सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन हुनुपर्छ : मन्त्री कुँवर

शनिबार, ०९ पुस २०७९, २२ : ०१
शनिबार, ०९ पुस २०७९

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मुलुकको राजनीतिक स्थिरतका लागि सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठननिकट पत्रकारहरूसँग आज यहाँ आयोजित अन्तक्रिर्यामा मन्त्री कुँवरले संविधान र लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धनको सरकारको विकल्प नरहेकाले त्यसतर्फ छलफल भइरहेको बताए ।
मन्त्री कुँवरले मुलुकमा विशिष्ट परिस्थितिमा गठबन्धन निर्माण भएको बताउँदै त्यसले दुईवटा चुनाव सम्पन्न गरी राजनीतिक अन्योलताको अन्त्य गरेकाले अहिले नै गठबन्धनको विकल्प खोज्न नहुने बताए ।

वामपन्थी एकताका नाममा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) अलग हुन नहुने भन्दै उनले भने, “तत्कालीन नेकपा (एमाले) को ज्यादतिका कारण जुन समूहसँग हामीले विद्रोह गर्यौं, त्यसको औचित्य पुष्टि नभइकन उनीहरूसँग अहिले एकताको मोर्चा बनाउने अवस्था छैन, उनीहरू सच्चिन जरुरी छ ।”

पाँच जना सदस्यबाट निर्माण भएको कम्युनिष्ट पार्टी लामो मेहेनत र सङ्घर्षले अहिले यहाँसम्म आइपुगेको बताउँदै मन्त्री कुँवरले चुनावमा प्रत्यक्षतर्फ चौथो भएको पार्टी केही प्राविधिक कारणले राष्ट्रिय मान्यता पाउन नसकेको भए पनि कार्यकर्ता आत्तिनुपर्ने तथा निरास हुनुपर्ने अवस्था नरहेको प्रष्ट पारे ।

सरकारले पत्रकार, कलाकार तथा स्वरोजगारमा आवद्ध श्रमिकलाई पनि सामाजिक सुरक्षामा समेट्ने उद्देश्यले यसको दायरा फराकिलो बनाएको उनले जानकारी दिए । प्रत्येक प्रदेशमा १२ जनाको प्रतिनिधित्व हुने गरी सबै प्रदेशबाट मजदुरका केटाकेटीलाई छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाइएको उनको भनाइ थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप