बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वीरगञ्जमा महानगरले गर्‍यो ९ हजार जनाको निःशुल्क स्वास्थ्य परीक्षण

शनिबार, ०९ पुस २०७९, ११ : २८
शनिबार, ०९ पुस २०७९

वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा झन्डै ९ हजार जनाले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य जाँच गर्न घरदैलोमै पुगेको यो अभियानले महानगरको विभिन्न ९ वटा वडामा अहिलेसम्म ९ हजार जनाको निःशुल्क स्वास्थ्य जाँच गरेको हो ।

कार्यक्रममा निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधीसमेत उपलब्ध गराउँदै आएको छ । महानगरको बजार एरियाभन्दा बाहिर ग्रामीण क्षेत्रका १६ वटा वडालाई लक्षित गर्दै यो कार्यक्रम संचालन गरिएको महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताए ।

वडा नम्वर १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र अहिलेसम्म ९ वटा वटाका जनताले घरदैलोमै पुगेको टोलीबाट स्वास्थ्य सेवा लिइसकेको पनि उनले बताए । गाडीमै जडान गरिएको ल्याब, युएसजी र इसीजी मेसिनले कार्यक्रम सञ्चालन भएको स्थानमा आवश्यक जाँच गरेर रिपोर्ट दिने गरेको छ । यसले बजारका अस्पतालमा धाइरहनु पर्ने ग्रामीण क्षेत्रका जनतालाई राहत दिएको बताउँछन् बसडिलवाका अनिष महतो । यो कार्यक्रम अहिलेलाई मात्रै सिमित नराखी निरन्तरता दिनु पर्नेमा उनको जोड छ ।

शिविरमा स्वास्थ्य जाँच गराएकाहरुलाई महानगरपालिकाले उनीहरूको स्वास्थ्य परीक्षण रिपोर्टको आधारमा विभिन्न ९८ प्रकारका औषधी त्यहीँ उपलब्ध गराउँदै आएको छ । वीरगञ्जको वडा नम्वर ३० लालपर्साबाट भदौ २६ गतेदेखि यो कार्यक्रम सुरु भएको हो ।

अहिलेसम्म वडा नम्वर ३० लालपर्सासहित वडा नम्वर ३१ बेलवा, ३२ चोर्नी, १८ भवानीपुर, १७ अलौँ, २६ सुगौली, १९ विन्दवासिनी, २० हरपतगञ्ज र २९ बसडिलवामा यो अभियान सम्पन्न भइसकेको छ । आइतबारदेखि पुनः अर्को वडामा यो अभियान सञ्चालन गरिने महानगरको स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए ।

‘अहिलेसम्म ९ वटा वडामा कार्यक्रम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘बाँकी रहेका वडामा पनि हामी क्रमैसँग कार्यक्रम गर्दै जानेछौँ ।’ मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा जनताको घर आँगनमै आएर स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क औषधी समेत उपलब्ध गराइने भएकाले फाइदा उठाउन सबैलाई उनले आग्रह गरे । अहिलेसम्म ९ वटा वडामा चलेको कार्यक्रममा ५ हजार ५ सय ६२ जना महिला र ३ हजार २ सय १७ जना पुरुषले स्वास्थ्य जाँच गराएको पनि उनले जानकारी दिए । 

यस्तै १ हजार ८ सय २२ जनाले ल्याब सेवा लिएका छन् भने ३ सय ५५ जनाले युएसजी र ६७ जनाले इसीजी सेवा लिएको पनि स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप