आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बालकोटमा बहुमतको होमवर्क : १६२ सिटको समीकरण जुटाउने प्रयास

आइतबार, १० पुस २०७९, १५ : २९
आइतबार, १० पुस २०७९

कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धन टुटेसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा वैकल्पिक गठबन्धन निर्माणको प्रयास भएको छ ।  वैकल्पिक गठबन्धन निर्माणका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा विभिन्न दलका शीर्ष नेता सम्मिलित बैठक बसिरहेको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन सहभागी छन् भने जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई ओलीसँग छलफल गरेर फर्किसकेका छन् । नयाँ सरकार गठनका लागि पार्टीभित्र संस्थागत निर्णय गर्ने भन्दै उनी बालकोटबाट बाहिरिएका हुन् । 

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेपनि प्रवक्ता मुकुल ढकाललाई लिएर बालकोट पुगेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि केहीबेरअघि बालकोट पुगेर फर्किसकेका छन् । लिङ्देनले ओलीसँग भएको छलफलबारे पार्टीमा ब्रिफिङ गरिसकेका छन् । 

यसैबीच केहीबेर अघि जनमत पार्टीका अध्यक्ष सीके राउत पनि बालकोट पुगेका छन् । बालकोटमा अहिले एमालेसहित माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबीच छलफल भइरहेको छ ।  नेताहरूका अनुसार एमाले–माओवादीसहितका नेताहरु बहुमत जुटाउन लागिपरेका छन् । बालकोटमा हाल पुगेका पार्टीका सांसद संख्या जोड्ने हो भने १६२ सांसद पुग्ने देखिन्छ । 

जसमा एमालेको ७८, माओवादीको ३२, राप्रपाको १४, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, जसपाको १२ र जनमत पार्टीको ६ सिट रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप