आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भवतीको हेलिकप्टरबाट उद्धार

आइतबार, १० पुस २०७९, २२ : ३५
आइतबार, १० पुस २०७९

चौबीस घण्टाभन्दा बढी समयदेखि सुत्केरी बेथाले थलिएकी म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाकी एक गर्भवतीलाई आइतबार हेलिकप्टरबाट उद्धार गरिएको छ । 

गुर्जाकी अन्दाजी ३० वर्षीया अनुवा छन्त्याललाई गण्डकी प्रदेश सरकार र धौलागिरि गाउँपालिकाको समन्वयमा एयर डाइनेष्टिको हेलिप्कटरबाट उद्धार गरेर पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको हो । 

गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले शनिबार बिहान ७ बजेदेखि सुत्केरी बेथा लागे पनि आइतबार अपरान्हसम्म बच्चा नजन्मिएपछि हेलिकप्टरबाट उद्धार गरेर पोखरा लगिएको बताए । आइतबार साँझ ६ः ३० सम्म बच्चा जन्मिएको छैन । शल्यक्रियामार्फत सुत्केरी गराउने प्रयास भइरहेको अस्पतालले जनाएको छ । 

लामो समयसम्म बेथा लागेको (प्रोलङ्ग लेभर) देखिएपछि गुर्जा स्वास्थ्य चौकीका अनमी रोशनी सुनार र चोलमाया छन्त्यालले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजाल, वडाध्यक्ष छन्त्याल, स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साल, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सम्झना खाती क्षेत्रीमार्फत हेलिकप्टरबाट पोखरा लैजान समन्वय गरेका थिए । 

म्याग्दीका ४५ वटा वडामध्ये गुर्जामा मात्र सडक यातायातको सुविधा पुगेको छैन । छिमेकी गाउँ लुलाङबाट गुर्जा पुग्न पूरै दिन जङ्गल, भिर र खोल्साको बाटो पैदलयात्रा गर्नुपर्छ । गण्डकी प्रदेश सरकारले जटिल अवस्थाका गर्भवती र सुत्केरीको उद्धारका लागि निःशुल्क ‘एयर लिफ्ट’ कार्यक्रम सञ्चालन गरेको छ । दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशुको ज्यान बचाउन एयर लिफ्ट कार्यक्रम प्रभावकारी बनेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप