शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस र माओवादी दुवैले खेल्न थाले ‘एमाले कार्ड’

आइतबार, १० पुस २०७९, ११ : ०८
आइतबार, १० पुस २०७९

संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि राष्ट्रपति कार्यालयबाट दिइएको समय सीमाको अन्तिम दिन आइतबार सत्तारुढ गठबन्धन सहमति जुटाउने अन्तिम प्रयासमा छ । सत्तारुढ गठबन्धनभित्रका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पहिला को प्रधानमन्त्री बन्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिला आफू प्रधानमन्त्री हुनुपर्ने अडान राखेका छन् भने प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफू नै पहिला प्रधानमन्त्री हुनुपर्ने अडान लिएका छन् ।

कांग्रेसका प्रभावशाली नेताहरुले प्रधानमन्त्री पद माओवादी केन्द्रलाई छाड्न नहुने दबाब बढाएका छन् । सोही दबाबका कारण प्रधानमन्त्री देउवा आफै प्रधानमन्त्री बन्नुपर्ने अडानमा रहेका हुन् ।

उता, माओवादी केन्द्रले पनि पहिला आफूले नै प्रधानमन्त्री पद पाउनुपर्ने अडान राखेको छ । प्रधानमन्त्रीमा कांग्रेस र माओवादी केन्द्रले आ–आफ्नो दाबी नछाडेर सहमतिमा सकस भइराख्दा दुबै दलले ‘विकल्प खोज्ने चेतावनीयुक्त सन्देश'हरु समेत दिन थालेका छन् । 

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको शपथ तथा प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भलाकुसारीलाई माओवादी केन्द्रले ‘कार्ड’ का रुपमा खेल्न थालेको छ ।

ओलीसँग सम्बन्ध सुधार भएको र एमालेले प्रधानमन्त्री पदका लागि माओवादी केन्द्रलाई प्रस्ताव गरेको भन्दै माओवादी केन्द्रले गठबन्धनमा आफ्नो ‘बार्गेनिङ पावर’ बढाएको हो । लामो समयदेखि ओली र प्रचण्ड एउटै मञ्चमा देखिएका थिएनन् । तर, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य र प्रतिनिधिसभा सदस्यहरुको शपथ सम्बन्धी दुई छुट्टाछुट्टै कार्यक्रममा दुवै नेता एकसाथ बसेका मात्र होइन, दुवैबीच भलाकुसारीसमेत भएको थियो ।

यही परिदृश्यलाई माओवादी केन्द्रले ‘बार्गेनिङ पावर’ बनाएको हो । ओलीसँग सम्बन्ध सुधार भएको, कांग्रेसले समर्थन नजनाएको अवस्थामा एमालेको समर्थनबाट प्रधानमन्त्री बन्न सकिने सन्देश दिँदै माओवादीले कांग्रेससँग पहिला प्रधानमन्त्री आफूले पाउनुपर्ने दाबी गरेको हो ।

उता, कांग्रेसले पनि एमालेसँग सम्बन्ध बढाएको छ । कांग्रेस नेता विमलेन्द्र निधि शनिबार एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । गठबन्धन तोड्ने शर्तमा एमालेले कांग्रेसलाई समर्थन जनाउने आश्वासन दिएको कांग्रेस स्रोत बताउँछ ।

निधिले आइतबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेर सहमतिका लागि लचक हुन आग्रह गरेको बताइन्छ । यद्यपि प्रचण्डले आफू पहिला प्रधानमन्त्री हुनुपर्ने अडान कायमै रहेको निधिलाई बताएका छन् ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग निधिको भेटवार्ता र गठबन्धनभित्र भागबण्डालाई लिएर भइरहेको गलफतीका विषयमा आइतबार बिहान कांग्रेस नेताहरु छलफलमा जुटेका छन् ।

यस लगत्तै गठबन्धनको बैठक बसेर निर्णायक वार्ता गर्ने तयारी छ । यद्यपि, कांग्रेस र माओवादीले आफ्नो अडान कायम राखेको खण्डमा एमालेले कसलाई समर्थन गर्छ भन्ने विषयले नै आगामी सरकार कसको नेतृत्व गर्छ भन्ने निर्धारण हुनेछ । यही अवस्थामा सत्तारुढ गठबन्धन टुटेमा आश्चर्य मान्नु नपर्ने स्रोत बताउँछ । यद्यपि, कांग्रेस र माओवादी दुवैलाई समर्थन जनाउने आश्वासन दिएको एमालेले अन्तिम समयमा कसलाई समर्थन गर्छ भन्ने प्रस्ट हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप