आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बागमतीमा फेरियो सत्ता समीकरण, को बन्ला मुख्यमन्त्री ?

आइतबार, १० पुस २०७९, २३ : ४९
आइतबार, १० पुस २०७९

मकवानपुर । सरकार गठनका लागि केन्द्रीय तहमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशहरुमा पनि त्यसको असर देखिएको छ । केन्द्रीय सरकार गठनका लागि भागबण्डा नमिल्दा कांग्रेस नेतृत्वको सत्ता गठबन्धन फुटेको छ ।

सत्ता गठबन्धनबाट बाहिरिएको माओवादी केन्द्र एमालेसँग मिल्न पुगेसँगै केन्द्रमा मात्र नभएर सात वटै प्रदेशमा समीकरण फेरिएको हो । केन्द्रमा माओवादी केन्द्र र एमाले मिल्दा कांग्रेस एक्लिएको छ । केन्द्रमा सरकार गठनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने गरी एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीले समर्थन दिएका छन् ।

सरकार गठनमा नयाँ समीकरण बनेपछि बागमती प्रदेशमा पनि कांग्रेस सत्ताको दाबीबाट ‘रिङ आउट’ भएको छ । प्रदेशमा सबैभन्दा ठुलो दल बनेको कांग्रेस अन्ततः प्रमुख प्रतिपक्षको भूमिकामा देखिने लगभग पक्काजस्तै भएको छ ।

११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि एमालेसहितको गठबन्धनको सहजै बहुमत पुग्ने देखिन्छ । बागमती प्रदेशमा एमाले, माओवादी केन्द्र र राप्रपामात्र मिलेर सरकार गठन गर्न सक्ने अवस्था छ ।

बागमतीमा सामान्य बहुमतसहित सरकार गठनका लागि कम्तीमा ५६ सांसद आवश्यक हुन्छ । बागमतीमा एमालेको २७ जना सांसद छन् भने माओवादी केन्द्रको २१ जना, राप्रपाको १३ सांसद छन् । सरकार गठनका लागि यी तीन दलको ६१ जना सांसद पुग्छन् ।

को बन्ला मुख्यमन्त्री ?

सत्ता समीकरण फेरिएसँगै बागमती प्रदेशमा सरकार गठनको चर्चा नयाँ कोणबाट सुरु भएको छ । केन्द्रीय सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने अवस्था बन्दा प्रदेश सरकारमा भने एमाले र माओवादी केन्द्र दुवैको बलियो दाबी देखिन्छ ।

बागमती प्रदेश सरकार गठनका लागि माओवादीले दाबी बलियो तुल्याएको छ । विगतमा पनि वाम गठबन्धनमा रहेर प्रदेश सरकारको नेतृत्वमा एमालेलाई सहयोग गरेकाले यस पटक बागमती प्रदेशमा आफूहरुले सरकार बनाउन पाउनु पर्ने माओवादी केन्द्रको माग छ ।

माओवादी केन्द्रबाट संसदीय दलको नेताका लागि यसअघि २०७४ मा दलको नेता भइसेकाका शालिकराम जम्कट्टेल, माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, युवराज दुलाल ‘शरद’ र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेर जितेका नेपाल समाजवादी पार्टीका नेता गंगा नारायण श्रेष्ठ बीच कडा प्रतिस्पर्धा देखिन्छ । चार जना नेता आ–आफ्नो दाबी सहित दलको नेता चुनिन तीव्र लविङमा छन् । उनीहरु एकले अर्कोलाई सजिलै छाड्ने स्थिति नभएपछि चुनाव गरेरै दलको नेता चयन गर्ने मनस्थितिमा छन् ।

यता एमालेबाट भने पार्टीका केन्द्रीय सदस्य जगन्नाथ थपलिया दलको एक्ला दावेदारको रुपमा देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका थपलिया पनि प्रदेश सरकारको मुख्यमन्त्रीमा दावेदारको रुपमा छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप