बालुवाटारमा देउवाले जब ‘साथीहरू मानेनन्’ भने, त्यसपछि टुट्यो सत्ता गठबन्धन
प्रधानमन्त्री र राष्ट्रपति दुवै पद आफै राख्ने नेपाली कांग्रेसको अडानका कारण सत्ता गठबन्धन टुटेको छ । नयाँ निर्वाचनपछि प्रधानमन्त्रीमा आलोपालो नेतृत्व गर्ने कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सहमति भएपनि पहिला को प्रधानमन्त्री बन्ने भन्नेमा कांग्रेस र माओवादी केन्द्रबीच सहमति नबन्दा झण्डै २ वर्षअघि बनेको गठबन्धन टुटेको हो ।
आइतबार निर्णायक छलफल भन्दै बालुवाटारमा भएको तीन दलका नेताबीचको छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुरलाई पूर्व सहमतिअनुसार प्रधानमन्त्री छोड्न पुनः आग्रह गरेका थिए । ‘पहिला गरेको सहमतिअनुसार तपाईंले पहिलो प्रधानमन्त्री छोड्नुस्’, बैठकमा प्रचण्डले देउवालाई भनेका थिए । तर जवाफमा देउवाले प्रधानमन्त्री छोड्न साथीहरुले नमानेको भन्दै ‘साथीहरु असहमत भए’, भन्ने जवाफ दिएका थिए । त्यसपछि अव बस्नुको औचित्य छैन भन्दै प्रचण्ड बालुवाटारबाट निस्केका थिए ।
बालुवाटार बैठक भाँडिएपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धन टुटेको प्रतिक्रिया दिए । गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अब गठबन्धनको औचित्य सकियो’ भन्दै बैठक स्थल छाडेको पौडेलले रातोपाटीलाई बताए ।
‘हामीले गठबन्धन जोगाउन सकेनौँ । अब हाम्रो हातमा केही रहेन,’ पौडेलको भनाइ छ । त्यस्तै नेकपा एकीकृत समाजवादी सम्मानित झलनाथ खनालले पनि सत्ता गठबन्धन टुटेको बताए । ‘सत्ता गठबन्धनको यात्रा अवरुद्ध भयो’, खनालले रातोपाटीसँग भने, ‘दुवैले अडान नछोड्दा यो अवस्था आयो ।’ उनले एमालेसँग मिलेर सरकार बनाउने सम्भावना रहेपनि एमालेले गर्ने व्यवहारका आधारमा भर पर्ने बताए । बालुवाटार बैठक भाडिएपछि आइतबार अपराह्नबाट एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटामा नेताहरुको आउजाउ बढेको छ ।
राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीका लागि दिएको ७ दिने समयसीमामा सकिन केही घण्टाअघिसम्म सत्ता गठबन्धनका नेताहरुबीच सहमतिको प्रयास भएको थियो । त्यसक्रममा माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति दुवैले आफु पहिला प्रधानमन्त्री हुनुपर्ने अडान छोड्न सकेनन् यही अडानका कारण सहमतिमा गठबन्धनले प्रधानमन्त्रीको दावी पेश गर्न नसक्ने अवस्था बनेपछि कांग्रेस र माओवादी गठबन्धन टुटाएर अलगअलग बाटो हिँड्न बाध्य भएका हुन् । २०७७ पुस मा केपी शर्मा ओलीले संसद विघटन गरेपछि यी दल संघर्षको सहकार्य गर्दै पछि सत्तारुढ बन्न पुगेका थिए । २०७८ जेठ ७ मा भएको दोस्रो विघटनपछि कांग्रेस, माओवादी केन्द्र र तत्कालिन नेकपा एमालेको माधव कुमार नेपाल समूह, जसपा र राष्ट्रिय जनमोर्चा मिलेर गठबन्धन बनाएका थिए । त्यसबेला उनीहरुले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटको फैसला गर्दै सर्वोच्चले २८ असारमा संसद पुर्नस्थापना गरेको थियो । अदालतको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
देउवा नेतृत्वको सरकार बनेसँगै मुलुकमा २०७९ वैशाखमा स्थानीय तहको निर्वाचन र २०७९ मंसिरमै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको (आम चुनाव) निर्वाचन भएको थियो । निर्वाचन परिणामपछि दलहरु मिलेरै अघि बढ्ने सैद्धान्तिक सहमति गरेपनि व्यवहार त उनीहरू निर्वाचनपछि बन्ने सरकार कसको नेतृत्वमा हुने भन्नेमा अडान कांग्रेस र माओवादी दुवैले नछोड्दा अन्ततः सत्ता गठबन्धन २०७९ पुस १० मा औपचारिक रुपमा टुट्न पुगेको हो । सत्ता गठबन्धन टुटेसँगै संविधानको धारा ७६ को उपधारा ३ अनुसार राष्ट्रपतिले ठूलो दलको हैसियतमा कांग्रेस सभापति समेत रहेका देउवालाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । यसरी नियुक्त हुने प्रधानमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत नलिए संविधानको अर्को धारा अनुसार पुन सरकार निर्माणको प्रक्रिया सुरु हुन्छ ।
गठबन्धन टुट्नुअघि के-के भयो ?
संविधानको धारा ७६ को उपधारा २ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिने समयसीमा सकिन केही घण्टामात्रै बाँकी हुँदा दलका नेताहरुले एक अर्कालाई फकाउने प्रयास जारी राखे । शनिबारसम्म एकले अर्कोलाई (खासगरी एमालेलाई ) देखाएर सहमतिमा खासै पहल नगरेका उनीहरू आइतबार बिहानैबाट दौडधूप बढाएका थिए ।
शबिारको बालुवाटार बैठकमा प्रधानमन्त्रीको अडानबाट कुनैपक्ष पनि टसमस नभएपछि नेपाली कांग्रेसले आइतबार बिहानै बालुवाटारमा शीर्ष नेताको बैठक डाक्यो । बालुवाटारमा कांग्रेस नेताबीच छलफल चलिरहेका बेला नेता विमलेन्द्र निधि कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछोड्ने तर माओवादीलाई गठबन्धन नछोड्न भन्दै आफ्नो बटमलाइन बोकेर खुमलटार पुगे । तर निधिको प्रस्तावमा अध्यक्ष प्रचण्डले ठाडै अस्वीकार मात्रै गरेनन्, अव गठबन्धनमा बस्नुको औचित्य समेत नरहने जवाफ दिए । सोही जवाफ बोकेर निधी पुन बालुवाटार फर्के । यता आइतबार बिहानै माओवादी पदाधिकारी बैठक बसेर कांग्रेसको प्रस्ताव मान्न नसकिने बरु प्रतिपक्षमा माओवादी बस्ने निर्णय नै गर्न पुग्यो । त्यसलगत्तै अन्तिम छलफलका लागि भन्दै अध्यक्ष प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल र अर्का नेता बालुवाटार पुगे । त्यस क्रममा समेत नेताहरुबीच एक अर्कालाई मनाउन गरिएको प्रयास असफल भएसँगै गठबन्धन औपचारिक रुपमा भंग हुनपुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बयान सकियो
-
लेखा समिति सभापति नपाए संसद् बहिष्कार गर्ने मोदीको चेतावनी
-
खुर्कोटबाट प्रहरीको घेरा तोडेर भागेका नाइजेरियन नागरिक पक्राउ
-
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
अखिल क्रान्तिकारीमा पुरानो गुट भत्कियो, नयाँलाई स्थापित गराउन नेताहरूको दौडधुप
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण