतभित्र सञ्चालनमा ल्याइने
त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनहरुको समग्र निर्माण ७० प्रतिशत सकिएको छ । प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण आगामी चैतभित्र सक्ने गरी काम धमाधम भइरहेको छ ।
आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०/१३२/३३ केभीको क्रमशः चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणाधीन छन् । साथै, रसुवाको चिलिमे –त्रिसूली थ्री बी हब २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ ।
दुवै सबस्टेसनहरु सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआइएसलगायतका महत्त्वपूर्ण उपकरणहरू आयोजना स्थलमा ल्याइसकिएको छ । यता प्रसारण लाइनका टावर, कन्डक्टरलगायतका सम्पूर्ण उपकरणहरू निर्माण स्थलमा आपूर्ति भइसकेको छ ।
कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७९ वटा टावरहरूमध्ये ४३ वटाको जग हालिएको छ । १४ वटा टावरहरूको जग हाल्ने काम भइरहेको छ । २५ वटा टावर खडा गरिएको छ । खडा गरिएका टावरमा तार तान्न छिट्टै सुरु हुने छ । चिलिमे –त्रिशूली थ्री बी हब प्रसारण लाइन अन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट निर्माण गर्ने छ ।
२७ वटा मल्टी सर्किट टावरमध्ये १० वटाको जग हालिएको छ । दुई वटा खडा गरिएको र ७ ठाउँमा जग हाल्ने काम भइरहेको छ । प्रसारण लाइन अन्तर्गत रसुवाको तिरु डाँडामा रहने एउटा टावरबाट खड्गू डाँडासम्म रहने अर्को टावरसम्म मैलुङ खोला माथि एक हजार दुई सय ३४ मिटर लामो दूरीमा लाइन तान्नु पर्ने छ ।
कोरियन कम्पनीहरुको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको विद्युत् जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली–१ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ ।
भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९लगायतका कारण आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ । उत्तरगया गाउँपालिकाको तिरुमा पर्ने टावरहरू निर्माणका लागि आयोजनाले त्रिशूली नदीबाट उक्त स्थानसम्म करिब १५ किलोमिटर पहुँच सडक बनाएको छ । यसबाट त्यस भेगका बासिन्दाको आवतजावत पनि सहज भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक प्रदीप कुमार थिके सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार निर्माणाधीन सबस्टेसन तथा प्रसारण लाइनको स्थलगत अनुगमन गरी आगामी चैतभित्रको समयसीमाभित्रै काम सम्पन्न निर्देशन निर्देशन दिएको छ ।
आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न, कामदार थपेर कामलाई तीव्रता दिन निर्देशन दिँदै टोलीले प्रसारण लाइन अत्यन्तै संवेदनशील र उच्च प्राथमिकतामा रहेकाले पटक–पटक जनाएको प्रतिबद्धता अनुसार निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आग्रह गरेको छ । आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजले अहिले आयोजनाको निर्माणमा तीव्रता दिइएको उल्लेख गर्दै चैतभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
जनताको जलविद्युत कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको विद्युत् चिलिमे हबमा जोडिने छ । आयोजनाहरू चैत्रभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
उक्त अवधिसम्ममा सबस्टेसन तथा प्रसारण लाइन निर्माण हुन नसकेमा आयोजनाहरूको विद्युत् खेर जाने अवस्था आउने छ । प्राधिकरणको टोलीले प्रसारण लाइन अभावमा आयोजनाहरूको विद्युत् खेर जाने अवस्था आउन नदिन गम्भीर भएर काम गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गरेको हो ।
प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङगाओसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४को पुसमा कार्यान्वयनमा आएको थियो । आयोजनाको परामर्शदाता भारतको पावर ग्रिड हो ।
अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी र जर्मन विकास बैक, युरोपेली लगानी बैकको सहुलियतपूर्ण ऋण रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ वटा क्याम्पस प्रमुखका लागि ४९ जनाको सर्टलिष्ट
-
भरत जंगमलाई ५ दिन हिरासतमा राख्न म्याद, कोषाध्यक्ष पनि पक्राउ
-
दुई दलीय संयन्त्रले गरेको बजेट पुनरावलोकनको निर्णय कोशीमा कार्यान्वयन नहुने
-
लागुपदार्थ दुर्व्यसनी न्यूनीकरण गर्न कर्णालीमा पुनर्स्थापना केन्द्र सञ्चालन गरिने
-
गुगल म्याप हेरेरै प्रहरीले सुल्झाए हत्याको घटना
-
यु–१९ एसिया कप खेलेर नेपाली टोली स्वदेश फर्कियो, तस्बिरहरू