मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

कैलालीका २७ अग्नी पीडित मुक्त कमैयाका घर निर्माण सुरु

शनिबार, ०९ पुस २०७९, १७ : ५७
शनिबार, ०९ पुस २०७९

अग्नी पीडित मुक्त कमैयाका घर निर्माण सुरु भएको छ । कैलालीको कैलारी गाउँपालिका ७ विपतपुर मुक्त कमैया शिविरस्थित अग्नी पीडित मुक्त कमैयाहरूको घर निर्माण सुरु भएको हो । सुदूरपश्चिम प्रदेश सरकार, ह्याबिटेड फर ह्युमानिटीको आर्थिक तथा ह्याबिटेडको साझेदार संस्था राष्ट्रिय दलित नेटवर्कको प्राविधिक सहयोग र स्थानीयको श्रमसहितको साझेदारीमा निर्माण सुरु गरिएको छ । बस्ती निर्माण सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत हुन लागेको हो ।

शनिबार एक कार्यक्रमका बीच प्रदेश सरकारकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले घरको शिलान्यास गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको बस्ती विकास कार्यक्रमले विपन्न मुक्त कमैया परिवारलाई राहत हुनेमा विश्वास व्यक्त गरिन् । सुरक्षित आवासभित्र प्रवेश गरेको दिन सरकारको कार्यक्रमले सार्थकता पाउने भएकोले सबै पक्ष कार्यक्रम सफल पार्नमा लाग्नुपर्ने मन्त्री चौधरीको भनाइ छ ।

कार्यक्रममार्फत स्थानीयले तोकिएको मापदण्ड अनुसार आफ्नो घर आफै बनाउने भएकोले लाभग्राहीलाई घर निर्माण अवधिसम्म रोजगारी पनि सिर्जना हुने बताइएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका निवर्तमान सांसद विरमान चौधरीले भने, ‘तपाईहरुको आफ्नो घर मात्रै बन्दै छैन । तपाईहरु आफै मिस्त्री हो । श्रमिक हो । घर आफै बनाउँदै हुनुहुन्छ । जसबाट निर्माण अवधिसम्म कामको लागि कहीँ जानु परेन । पछि पनि सीप रहिरहने छ । त्यसकारण घरको संरचनाको गुणस्तरसँग सम्झौता नगर्नुहोला ।’

२०७९ वैशाख गते सो मुक्त कमैया बस्तीमा आगलागी भएको थियो । बस्तीका २७ घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए  भने दर्जनौं घरमा आंशिक क्षति पुगेको थियो । कार्यक्रम अन्तर्गत भन्सासहित ३ कोठा र शौचालयसहितको २७ घर निर्माण गर्न लागिएको हो ।

जसमा प्रदेश सरकारको ९० लाख, ह्याबिटेड फर ह्युमनिटीको ५४ लाख र लाभग्राहीको ४१ लाख ९९ हजार ९९६ रूपैयाँ बराबरको लगानी रहने ह्याबिटेड फर ह्युमानिटीका इन्जिनीयर अनुपराज जोशीले जानकारी दिए । घर २०८० जेठ मसान्तभित्र बनाइसक्नुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप