नर्स पेसा: एकातिर गर्व अर्कोतिर पीडा
पेसाले म एक नर्स हुँ । मलाई आफ्नो यस पेसामाथि गर्व छ तर कहिलेकाहीँ नर्स बनेकोमा पीडाबोध पनि हुन्छ । नर्सिङ एउटा पेसा मात्रै नभई मानवता पनि हो । भावना हो, कर्म हो । धेरै नेपाली बुबाआमाहरुको सपना हुन्छ, आफ्ना छोरीहरूलाई हामीजस्तै नर्स बनाउने ।
छोरीहरू आफैँको पनि भविष्यमा एक सफल नर्स बनेर बिरामीहरूको सेवा गर्ने सपना हुन्छ । अझ मदर टेरेसा, फ्लोरेन्स नाइटिङ्गेलजस्ता महिलाहरूले समाजमा गरेका निस्वार्थ सेवाका बारेमा पढेकाहरूलाई त झनै नर्स पेसाले आकर्षित गर्ने गरेको मैले देखेकी छु ।
कैयौँ केटाहरूले नर्ससँग प्रेम या बिहे गर्ने सपना पालेका पनि मैले भेटेकी छु । नर्सहरूले चिटिक्क आफ्नो ड्रेस लगाएर अस्पतालमा बिरामीहरूका अगाडि उभिँदा र सेवा गरिरहँदा बिरामी र बिरामीका कुरुवाहरूलाई लाग्दो हो, ‘मेरो परिवारका कुनै सदस्य नर्स भइदिए कति राम्रो हेरचाह पाउने थिएँ । सायद म बिरामी नै हुन्नथेँ । अस्पताल नै कम आउनुपर्थ्यो होला । अस्पताल नै आउनुपरे पनि सहजै उपचार व्यवस्था हुन्थ्यो होला ।’
यिनै विविध कारणहरूले गर्दा नर्सप्रतिको आकर्षण मानिसहरूमा राम्रो देखिने गरेको छ । कतिपय बिरामीका लागि त उहाँहरूको विचारमा नर्स भनेको भगवान् नै हो ।
यस्तो लाग्नु स्वाभाविक पनि हो । किनभने हाम्रो देशमा थुप्रै जनता आजको एक्काइसौँ शताब्दीमा समेत आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन् । हामी सबैले बेलाबेलामा विविध सामाजिक सञ्जालमार्फत पढ्ने र सुन्ने गरेका छौँ, झाडापखालाका लागि चाहिने जीवनजल नै नपाएर कतिपयले मृत्युवरण गर्नुपर्ने अवस्था छ नेपालमा । ज्वरो आएर सिकिस्त भएको बिरामीलाई सिटामोल खुवाउन नसक्ने महान् नेपालीहरू नर्सहरू देखेर र उनीहरूको सेवाभाव देखेर उनीहरूको पेसाप्रति आकर्षित हुनु कुनै नौलो कुरा होइन ।
एकातिर मानिसहरुको नर्सप्रतिको आकर्षण बढ्दो क्रममा छ । तर भएका नर्सहरूको पनि सही व्यवस्थापन नहुँदा उनीहरू पीडामा छन् र धेरै नर्सहरू विदेश पलायन भइरहेका छन् । अर्कोतिर धेरै मानिसहरू आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित छन् । यी समस्याको राजनैतिक तवरबाट उचित व्यवस्थापन हुन सकिरहेको अवस्था पनि छैन ।
रातदिन नभनेर अहोरात्र खटी बिरामीको सेवामा आफ्नो जीवन नै समर्पण गर्छन् नर्सहरू । एक त नेपालको हकमा नर्सिङ पढाइको शुल्क नै महँगो छ । अभिभावकले जेनतेन गरी जोगाएको या ऋण गरी जम्मा गरेको लाखौँ रकम लगानी गरेर आफ्नो सन्तानको भविष्य सुन्दर हुने आस गरेर बसेका हुन्छन् । जब आफ्नो सन्तान मेहनत गरी पढाइ सकेर जागिरे जीवनमा प्रवेश गर्छन्, तब पनि परिवारलाई शान्ति छैन । यो अवस्था आखिर कहिलेसम्म ?
न दसैँ, न तिहार, बेलाबेलामा आइरहने चाडपर्व परिवारसँगै बसेर रमाइलो गर्दै मान्न कसलाई पो रहर हुँदैन र ? तर, बिरामीको सेवामा खटिँदा बिरामीका खुसीमा आफ्नो खुसी देख्छन् नर्सहरू । बरु, आफ्नो परिवारमा त्यति धेरै सेवा र समय दिन पाउँदैनन् होला नर्सहरूले, जति बिरामीहरूका लागि दिन्छन् ।
एक अर्थमा नर्सहरूको परिवार भनेकै उपचारका लागि आइरहने बिरामीहरू नै हुन् भन्दा फरक नपर्ला । यसर्थ उनीहरू पक्कै पनि सम्मानयोग्य छन् ।
एक जना बिरामीले आफ्नो उपचारपछि जब रोगमुक्त भएर लामो श्वास फेर्छ, उसको सेवामा खटिएका नर्सहरूले पनि सन्तुष्टिको लामो श्वास फेर्छन् । कुनै बिरामी पीडाले अस्पतालको बेडमा छटपटाइरहँदा नर्सलाई पति त्यति नै छटपटी हुन्छ ।
कहिलेकाहीँ प्रयास गर्दागर्दै पनि कसैले वशमा राख्न नसक्ने मृत्युसँग जुध्न नसकी बिरामीको श्वास जाँदा जब बिरामीका आफन्तहरूले अस्पतालमै रुवाबासी गर्छन्, त्यो बेला कुनचाहिँ नर्सको हृदय पीडाले छियाछिया नहोला र ? हरेक प्रयास गर्दागर्दै पनि मरेका मान्छेको आफन्तहरूको रुवाबासी नर्सहरूले जति सायदै अरूले देखेका हुन्छन् होला ?
उनीहरू त्यस पीडालाई आफ्नो हृदयभित्रै दबाउँछन् र अन्य बिरामीहरूलाई बचाउने कोसिसतिर लाग्छन् । उनीहरुले जसरी नजिकबाट बिरामीको भावनालाई कसैले पनि अनुभव गरेको हुँदैन ।
बिरामीहरूको सेवा गरिरहेका नर्सहरू फुर्सद पाएर एकैछिन आराम गर्न पाएका हुँदैनन्, बिरामीहरूको भीडबाट कुनै बिरामीको आफन्त आएर सुरmमा नर्सलाई नै गुनासो गरिरहेको हुन्छ । आफ्नो ड्युटीमा परेका हरेक बिरामीको नाडी स्पर्श गरेका हुन्छन् नर्सले । बिरामीको पीडा बोध गरेका हुन्छन् । बिरामी कुरुवाहरुको निराश भावनाको अनुभव गरेका हुन्छन् ।
अनि, आफ्नै हातले सेवा गरेको बिरामी अस्पतालबाट डिस्चार्ज भएर घर फर्किँदा नर्सहरूलाई जति उत्साह अरू कसलाई होला ? यो क्रम निरन्तर चलिरहन्छ र नर्सहरूले नयाँ नयाँ बिरामीहरूसँग यसरी नै सधैँ सेवामा खटिएर समय बिताइरहेका हुन्छन् ।
कुनै बिरामी या बिरामीका आफन्तले डिस्चार्ज भएर फर्कने बेलामा नर्सलाई ‘धन्यवाद’ मात्रै भनिदिँदा पनि कति खुसी हुन्छन् उनीहरू ! तर, प्रायजसो बिरामी सञ्चो भएपछि उनीहरू ‘ओहो, फलानो डाक्टर त कति राम्रो, फलानो डाक्टरले निको पारिदिनुभयो’ भनिरहेका हुन्छन् । धेरैजस्ता डिस्चार्ज भएका बिरामी र तिनका आफन्तले नर्सहरूलाई याद गर्ने गरेका पाइँदैन ।
यति हुँदाहुँदै पनि नर्सहरूले बेलाबेलामा विविध आलोचनाहरू खप्नुपर्ने हुन्छ । बिरामीलाई कुनै अप्ठ्यारो परेका बेला नर्सले राम्रोसँग उपचार गरेन, नर्सले राम्रोसँग हेरेन भनेर सुरुमा नर्सतिर नै मानिसहरूका गाली सोझिएको देख्ने गरिन्छ । यति हुँदा पनि नर्सहरूले आफ्नो हौसला कहिल्यै बिर्सिँदैनन्, बरु हौसला अझै बढाइरहेका हुन्छन् । तर, हौसला कहिलेसम्म, कतिसम्म बढाइरहने ?
रातिको ड्युटी गर्नुपर्ने पालो परेका र दिउँसै ड्युटी गरिरहेका नर्सहरूको कहिलेकाहीँ हौसला घटिरहेको हुन्छ । एकातिर बिरामीका कुरुवाहरूले नर्सहरूलाई गर्ने छेडखानी, अर्कातिर आफ्नै परिवारबाट विशेष गरी उनीहरूका श्रीमान्हरूले गर्ने व्यवहारले गर्दा नर्सहरूले असुरक्षाको अनुभव गरिरहेका हुन्छन् । कतिपय नर्सहरूले त यस्ता असुरक्षाहरू खप्न नसकेर अन्य पेसा अपनाएका या विदेशतिर पलायन भएका पनि देखिन्छ ।
कतिपय अवस्थामा त डाक्टरहरूले नै नर्सहरूमाथि अभद्र व्यवहार गरिरहेका घटना पनि देख्न पाइन्छ । सायद समाजले डाक्टर र नर्सलाई हेर्ने भेदभावपूर्ण दृष्टिका कारण पनि होला, डाक्टरहरूले अहङ्कारवश कतिपय नर्समाथि अभद्र व्यवहार गरिरहेका हुन्छन् ।
नेपाली समाजमा डाक्टरहरूको जति नर्सहरूको सम्मान भएको देखिँदैन, जबकि कतिपय नर्सहरूले त डाक्टरले भन्दा धेरै अध्ययन गरेका हुन्छन् र वर्षौँ काम गरेको उनीहरूको अनुभव हुन्छ ।
प्रशासनको अनुचित व्यवहारको दुःख पनि नर्सहरूले भोग्नु परिरहेको अवस्था छ । एक जना तल्लो स्तरको कर्मचारीले पनि नर्सहरूलाई मनलाग्दी चलाउन खोजिरहेका हुन्छन् । काम नगरूँ, कामबाट कुनै पनि बेला निकालिदिने खतरा, अर्को ठाउँमा जागिर पाउन विविध तिकडम गर्नुपर्ने र काम पाए पनि तलब अत्यन्तै न्यून हुने अवस्था ।
नेपालमा धेरै नर्सहरू बेरोजगारसमेत बसेका छन् । काम गरूँ, प्रशासनको गैरजिम्मेबारीपूर्ण व्यवहारका कारण नर्सहरूलाई धेरै नै गाह्रो अवस्था परिरहेको हुन्छ । चाकरी गर्नेहरूका लागि त केही समस्या नहोला, तर सबै नर्सहरूले चाकरी नै गर्छन् भन्ने पनि हुन्न । चाकरीका कारण भन्दा पनि योग्यताका कारण नर्सहरूमाथि व्यवहार हुनुपर्छ भन्ने योग्य नर्सहरूको माग हो । अनुचित व्यवहारले गर्दा राम्रा र योग्य नर्सहरू पनि पछाडि परिरहेका र अयोग्य नर्सहरूका कारण स्वास्थ्य–क्षेत्र बदनाम भइरहेको पनि देखिन्छ ।
यस्ता यावत् समस्याहरूको समयमै सम्बोधन हुनु अत्यन्तै आवश्यक देखिन्छ । नर्सहरूलाई उचित पारिश्रमिक, उनीहरूको कामको सम्मान, भेदभावपूर्ण दृष्टिको अन्त्य, योग्यता अनुसारको पदपूर्ति, सुरक्षाको ग्यारेन्टीजस्ता कुराहरूमा अहिल्यै नसोचे समस्याहरू झनै जटिल बन्दै जाने देखिन्छ । त्यसैले, समयमै यस बारेमा सम्बन्धित निकायहरूले सोचिदिने हो कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री