गरिब र निमुखाका कथा लेखक विकल
राणा शासनका चर्को दबाब विस्फोट हुने समयमा साहित्य सिर्जनामा होमिएका सर्जक हुन् रमेश विकल । नेपाली समाजमा हेपिएका निम्न वर्गीय जनताका भोगाइलाई टपक्क टिपेर आफ्ना सिर्जनामा उतार्न खप्पिस छन् उनी ।
समाजमा दबाइएका, हेपिएका विशेष खालका पात्रलाई चुनेर तिनीहरूको खानपान, भाषा तथा जीवनका विविध पाटालाई घामजस्तै छर्लङ्ग हुने गरी कथा, नाटक र उपन्यास लेखनमा उनी सफल छन् ।
विसं १९८५ कात्तिक २९ गते आरुबारी, जोरपाटी, काठमाडौँमा जन्मिएका विकलले आफ्नो जीवनकालभरि साहित्य सिर्जनामा लागिरहे । २००६ सालमा शारदा पत्रिकामा ‘गरिब’ कथा प्रकाशन गरेर सार्वजनिक साहित्य यात्राको थालनी गरेका उनले पाँच दर्जनभन्दा बढी कृति नेपाली साहित्यलाई दिएका छन् ।
सिर्जनालाई अमर राख्न चाहने साहित्यकार
विकल आफ्ना साहित्य सिर्जनालाई अमर राख्न चाहने साहित्यकार हुन् । उनले आफू जीवित रहँदा नै आफ्नो परिवारलाई यो कुराको जानकारी दिएका थिए । उनले आफ्ना लेख रचनाहरूमा ठेगाना उल्लेख गर्दा आरुबारीको आफ्नो त्यो घरको नाम ‘कला कुटिर’ भनेर राख्ने गरेका थिए । परिवारका सदस्यहरू पनि उनको सुविचारप्रति गौरवान्वित थिए ।
यसबारे साहित्यकार रोचक घिमिरे भन्छन्– “उनको सपना के थियो भने नोबेल पुरस्कार विजेता बङ्गाली कवि रवीन्द्रनाथ ठाकुरको शान्ति निकेतन जस्तो छ, म पनि यो आफ्नो कला कुटिरलाई भविष्यमा त्यस्तै बनाउने इच्छा राख्छु भनेर त्यो बेलादेखि हामीसँग भन्ने गर्दथे ।” यो उनको सपना थियो । त्यही भएर आफ्ना लेखहरूका अन्त्यमा पनि कला कुटिर आरुबारी, काठमाडौँ भनेर लेख्थे ।
रमेश विकलले आफ्नो इच्छाअनुसार जीवित हुँदै २०६३ सालमा रमेश विकल साहित्य प्रतिष्ठानको स्थापना गरे र आफू जन्मिएको घर प्रतिष्ठानका नाममा दान गरे । तर उक्त घर २०७२ सालको भूकम्पले भत्कियो । अहिले नयाँ भवन निर्माण गरिएको छ । सो भवनमा अहिले प्रतिष्ठानसँगै सङ्ग्रहालय पनि छ । त्यसमा विकलका सिर्जना तथा उनले प्रयोग गरेका सामग्री सङ्ग्रह गरी सङ्ग्रहालयको रूपमा राखिएको छ ।
अहिले सो प्रतिष्ठानले निरन्तर साहित्यिक गतिविधि गर्दै आएको उहाँका सुपुत्र साहित्यकार विजय चालिसेले बताए । उनका अनुसार विकल साहित्य प्रतिष्ठानले भाइटीकाको अघिल्लो दिन रमेश विकल जयन्ती मनाउँदै आएको छ । अभिनव साहित्य समाजले स्थापना गरेको ‘रमेश विकल बालक दायित्व पुरस्कार’ विद्यालयका विद्यार्थीहरूलाई बोलाएर उपस्थित भएकै ठाउँमा कविता लेखन प्रतियोगिता गराएर पुरस्कृत गर्दै आएको छ । यस्तै अरुणिमा शैक्षिक प्रतिष्ठानले अरुणिमा स्कुल वरपरका विद्यालयका विद्यार्थीहरूको चित्रकला प्रतियोगिता गराएर उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ ।
