बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

६ महिनामा गोलभेँडा बिक्रीबाट तीन करोड आम्दानी

आइतबार, १० पुस २०७९, १० : ४८
आइतबार, १० पुस २०७९

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका किसानले व्यावसायिक रूपमा गोलभेँडा लगायत अन्य तरकारी खेतीबाट मनग्य आम्दानी लिएका छन्  ।  कृषि उत्पादनमा पकेट क्षेत्रका रूपमा रहेको सो गाउँपालिका किसानले जिल्लालाई नै तरकारी खेतीबाट आत्मनिर्भर बनाउने तर्फ लागेको देखिन्छ ।

उनीहरूले विगत छ महिनामा रु तीन करोडभन्दा बढीको गोलभेँडा बिक्री गरेको सो गाउँपालिकाले जनाएको छ । अहिले दैनिक रूपमा मकवानपुर गढीमा उत्पादन भएको गोलभेँडा हेटौँडालगायतका अन्य बजारमा ढुवानी भई बिक्री वितरण भइरहेको छ ।

गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले सो गाउँपालिकामा एक सय जना किसानले एक सय हेक्टर जमिनमा गोलभेँडा खेती गरी उक्त आम्दानी लिएको जानकारी दिए । गाउँपालिकाले तरकारी खेतीका लागि अनुदानसमेत सञ्चालन गरेको बताइएको छ ।

उनले कृषि उत्पादनबाट किसानलाई आत्मनिर्भर बनाउन टनेल कृषि कार्यक्रमसमेत सञ्चालन गरेको बताए ।  अव्यवस्थित चुरे तथा पहाडी विशेषता बोकेको गाउँपालिकामा भौगौलिक बनावटका आधारमा कृषि कार्यक्रम सञ्चालन गरिरहेको कृषि अधिकृत चौधरीले बताए ।

गाउँपालिकामा चार सय ५० हेक्टर क्षेत्रफलमा हुने तरकारी खेतीबाट वार्षिक छ हजार पाँच सय मेट्रिक टन विभिन्न किसिमका तरकारी उत्पादन हुने गरेको बताइएको छ । मकवानपुरगढी–१ मा २० किसानले २७, वडा नं २ मा २० किसानले एक हजार नौ सय वर्गमिटर क्षेत्रफलमा एक सय १९, वडा नं ३ मा १७ किसानले ६०, वडा नं ४ मा २३ किसानले ३५, वडा नं ५ मा २८ किसानले ३१ टनेल निर्माण गरी खेती गरिरहेको कृषि शाखाको तथ्याङ्कमा उल्लेख   छ ।

यस्तै वडा नं ६ मा २१ किसानले एक सय पाँच, वडा नं ७ मा ६६ किसानले एक सय र वडा नं ८ मा ८२ किसानले गरी जम्मा तीन सय ५३ वटा टनेल निर्माण गरी गोलभेँडाको तरकारी खेती गरिरहेको बताइएको छ । किसानले अहिले दैनिक रु तीनदेखि पाँच लाखसम्मको गोलभेँडा बिक्रीका लागि हेटौंडा बजार लगायतको अन्य बजारमा समेत बिक्रीका लागि पठाउने गरेको उनले बताए ।

गाउँपालिकाले टनेल निर्माणका लागि किसानलाई निःशुल्क प्लाष्टिक, तालिम तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप