ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कृति खै ?
जीवनको अनेकन कालखण्ड हुन्छ । आरोह र अवरोह हुन्छन्, त्यसमा जीवनको प्रातःकाल, मध्यकाल र सन्ध्याकाल भनेर समयलाई विभाजन गरिन्छ । प्रौढावस्थालाई सन्ध्याकालको रूपमा लिने गरिन्छ । यो समय अनुभव र ज्ञानले भरिएको समय हो । वृद्धवयलाई जिउँदो इतिहास र पुस्तकालय समान ज्ञानको स्रोतको रूपमा मान्ने चलन छ । साधारणतया ६५ वर्ष भन्दा माथिको जनसंख्यालाई ज्येष्ठ नागरिक भन्ने आम प्रचलन छ ।
तर नेपालमा ६० वर्षभन्दा माथिको उमेरलाई ज्येष्ठ नागरिकको दर्जामा संविधान र ज्येष्ठ नागरिक ऐनमा व्यवस्था गरिएको छ । औसत आयु ६० वर्ष भन्दा कम रहेको अवस्थामा ६५ वर्ष माथिको जनसंख्या कम हुने भएकोले पनि ६० वर्ष भन्दा माथिको जनसंख्यालाई ज्येष्ठ नागरिक भनिएको हुन सक्छ । तर, हाल औसत आयुको वृद्धिसँगै ज्येष्ठ नागरिकको जनसंख्या बढ्दो गतिमा छ ।
त्यसैले, ज्येष्ठ नागरिकको तह ६५ वर्ष माथिकालाई भन्नु सान्दर्भिक देखिन्छ । निश्चित उमेर निर्धारण गरिसकेपछि सो उमेरले पाउने सेवा सुविधा र अधिकारमा भने संकुचन गर्न पाइन्न । ज्येष्ठ नागरिक राज्यका सम्पदा र अनुभवका खानी हुन् । उनीहरुको सम्मान, स्वास्थ्य, पारिवारिक स्थिति आदिमा परिवार, समाज र देशकै गहन दायित्व रहेको हुन्छ । अनुभव लामो जिन्दगी जिउने क्रममा प्राप्त हुने खारिएको र माझिएको ज्ञान हो । अनुभवरूपी ज्ञानको विश्वसनीयता प्रयोगशालामा परीक्षित ज्ञान जत्तिकै 'भ्यालिड' मानिन्छ ।
अतः ज्ञानको भण्डारसँग रहेको ज्ञान संग्रह नयाँ पुस्ताले प्राप्त गर्न उहाँहरूको उचित देखभाल गर्नु जरूरी हुन्छ । उसै पनि वृद्धवय सम्मान र सेवाको आधिकारिक उमेर हो । ज्येष्ठ नागरिकले आफ्नो परिवार समाज र देशको लागि पुर्याएको निरन्तर योगदानको कदर परिवार, समाज र देशले आफ्नो कर्तव्य निर्वाह गरेर पूरा गर्नुपर्छ ।
हाम्रा ज्ञान आर्जनका विषय भएका हुनाले नै ज्येष्ठजन इङ्कित भनाइ बनेको होः ‘आगो ताप्नु मुढाको, कुरो सुन्नु बुढाको ।’ परिपक्व नागरिकद्वारा आर्जित ज्ञान, सीप र अनुभव देश बनाउने, देश सोच्ने र देशलाई माया गर्ने अस्त्र हुन सक्छन् ।
हाम्रो समाज ठुलालाई सम्मान र सानालाई माया गर्ने पूर्वीय दर्शन धर्म संस्कृति निर्देशित समाज हो, जुन दर्शनले वृद्ध वृद्धालाई अत्यन्त सम्मान र सहयोग गर्न प्रेरित गर्दछ । ज्येष्ठ नागरिकप्रति कर्तव्य भएको सम्झाउँछ ।
२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको नेकपा एमालेको सरकारले ज्येष्ठ नागरिकको सम्मानका खातिर सामाजिक सुरक्षा भत्ता रू १०० मासिक वितरण गरेर ज्येष्ठजनप्रति सरकारले पहिलोपटक आर्थिक सहुलियत प्रदान गर्ने चलन बसायो । जुन कार्यकर्म बहुदलीय व्यवस्था स्थापना पछिको सबैभन्दा लोकप्रिय कार्यक्रम बनेको छ । सो कार्यक्रमको रकम आज बढोत्तरी भएर रू चार हजार पुगेको छ ।
बृद्धभत्ताबारे केही अर्थशास्त्रीका विमति छन् र अनुत्पादक क्षेत्रमा रकम पुगेको सबै वृद्धवृद्धालाई आवश्यक नरहेको कारण यसको वितरणको मापदण्ड बनाएर ज जसलाई आवश्यक छ, उसलाई मात्र दिनुपर्ने जिकिर पनि छ । अझ सबैलाई यसरी मासिक रकम उपलब्ध गराउनुको साटो गाँस, बास, कपास, सेवा, सुरक्षा र औषधोपचार राज्यले गरिदिने माग बारेमा पनि अर्थशास्त्रीहरू छलफल र बहसमा छन् ।
ज्येष्ठ नागरिकसम्बन्धी कानुन
मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा २५ ले वृद्ध अवस्थाको सामाजिक अधिकार र आर्थिक अधिकारको प्रवन्ध गरेको छ । अन्तरराष्ट्रिय मन्चहरूमा विश्वका सबै देशले ज्येष्ठ नागरिकप्रति राज्यले वहन गर्नुपर्ने दायित्व बारेमा प्रतिवद्धता जाहेर गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घले ज्येष्ठ नागरिकसम्बन्धि सिद्धान्त, १९९१ समेत जारी गरेको परिप्रेक्षमा हाम्रो देशको संविधान २०७२ ले पनि मौलिक हकको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनेर उल्लेख गरेको छ ।
महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलनसम्बन्धि महासन्धि १९७९ मा ज्येष्ठ महिलाको अधिकारसम्बन्धि पनि छुट्टै व्यवस्था छन् । जुन २५ लाई ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको विश्व चेतना दिवसको रूपमा मनाइन्छ ।
ज्येष्ठ नागरिकको अधिकार र कल्याणको लागि कानुनी रूपमा थुप्रै व्यवस्था गरिएका छन् । ज्येष्ठ नागरिकसम्बन्धि ऐन, २०६३ मा ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्ने, तिनलाई परिवारले पालनपोषण गर्नुपर्ने, पालनपोषण नगरे ज्येष्ठ नागरिकले उजुरी गर्न सक्ने र पालनपोषण नगर्ने सन्ततिलाई कारबाही हुने, आफ्नो सम्पत्ति आफू खुसी गर्न पाउने, ज्येष्ठ नागरिकलाई भिक्षा माग्न लगाउन नपाइने, सार्वजनिक सेवामा ज्येष्ठ नागरिकलाई छुटलगायत प्रावधान राखिएको छ ।
ज्येष्ठ नागरिकका गुनासा र अप्ठ्यारा
संविधानले ६० वर्षदेखि वृद्ध मानेको छ भने वृद्धावस्थाको सामाजिक सुरक्षा भत्ता र अन्य सुविधा ७० वर्षको उमेरमा दिने प्रावधान छ । ज्येष्ठ नागरिकलाई हेपेर व्यवहार गर्ने सरकारी अड्डा अदालत पनि छन् । तिनले पाउने प्राथमिकता ओठे भक्ति र नारामा सीमित गरिएको छ ।
सामाजिक सरोकार, सेवा र सुविधामा यथेष्ट पहुँच नपाएको गुनासो ज्येष्ठ नागरिकले गरेका छन् । सार्वजनिक यातायातलगायत अन्य क्षेत्रमा संरक्षित कोटा भन्दा बढी सेवा र सुविधा नपाएकोदेखि ज्येष्ठ नागरिकको सिट भरिदा युवाले आदरपूर्वक आफ्नो ठाउँ नछोडेर झुण्डिएर यात्रा गर्नु परेको अवस्था छ । आरक्षणले संस्कार र सेवालाई अझ खुम्च्याएको त होइन भन्ने ज्येष्ठजनको गुनासो छ ।
बाल, वृद्ध, रोगी र असहज स्थितिमा रहेकालाई स्वतः सहयोग समर्पण र सेवा हाम्रो संस्कार भए पनि आरक्षण र कोटाले त्यो मर्ममा आघात पारेको छ । र, राज्यले कोटा मात्रै होइन, सबै अशक्त, रोगी, वृद्ध, पछि पारिएकालाई सबैले सहयोग र संरक्षण गर्ने दायित्व बुझाउन नसकेको भन्ने प्रश्न खडा भएको छ । सीमित सिट तोकेर बाँकी रहेका र उस्तै मर्म परेकालाई छोड्ने अवस्था पनि सिर्जना भएको छ, जुन ज्यादै दुःखको कुरा हो ।
विश्वमा ज्येष्ठ नागरिकको अवस्था सन्तोषप्रद छैन । झन् नेपालका गाउँ कुनामा घर रुघ्ने र सहाराविहीन भएर बस्ने ज्येष्ठ नागरिकको संख्या दिनप्रतिदिन थपिँदो छ । दोहोरो सुविधा लिन नपाइने नियमको कारण राज्यको सम्मानबाट ज्येष्ठ नागरिक वञ्चित भएको समेत देखिन्छ ।
यसै सन्दर्भमा ज्येष्ठ नागरिक कोषका अध्यक्ष वसन्तराज कार्की सामू शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको प्रतिवाद र विरोध यहाँ उल्लेख गर्नु सान्दर्भिक देखिन्छ । ज्येष्ठ नागरिकको सेवा, सुविधा र सम्मानमा पक्षपात भएको जोशीको गुनासो कार्कीले सुनाए, ‘आफूले आफ्नो जवानीको ऊर्जामय समय राज्यको सेवामा समर्पित भएर, खर्चेर प्राप्त गरेको पेन्सन आफ्नो अधिकार हो भने राज्यले दिएको सामाजिक सुरक्षा भत्ता सम्मान र मर्यादाको लागि हो । तर पेन्सन प्राप्त गर्नेले दोहोरो सुविधाको कारण देखाएर वृद्धभत्ता नदिनु अन्याय र विभेद हो ।’
राज्यले यी दुवै दिनुपर्ने जोशीको माग नाजायज होइन, तर्कपूर्ण देखिन्छ । राज्यले निश्चित उमेर हद पुगेर गर्ने सम्मानमा विभेद गर्न पाइन्छ ? पेन्सन आफ्नो जीवनको कर्मले आर्जित रकम हो तर सम्मान राज्यले दिने उमेरप्रदत्त अधिकार हो । यसरी राज्यले दिने सम्मानमा डबल स्ट्यान्डर्ड ठिक होइन, राज्यले बेलैमा सोचोस् ।
परिवार र समाजको दायित्व
एकदिन सबैको समय यस्तै आउँछ, सबैले बुढो हुनुपर्छ, बुढ्यौली सबैको बाध्यता र प्रकृतिको नियम हो भन्ने कुरा दिलदेखि नै मनन गरेर ज्येष्ठ नागरिकको सम्मान मर्यादा र उचित रेखदेख गर्ने बानी विकास गरौ । वर्तमानमा आफूले आफ्ना बा आमालगायत वृद्धवयका मान्छेको सम्मान सत्कार र सेवा सुरक्षा गर्ने संस्कृति बसाए मात्र आउँदो पुस्ताले ज्येष्ठ नागरिकको सम्मान गर्ने संस्कृति सिक्दछन् ।
ज्येष्ठ नागरिक समाजका अमूल्य निधि, पथप्रदर्शक, पथ निर्माता र जिउँदो इतिहास अनि ज्ञानका भण्डार हुन् । समाज निर्माणमा यिनीहरूको योगदान र भूमिका उल्लेख्य रहेको हुन्छ । त्यसैले, ज्येष्ठ नागरिकको सम्मान र सेवा गर्न नचुकौ, नभुलौ । ज्येष्ठ नागरिकप्रति हुने भेदभावप्रति सबैले विरोध र खेद व्यक्त गरौ । परिवारका सदस्य, समाज र देशकै कर्तव्य हो, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षा गर्नु ।
उमेर बूढो हुँदै जाँदा विभिन्न शारीरिक र मानसिक परिवर्तन हुँदै जान्छ । शरीरका अङ्गहरू कमजोर र निर्वल हुँदै जाँदा आफू केही गर्न सक्दिन, मलाई आफ्ना परिवारले हेरचाह गर्लान्, नगर्लान् भन्ने जस्ता हीनताबोध र चिन्ता सुरू हुन थाल्छ । यस्तो चिन्तनले मानसिक समस्यामा बदलिन पुग्छ । यस्तो अवस्थामा पुग्नुअगावै ज्येष्ठ नागरिकमा परिवार हुनेलाई परिवारको र परिवार नहुनेलाई समाज र राज्यको भरपुर आडभरोसाको खाँचो हुने मनोस्वास्थ्यविद्हरूको भनाई छ ।
वृद्ध उमेर संवेदनशील उमेर हो । त्यसैले, सामान्य कुराले पनि ज्येष्ठ नागरिकको मन दुख्न सक्छ । यस्तो बेला आफ्ना बा आमा र ज्येष्ठजनप्रति उनका सन्तानले कस्तो व्यवहार गर्ने, सो को जानकारी पनि सन्ततिलाई दिने परामर्श आवश्यक हुन्छ । पूर्व सचिव कृष्णहरि बास्कोटाका अनुसार ज्येष्ठजनको लागि सुविधा सम्पन्न दिवासेवा केन्द्रको अवधारणा पस्कनु आवश्यक छ ।
सुविधासम्पन्न दिवा सेवा केन्द्र
आम ज्येष्ठ नागरिकका लागि प्रत्येक स्थानीय तहमा उनीहरुको भेटघाट, अनुभवको आदानप्रदान, मनोरन्जनलगायत गतिविधि गर्नको लागि अत्याधुनिक दिवा सेवा केन्द्र स्थापना गर्नुपर्छ । मनोरन्जन एवं शारीरिक योग तथा व्यायामको लागि पार्क, प्रातकालीन भ्रमणको क्षेत्र, आरोग्य सेन्टर, ज्येष्ठ नागरिक मिलन चौतारी, आआफ्नो धार्मिक आस्थाअनुसार भजन, कीर्तन केन्द्र, ध्यान, योग, स्थल, उपासना र प्रार्थना केन्द्र जस्ता समय व्यतित गर्ने, लेख्ने पढ्ने पुस्तकालय जस्ता व्यवस्था राज्यले गरिदिएर सहज जीवन व्यतित गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।
ज्येष्ठ नागरिकजनका ज्ञान र अनुभवमा आधारित पुस्तक विषय विज्ञले मूल्याङ्कन विश्लेषण गरेर सरकारी निकायबाट प्रकाशन गरिदिनुपर्छ । ज्येष्ठजनले स्कुल र कलेज पढ्ने इच्छा जाहेर गरेमा कक्षा लिने व्यवस्थाका साथै दर्शनाचार्य, विद्यावारिधि गर्ने इच्छा गरेमा शोध वृत्तिको व्यवस्था पनि गरिदिनुपर्छ । सञ्चार माध्यमहरूले ज्येष्ठजनको प्रेरणादायी कर्म र योगदानलाई लिपिबद्ध गरेर, भिडियो बनाएर प्रकाशन प्रसारण गरेर हौसला बढाउने कर्ममा योगदान पुर्याउनुपर्छ ।
ज्येष्ठजनको सम्मान मर्यादा र सेवा सुरक्षा आम मान्छेको मूल धर्म नैतिक दायित्व र आचरण रहेकाले समाज निर्माण गरेर सभ्य र सुसंस्कृत नागरिक तयार गर्ने अभियानमा राज्यको साझेदारी निगरानी विशेष रूपमा हुनुपर्छ । ज्येष्ठजन हाम्रा वैभव र ज्ञानका स्रोत र अभिभावक हुन्, यिनको उचित सम्मान सेवा र सुविधा प्रत्येक सन्ततिको दायित्व रहेको नैतिक संस्कारको विकास गरिनुपर्छ ।
प्रौढावास्था प्राकृतिक देन हो, यो जोकोहीको हकमा आउँछ । यसलाई रोक्न र छेक्न सकिन्न । विज्ञान, प्रकृति कसैले पनि यसको खिलाफमा जान सक्दैन । प्रकृतिको यो अनिवार्य सर्त हो । त्यसैले ज्येष्ठ नागरिकलाई श्रद्धाभावले हेरौ, सहयोग गरौ, हेला होचो नगरौ । ज्येष्ठजन हाम्रा अमूल्य निधि हुन् । समाजका मूल्य, मान्यता, संस्कार र संस्कृतिका संवाहक र संरक्षक हुन् ।
आफ्नो सम्पूर्ण जीवन परिवार, समाज र राष्ट्रलाई समर्पित गरिसकेपछि जीवनको उत्तरार्धमा सम्मानपूर्वक र आरामपूर्वक बाँच्न पाउने ज्येष्ठ नागरिकको अधिकार हो ।
नेपालमा पनि ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको छ । २०७८ पुस ११ बाट सुरू भएको यो दिवस मनाउने क्रमको दोस्रो वर्ष आज पुगेको छ । यस अवसरमा सम्पूर्ण ज्येष्ठजनको सुस्वास्थ्य र दीर्घायुको कामना ।
लेखक कार्की त्रिवि, कीर्तिपुरमा एमफिल–पीएचडी अनुसन्धाता हुन् ।