हरेक वर्ष पुसको पहिलो शनिबार रमेश विकल स्मृति सभा बस्ने गरेको छ । यो दिन पनि ७ वटा पुरस्कार वितरण गरिन्छ । यस वर्ष पनि ती पुरस्कार वितरण गरिसकिएको छ ।
यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वङ्गलाई, रमेश विकल सुशीला समाजसेवी पुरस्कार सपना रोका मगरलाई, रमेश विकल सिर्जना पुरस्कार वरिष्ठ समालोचक रमेश गोर्खाली, रमेश विकल बाल साहित्य पुरस्कार लक्ष्मी उप्रेतीलाई तथा रमेश विकल सङ्घर्षशील नारी सम्मान धर्मशीला चापागाईंलाई र रमेश विकल कला–सङ्गीत पुरस्कार वरिष्ठ कलाकार तथा निर्देशक बद्री अधिकारीलाई प्रदान गरियो ।
प्रगतिशील साहित्यकार
विकल साहित्य लेखनको एउटा उद्देश्य हुनुपर्छ भन्थे । मानिसमा चेतना, चरित्रको वृद्धि गर्ने र उत्साह भर्ने साहित्यलाई मात्र उनी वास्तविक साहित्य ठान्थे । यो उद्देश्य नै उनको प्रगतिशील चेत थियो र धेरैजसो समालोचकले उनलाई प्रगतिशील साहित्यकार ठानेका छन् ।
उनको सम्पर्क प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्मासँग भएपछि प्रगतिशील विचारतर्फ आकर्षित भएर साहित्य र राजनीतितिर लागे । प्रगतिशीलताका बारेमा विकल स्वयंले एक अन्तरवार्तामा भनेका छन्, “प्रगतिशील भनेको मान्छेको स्वाभाव हो । मान्छे पछाडि फर्कन चाहँदैन । प्रगतिशीलता भनेको प्रगति, उन्नतिका लागि अगाडि बढ्नु हो ।”
साहित्य सधैँ प्रगतिशील हुनुपर्छ र हुन्छ भन्ने उनी चाकडीबाज साहित्य, स्तुतिवादी साहित्यलाई साहित्य नै मान्दैन थिए । त्यसैले उनका दृष्टिमा साहित्य सधैँ प्रगतिशील हुने बताउँथे ।पछिल्लो समयमा मौलाएको प्रगतिशील र अप्रगतिशील खेमा भनेर छुट्याएको उनलाई मनपर्दैन थियो ।
नेपाली समाजलाई सूक्ष्म तहसम्म बुझ्ने चेतना बोध विकलसँग थियो भन्छन् प्राडा रमेश भट्टराई । “चाहे त्यो लाहुरी भैँसी पढौँ या मेरी सानी भतिजी अथवा एउटा बूढो भ्वाइलिन आशावरीको धुनमा वा अरू कुनै आख्यान,” भट्टराई भन्छन्, “जे पढे पनि विषयलाई टिप्ने उहाँको जुन तरिका र शैली थियो, त्यसलाई अरू लेखकले टिप्न सकेनन् ।”
यसै गरी रमेश विकाल प्रगतिशील साहित्यकार मात्र नभएर खाँट्टी वामपन्थी विचारधारका साहित्यकार मान्छन् रोचक घिमिरे । घिमिरे भन्छन्– “कुनैबेला नेपाल कम्युनिस्ट पार्टीमा सक्रिय सहभागिता थियो विकलको । राजनीतिमा पनि उनीबाट प्रभावित र दीक्षित थुप्रै व्यक्तिहरू छन् (मधुपर्क, रमेश विकल विशेषाङ्क २०६६) ।”
घिमिरेका अनुसार क्रान्तिमा समर्पित माओवादी नेता एवं पत्रकार शक्ति लम्साललाई मैनबत्तीको रापमा हत्केला सेक्न लगाई कम्युनिस्ट पार्टीको सदस्यता दिन शपथ खुवाउने विकल नै थिए । तर पछिल्लो समय भने पदका निम्ति लुछाचुँडी, सत्तानिम्ति मरिहत्ते गर्ने प्रवृत्ति र नेताहरूको भ्रष्ट क्रियाकलापले गर्दा पार्टी राजनीतिप्रति उनको मोह भङ्ग भएको थियो । तर पनि उनको विचारधारा चाहिँ आजीवन प्रगतिशील नै रह्यो ।
कम्युनिस्ट राजनीतिमा आएको विकृतिप्रति विकल असन्तुष्ट भएको कुरा उनले ‘सात सालपछिका दुई दशक’ लेखमा व्यक्त गरेका छन्– “त्यतिखेर पार्टी सदस्य बन्न शैक्षिक, बौद्धिक योग्यतासहितको सैद्धान्तिक ज्ञान अनि राजनीतिक इमानदारी र चारित्रिक विशेषतामा अब्बल मानिएको वामपन्थी (कम्युनिस्ट) पार्टीसमेत सङ्गठन विस्तार गर्ने होडमा अरू दक्षिणपन्थी (प्रजातन्त्रवादी नामधारी) दलहरूको पदचिह्नमा हिँड्न थालेको छ । अर्थात् सत्ताका लागि निकृष्टभन्दा निकृष्ट राजनीति गर्नु आफ्नो अधिकार ठान्न थालेको प्रतीत हुन्छ (मधुपर्क २०६६) ।”
माथिको अभिव्यक्ति उनको राजनीतिप्रतिको वितृष्णा नै थियो । वास्तवमा अहिले कुनै पनि दल आफ्नो सिद्धान्तमा हिँड्न सकेका छैनन् । गठबन्धन गर्ने, चुनावमा जसरी पनि जित हसिल गर्ने, जनतालाई सधैँ उपेक्षा गर्ने प्रवृत्ति अहिले झन् धेरै बढेको छ ।
‘नयाँ सडकको गीत’मा मदन पुरस्कार
समाजमा भएका दीनहीन व्यक्तिको जीवनचर्या, उसले भोगेका कष्ट र सङ्घर्षबारे लेख्ने साहित्यकार हुन् रमेश विकल । बिहान बेलुकाको छाक टर्न सङ्घर्षरत पात्रलाई उठान गरी लेखिएका उनका धेरै सिर्जना प्रकाशित छन् । यस्ता भुइँमान्छेका दुःख, कष्ट र वेदनालाई उन्दै जाँदा उनले ‘नयाँ सडकको गीत’ कथासङ्ग्रह तयार पारेका थिए । पाण्डुलिपिको अवस्थामै ‘नयाँ सडकको गीत’ ले २०१८ सालको मदन पुरस्कार जितेको थियो ।
यो कथासङ्ग्रहमा सङ्कलित अधिकांश कथामा सामान्य गरिब परिवारका दुःखकष्ट समेटिएका छन् । यसभित्र पत्नी पोइल गएपछि बिग्रने घरबारको कथा, समाजमा कहलिएका ठूलाठालुले सानामाथि गर्ने दमन र धोका, २००७ सालमा प्रजातन्त्रपछि पनि जनताको जर्जर अवस्थाका कथा, प्रजातन्त्र आए पनि नयाँ सडकको किनारमा भीख मागेर जीवनका धान्ने भिखारीका कथा छन् ।
यति मात्र होइन, रोगी पतिको सेवासुसारमा थुप्रै मानसिक उतारचढावबाट गुज्रिने कर्तव्यनिष्ठ पत्नीको कथा, एउटा महान कथा लेखेर नेपाली कथाविधालाई नै हल्लाइदिने कथाकारको सोचको विपरीत घरिघरि मानसपटलमा चिहाउन आइपुग्ने समाजको एउटा निरीह पात्रको कथा, आफ्नो हातपाखुरा बजारेर जीवन धान्ने पात्रले आफ्नो गाउँठाउँ छाडेर सहर पस्नुपर्ने बाध्यता र भनेजस्तो काम नपाउँदा पत्नीसँग झर्कोफर्को गरेर दानवी सोच राख्ने पतिको कथाहरू यसमा छन् । उनले मानवीय जर्जर अवस्थाको मात्र होइन, सिँगारी बाख्री शीर्षकको कथामा त एउटा बूढो बाख्राको मनोविज्ञानधरि उधिन्ने कोसिस गरेका छन् ।
बाल साहित्यलाई स्थापित गर्ने साहित्यकार
एउटा प्रौढ साहित्यकार तयार हुनका लागि उसले बाल्यावस्थाबाट साहित्यको आस्वादन गर्न पाउनुपर्छ । अनि मात्र उसको रुचि साहित्यतर्फ बढ्दै जान्छ । रमेश विकलका समयमा बालसाहित्य धेरै नै उपेक्षित थियो । कुनै पनि प्रकाशनले बालसाहित्यका पुस्तक प्रकाशन गर्न मान्दैन थिए ।
“हामीले नै बाल साहित्य लेख्यौँ भने त्यतिबेला हेला गर्थे, हाम्रै साथीहरूले यो केटाकेटीको लागि साहित्य लेख्ने साहित्यकार भन्थे,” नेपाल टेलिभिजनको एक अन्तरवार्तामा विकलले भनेका छन्, “अलि नाम चलेका, आफूलाई ठूला साहित्यकार सम्झनेहरू यतातिर हातै हाल्दैन थिए, बालसाहित्य लेख्नुलाई अवमूल्यन ठान्थे ।”
त्यस्तो अवस्थामा रमेश विकलले बाल साहित्यमा हात हाले । विचार विमर्श सुरु गरे । विकल भन्छन्, “यस्तो स्थितिमा हामीले लेख्न थाल्यौँ । पछि गएर राम्रा राम्रा सिद्धहस्त साहित्यकारहरूले पनि लेख्न थाले । त्यसपछि बालसाहित्यको परिणाम मात्र होइन, गुणस्तर पनि वृद्धि हुँदै गयो ।”
“हामीकहाँ बालसाहित्य अत्यन्त उपेक्षित रूपमा रहेको छ तर उहाँले बालसाहित्यको लेखन र प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ,” प्राडा. रमेश भट्टराई भन्छन्, “बालसाहित्यमार्फत् हाम्रा बालबालिकाहरूको प्रगतिशील विचार निर्माण र नयाँ ज्ञान निर्माणमा उच्च योगदान दिनुभएको छ ।”
बालसाहित्यको अभिवृद्धि गर्ने र प्रगतिशील दृष्टिकोण दिने काम विकलबाट भएको छ । बालसाहित्यमा बालमनोविज्ञान, बालबालिकाहरूलाई अन्धविश्वासबाट मुक्ति तथा नयाँ चेतना र विचार दिने काम विकलबाट भएको भट्टराई बताउँछन् । “हामीकहाँ विचारधारामा सचेत भएर कसैले पनि लेख्दैन तर विकलले बालबालिकाको सचेततालाई बुझेर लेखेका छन् र त्यो प्रगतिशीलतालाई पनि बुझेका छन्,” भट्टराई भन्छन्, “यस हिसाबले उहाँ बालसाहित्यको नयाँ धारा निर्माण गर्ने एक सचेत साहित्यकार हुन् ।”
विकलको अगेनाको डिलमा, विक्रम र नौलो ग्रह, सात थुँगालगायत बालपुस्तक प्रकाशित छन् ।
लेखन र जागीर
विकलको पहिलो रचना श्यामप्रसाद शर्माको हस्तलिखित पत्रिका ‘सन्देश’को पहिलो अङ्क (२००५) मा पहिलो कविता छापिए पनि २००६ को ‘शारदा’मा ‘गरिब’ कथा प्रकाशित भएपछि उनी सार्वजनिक साहित्य सिर्जनामा होमिएका थिए । यसपछि उनले साहित्य सिर्जनालाई नै आफ्नो पेसा बनाए ।
लेखनको अविरल यात्रामा उनले नयाँ सडकको गीत, विरानो देशमा, एउटा बूढो भ्वाइलिन आशावरीको धूनमा, आज फेरि अर्को तन्ना फेरिन्छ, शव सालिक र सहस्र बुद्ध, उर्मिला भाउजू, सुनौली, अविरल बग्दछ इन्द्रावती, सात सूर्य एक फन्को, निलगिरीको छायामा, सप्तरङ्ग, भक्ति थापा, मिल्किएको मणिलगायत थुप्रै कृति प्रकाशित छन् ।
नेपाली साहित्यमा अझै पनि लेखेर बाँच्न नसकिने अवस्था छ । तर विकलको दीर्घकालीन पेसा सिर्जना र लेखन नै थियो । उनको आर्थिक अवस्था नाजुक नभए पनि उनले धेरै ठाउँमा काम गरे । सुरुमा २००५ सालतिर उनले विनायक मिडिल स्कुल (अहिलेको पशुपति माध्यमिक विद्यलय) मा पढाएर जागिरे जीवन सुरु गरेका थिए ।
स्रष्टा र साहित्य एनटीभीको एक अन्तरवार्तामा विकलले भनेका छन्– “पढेन, बरालिएर हिँड्यो भनेर मेरा बा निकै चिन्तित हुनुुहुन्थ्यो । बाको खुसीको लागि २००६ सालमा भन्सारमा जागिर खाएँ, नौसिन्धा भएर अहिलेको बैदार भएर । तर मैले जागिर खाएको एक महिनापछि बा पनि जानुभयो । जाने बेलामा मैले बालाई सन्तोष चाहिँ गराएँ भन्ने लाग्यो । त्यो जागिर ४ महिना खाएँ अनि सात साल आयो ।” २००७ सालको आन्दोलनमा उनको भन्सारको जागिर पनि खुस्कियो । यो आन्दोलनमा विकललगायत धेरै साहित्यकारहरू थुनामा परे ।
केही समयपछि उनी थुना मुक्त भए । उनलाई सबै नागरिकमा शिक्षाको आवश्यकता रहेछ भन्ने महसुस भयो । उनले भनेका छन्, “शिक्षा नभई केही पनि हुँदैन भन्ने मेरो धारणाले २००७ सालतिर मैले कोठामै पनि विद्यार्थी भेला गराएर पढाएँ । विश्वविद्यालयमा गएर पनि मैले पाँच वर्ष पढाएँ ।”
यसपछि उनले २०१८ सालमा प्रचार विभाग (अहिलेको सूचना विभाग) मा नायब सुब्बा तहको सम्पादक भई काम गरे । त्यहाँबाट उनले ‘विकासोन्मुख’ भन्ने पत्रिका सम्पादन गरे । त्यहाँ उनले अढाई वर्ष काम गरे । बढुवा र सरुवाका लागि हाकिमले सहयोग नगरेपछि उनी जनक शिक्षा सामग्री केन्द्रमा उपसम्पादक भएर गए ।
२०३६ सालमा पुनः राजनीतिक आन्दोलन सुरु भयो । त्यसले उनको जनक शिक्षा सामग्री केन्द्रको जागिर पनि खाइदियो । त्यसपछि आफ्नै प्रयासमा विभिन्न स्कुलहरू स्थापना गरे । अहिलेको अरुणोदय स्कुल पनि उनैले स्थापना गरेका हुन् । उनी एक कार्यकाल नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ पनि भए ।
२०६२ पुस २ गते यस धर्तीबाट सदाका लागि बिदा लिएका विकलका रचना नेपाली साहित्यप्रेमीहरूले युग युगसम्म अध्ययन गरिरहने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न ढुङ्गेलले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन