शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशस्तरीय भलिबल : उपाधिका लागि बागलुङ र स्याङ्जा भिड्ने

शनिबार, ०९ पुस २०७९, २० : ४०
शनिबार, ०९ पुस २०७९

पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि स्याङ्जा र बागलुङ भिड्ने भएका छन् ।  गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा यही पुस ६ देखि पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा जारी प्रतियोगिताको आज सम्पन्न सेमिफाइनलमा खेलमा बागलुङले कास्की र स्याङ्जाले नवलपुरलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन् । 

पहिलो सेमिफाइनल खेलमा बागलुङले ३–१ को सेटमा कास्कीलाई पराजित गर्यो । कास्कीले पहिलो सेट २५(१६ ले जितेर आफ्नो पक्षमा पार्न सफल भए पनि लगातार तीन सेट गुमाउँदै बागलुङसँग पराजित भएको हो । बाग्लुङले दोस्रो सेट २५–२०, तेस्रो सेट २६–२५ र चौथो सेट २५–२० ले जित्दै फाइनलमा पुगेको हो । 

दोस्रो सेमिफाइनलको पहिलो सेटको खेल २५–२२ ले जितेको नवलपुरले दोश्रो र तेस्रो सेट २५–२० र २५–२० ले स्याङजालाई सुम्पियो । तर नवलपुर चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५–१७ ले आफ्नो पक्षमा पार्दै स्याङ्जालाई दवाबमा राख्ने प्रयास गरेको थियो । तर अन्तिम तथा निर्णायक सेटमा स्याङ्जाले १५–७ ले खेल जित्दै फाइनलमा बागलुङको भेट पक्का बनायो ।

प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल भोलि हुने सङ्घका महासचिव टहलसिंह थापामगरले जानकारी दिए । 

उपाधि विजेताले नगद रु दुई लाख, उपविजेताले नगद रु एक लाख, तेस्रो हुने टोलीले रु  ५० हजार र चौथो हुने टोलीले रु २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गर्नेछन् । 

प्रतियोगितामा सर्वोत्कृष्ट हुने एक जना खेलाडीले नगद रु २० हजारका साथमा ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट सेटर, उत्कृष्ट लिव्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु १०–१० हजार प्रदान गरिनेछ ।

नेपाल भलिबल सङ्घ र कास्की जिल्ला भलिबल सङ्घको व्यवस्थापन, प्रदेश खेलकुद परिषद गण्डकीको समन्वयमा प्रतियोगिता सञ्चालन भएको । प्रतियोगिताबाट बचत रकमबाट महिला भलिबल खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएको छ । प्रतियोगितामा मनाङ र मुस्ताङबाहेक गण्डकी प्रदेशका नौ जिल्लाको सहभागिता छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप