मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुदूरपश्चिमको बस्तीमा प्राचीन युद्धकालीन भुवा अभ्यास हुँदै

शनिबार, ०९ पुस २०७९, ०९ : १७
शनिबार, ०९ पुस २०७९

धनगढी, ९ पुस । प्राचीन युद्ध कौशलको झल्को दिने झाँकी अर्थात भुवा नाच प्रदर्शन सुरु भएको छ । दमाहाको तालसँगै एक हातमा तरवार र अर्को हातमा ढाल नचाइने दृश्यसहितको भुवा नाचको प्रदर्शन आजभोलि सुदूरपश्चिमका गाउँबेसीहरुमा सुरु भएको हो ।

यो भुवा कैको
पाँच पौण्डु देउको
का बाट उब्जी
मन्त लोक उब्जी
त्याँ बाट इन्द्रका बार

इन्द्रका बार भुवा खेलायो....। जस्ता उल्लेखित लय र भाकासहित आजभोलि खुलामञ्च अथवा खुला ठाउँ गुञ्जमान हुन थालेका छन् । जनाउको रूपमा भुवा पुस महिनाको पूर्णिमाको राति भुवाखाडोमा आगो बालेर प्रारम्भ गरिन्छ । तथापि यस पर्वको विधिवत् सुरुवात भने पुसे औँसीदेखि सुरु हुने जानकारहरू सुनाउँछन् । देउडा गायक तथा पूर्व अन्तर्राष्ट्रिय कबड्डी खेलाडी लक्ष्मण अधिकारीले पुसे औँसीमा पाँच पाण्डवहरुको पूजापाठ गरी भुवा सुरु हुने बताउँछन् ।

भुवाको ऐतिहासिकता

हाल लोपोन्मुख अवस्थामा रहेको भुवा पर्वको ऐतिहासिक, सांस्कृतिक महत्त्व रहेको छ । बाजुुरेली सेवा समाजका अध्यक्ष चेतन थापा भन्छन्– ‘भुवा प्राचीन संस्कृति हो । प्राचीनकालीन युद्धको भाका हो । कौशलको प्रदर्शनी हो । जसको आफ्नै मौलिक विशेषता छ । हाम्रो पहिचान हो ।’

पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुने भुवा महाभारतको पाण्डव र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाईकाृ सम्झनामा तथा पाण्डवहरुको जीतको खुसीयालीमा पर्व मनाउन थालिएको अधिकारी बताउँछन् । पर्वको ऐतिहासिक पक्ष गीतिलयमा उनले यसरी सुनाए :ः

पहिलो भुवो, माथि मन्ता लोग, ईन्द्रका बारा

दोसरो भुवा, ब्राह्मण घरि

तेस्रो भुवो, कृष्ण घरि

चौथो भुवो, पाँच पाण्डा घरि

वाँहै भुवो, मुलुक सनिसार

वाँहै भुवो, नरलोग आयो

नरलोग दुनियाले, वाँई बासा राख्यो

मिठाई फलु ख्वायो, स्वागत अर्यो

वाँहै भुवो, केदारनाथ आयो

युधिष्ठर राजाले, वाँई बासा राख्यो

स्वागत अर्यो, मन्दिर बनाउनाको, सल्लाह अर्यो, 

युधिष्ठर राजाले, आईडिया दियो

कान्छा सहदेव, चौकोठ खारिदे

काईला नकुल, रोल गारो बनाईदे

साईला अर्जुन, देवाल चिठाईदे

माईला भिम, पत्थर भरिदे

द्रौपता रानी, देवाल पोताईदे

वाँहै भुवो, हरिद्वार आयो

हरिद्वार हरिज्युको, दर्सन अर्यो, नवाई धुवाई अर्यो,

वाँहै भुवो, रामेश्वर गयो, नुहाई धुवाई अर्यो

वाँहै भुवो , हाति ढुंगा आयो

हाति ढुंगा हाति देवको, दर्शन अर्यो

वाँहै भुवो, गौरिकुण्ड आयो 

गौरिकुण्ड गरम पानी, गौमुख्या धारा, नुहाई धुवाई अर्यो 

वाँहै भुवो, वारि मण्डि आयो

वाँहै भुवो, पशुपति आयो, दर्शन अर्यो....।।

पर्वमा ढाल र तरवारसहित चाली खेल्ने प्रचलन रहँदै आएको छ । जसको सुरुवातदेखि समाप्तिसम्म आफ्नै विधि प्रक्रिया रहेको अधिकारी सुनाउँछन् ।

उनको अनुसार पुसे औँसीको राति भुवाखडोमा आगो बालिन्छ । आगो तापेर नुहाई–धुवाई सरसफाइ गरेर घरमा मिठो–मसिनो खाना बनाइएको हुन्छ । खाना खाएर अनि आफ्ना हतियारहरू ढाल तरवारलाई चम्किलो बनाउने काम गरिन्छ । ढाल कालोले पोतिन्छ भने तरवारलाई धारिलो र चम्किलो बनाइन्छ । 

यसरी चम्किलो बनाइएको तरवारहरु चाली खेल्दा घाममा टलक्क टल्किन्छ । औँसीको भोलिपल्ट लुगा कपडा धोएर हातहतियार सजाउने, टल्काउने काम हुन्छ । अनि द्वितीया तिथिको दिनमा विशेष ढङ्गले प्रदर्शन गरिने बताइन्छ । भुवा खेलको पहिरन पनि विशेष प्रकारको हुन्छ । भुवा खेल्ने पुरुषहरूले सेतो भोटोसहित जामा, पछाडि कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्युँमा एउटा सेतो चादर जस्तो पहिरनुपर्छ । टाउकोमा पगरी बाँध्नुपर्छ । पुनः देउडालयको भाका अधिकारीले यसरी सुनाउँछन् 

एक हात तरबार हुन्छ एक हात ढाल हुन्छ

गजरान्त दमाऊ बजी बाजाको ताल हुन्छ

जसो जसो बाजो बज्यो खेल्न्याको चाल हुन्छ 

खेल्नाकी रमाइलो हुन्छ हेन्नाखी माल हुन्छ

चादानि लायाको टीको टल्क्याको लाल हुन्छ

जान्यो भन्या गज्जब हुन्छ नजान्या झाल हुन्छ

हेन्न्या उत्ति खेल्न्या उत्ति वर पर उत्ती

खेल्नाकी दम पन चाइदो उसै चाईदो फुत्ती

कालो बादल घेर्री घेर्री आट्योकी वर्णन

हुक्का चिलिम सुंन्न्या जति सब्बईकी दर्शन.....।।

दिउँसोको समयमा भुवाखडोमा गएपछि भुवाको रौनक सुरु हुन्छ । बाजागाजाका साथ दमाहाले पनि अनेक धुन बजाउँछन्, बाजा–गाजा, लस्कर हुँदै औँसी र प्रतिपदाका दिन चम्काएका ढाल तरवार बाजागाजा भूवाको लयमा चम्कन सुरु हुन्छ ।

बायाँ हातमा ढाल दायाँ हातमा तरबार लिई बाजाको तालसँगै गुरुको निर्देशनअनुसार सुस्त गतिबाट भुवा खेल खेल्ने गरिन्छ । खेलमा २० भन्दा वटा चाली वा लय र ६३ कवच हुन्छ । 

यसैबीच छरछिमेकहरुले आ–आफ्नो घरमा मिठामिठा परिकारहरू पकाउँछन् र आपसमा बाँडेर खान्छन् । दसैँपछिको ठुलो पर्वको रूपमा लिइने यस पर्वमा वर्षदिनसम्म भेटघाट नै नभएका इष्टमित्र, दाजुभाईबीचको सम्बन्ध प्रगाढ हुने जनविश्वास उत्तिकै छ । हातमा तरवार र ढाल लिई सामूहिक रूपमा बाजागाजासहित घर–घरमा गई भोस्को खेलिने हुँदा जसबाट घरमा श्रीसम्पत्ति भित्रिने र खेलको माध्यमबाट समाजका विकृति–विसंगतिको अन्त्य भई समतामूलक समाज निर्माण हुने जनविश्वास रहँदै आएको बताइन्छ ।

सरकारले महत्त्व नदिएको गुनासो

भुवा पर्व सुदूरपश्चिमको बझाङ, बाजुरा, अछाम, डोटी तथा पहाडबाट बसाइँ सरी कैलाली कञ्चनपुर झरेका पर्व मनाउँदै आएका छन् । कर्णाली प्रदेशको केही जिल्लामा समेत पर्व मनाइँदै आइएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका ७ हल्दुखालस्थित सिद्ध सामुदायिक सेवा समितिले शनिवार भुवा भस्सो विशेष कार्यक्रम राखेको छ । कार्यक्रममा सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीको प्रमुख सहभागिता रहने छ ।

पर्वको सांस्कृतिक र ऐतिहासिक महत्त्व रहे पनि प्रदेश सरकारले महत्त्व नदिएको कलाकर्मीहरूको गुनासो छ ।

अधिकारी भन्छन्, ‘सरकार विगतको वर्षमा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको थियो । तर अहिले आएर कटौती गरेको छ । जसबाट राज्यको नियत स्पष्ट भएको छ । राज्यले महत्त्व नदिएपछि कसरी संरक्षणमा टेवा पुग्छ ?’

कञ्चनपुरमा ४२ वर्षपछि भुवा कार्यक्रम सुचारु भएको समेत अधिकारीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप