मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

कथा : लुकाएको त्यो पीडा

शनिबार, ०९ पुस २०७९, ०७ : ०७
शनिबार, ०९ पुस २०७९

आज उनले आँसुका भेलमा जे जे पोखिन्, मैले ती आँसुलाई टिपेर शब्द बनाएँ र यहाँ लेखें । अक्षरहरु मसीले मात्र कोरिदैन रहेछन्, चिसो पानी होस् या आँसु लेख्ने सामथ्र्य, चिसो हरेक थोपामा उस्तै हुँदो रहेछ । 

आज आँखाको डिलमा गुम्सिएर बसेको एक खहरे भएर पोखिएको उनका आँसुले अक्षर बनाउन थालें । उनी पोख्न नै आएकी रहिछन्, त्यसैले कुनै बाँधले उनलाई रोकेन । मैले पनि उसरी नै बग्ने बाटो खोलाजस्तै खुल्ला गरी दिएँ ।

उनको बारेमा सुनेको थिएँ मैले पनि । उनी सरकारी सेवामा छिन् । त्यसैले, उनी सरकारी पोशाक लगाएर सधैँ निस्किन्छिन् । बाहिर देख्नेहरुले उनलाई सधैँ जोशिलो, तत्पर र एउटा नमूना राष्ट्र सेवकका रूपमा लिन्छन् । किनकि कार्यालयमा आउने मात्र नभएर सबैलाई उनले निकै राम्रो  काम र व्यवहारबाट  सहयोग गरेकी हुन्छिन् । 

त्यसैले त धेरैले भन्थे, कति हँसिली, कति फुर्तिली । उनलाई गाउँलेहरूले पनि उसरी नै भन्ने गर्थे । यिनी जागिर खान्छिन् तर गाउँ, छरछिमेक कसरी राख्नुपर्छ भन्ने कुरा उनले कति राम्रो गरी बुझेकी र रिझाएकी पनि छन् । 

आफ्ना नानीबाबुहरू स्कूल जाँदा अक्सर घरमा बनाएकै खाना खानुपर्छ भनेर उनी सधैँ घरमा बनाएकै टिफिन पठाउँछिन् । उनका घरमा पाको उमेरका बाआमा हुनुहुन्छ । उहाँहरूलाई उमेर अनुसारको खाना र खाजा बन्दोबस्ती यी यस्ता उनको दैनिकी नै हुन् । 

कामको सिलसिलामा कतै बाहिर जानु छ भने त्यस दिन दिनभरीका लागि पकाएर, पकाउने सामल मिलाएर आफ्नो काममा निस्किएकी हुन्छिन् । लुगा धुने, सुकाउने, उठाउने, पानी, बत्ती, फोन, ग्याँस र यसका सेवा शुल्क बुझाउने र नियमित गर्नुपर्ने दायित्व पनि उन कै काम हुन् । 

यी सबै कुरा गर्दा पनि उनी कहिल्यै थकित नदेखिने, कहिल्यै काममा झर्किने केही गर्दिनन् । यी र यस्ता कुरा उनको उपस्थिति भए या नभएकै अवस्थामा पनि मानिसहरुले भन्ने गर्थे । साँच्चै, मानिसले सबै मान्छेका कुरा नराम्रो मात्र गर्दैनन् भन्ने कुरा उनका बारेमा गरिएका यस्ता कुरा सुन्दा अचम्म लाग्ने । सबैले आफ्नो गृहस्थी र राष्ट्रसेवकको भूमिका निर्वाह गरेका हुन्छन् तर उनको यी दुवै सम्मिसृत रूपको वर्णन निक्कै खुलेर गर्ने गर्थे ।

उनको घर परिवार गाउँकै जेठो उमेर भएका बाआमा भएकाले अब त बूढो घर भन्छन् । बाआमाको उमेरले अब त ८०÷८४ कटिसक्यो। पाउनाहरु आउने जाने भई रहन्छन् ।  बसोबास क्षेत्रीय र जिल्लास्थित प्रशासकीय मुकाम भएकाले पनि यस्ता काम लिएर आफन्त, साथी, माइती, घर, नन्द, आमाजु, भान्जा भान्जी, कुटुम्ब, छोराछोरीका साथीलगायत आउनेजानेहरूको खाँचो हुँदैन । 

यी सबै पात्र, परिचय र उनको भूमिकाभित्र आइपर्ने आकस्मिक जिम्मेवारी हुन् । यिनीहरुसँगको सम्बन्ध आज उनले हाँसेर, खुशी भएर या खुशी देखिएर गर्ने दैनिकी र दायित्व निभाइरहेकी छन् । उनको स्वभावले नै होला, अरु दाजुभाइकोमा पाउनाहरु पनि खासै जाँदैनन् । उनीसँगै रमाउँछन्, सँगै उनी पनि रमाइलै मानेकी देखिन्छिन्, जतिसुकै अफिसबाट गलेर फर्किएकी भए पनि ।

एउटी महिलाका सम्पूर्ण खुशी भनेको उनको परिवार त्यसमा पनि श्रीमान्को सामिप्यता, माया, साथ र सहयोगी भूमिकाले प्रत्यक्ष प्रभाव पर्ने गर्छ । तर उनको जीवनमा त्यो खुशी, उत्साह र सबैकी रुचाइएकी बन्न उनलाई त्यो पाटोले साथ दिएको रहेनछ भन्ने कुरा आज उनले भनेपछि थाहा भयो ।

साँच्चै, उनको प्रत्यक्ष जीवनसँग जोडिएको विषय वा उनको हाँसो र खुशी जोडिएका निकट सम्बन्धले भन्दा अझ परिवारमा उनको श्रीमान्को व्यवहार र दायित्वले थप्ने र घट्ने महत्वपूर्ण कडी श्रीमान्को भूमिका हो।  धेरै महिलाहरुको खुशी र सुखी हुने महत्वपूर्ण यो कडी हाम्रो समाजमा सबैभन्दा ठूलो रूपमा रहेको हुन्छ भन्ने मान्यता उनी जसरी खुशी र हँसिली देखिन्छिन्, त्यसो होइन रहेछ । उनलाई देख्दा जो कसैलाई लागेको उनी यी सबै कुराबाट ढुक्क र सबैभन्दा खुशी र सुखी छन् ।  उनलाई देख्दा सबैले उनीहरु जस्तै हुनु नि भन्ने चाहना राख्नेको कमी थिएन ।

....

तिनै पात्र एक्कासी मलाई भेट्न आइन् । उनका श्रीमान्को व्यवहार र स्वभावले उनलाई यो देखिएको खुशी कहाँ थपेको रहेछ र ? आज उनको बाहिर देखिएका उज्याला भित्रको अँध्यारो पोख्न नै आएकी रहिछन् । 

उनको चम्किरहेको अनुहारमा एकतमासको कालो रंग पोखियो र असिनाका दानाजस्तै वेग र प्रवाहमा बगेको आँसुले उनको हँसिलो रूपलाई सर्लक्क बगाएर झारी दियो ।

उनी भन्दै थिइन्, ‘दिदी, यो कुरा मेरो मनले, मैले नभनी नै थाहा पाएको छ तर हजुरलाई पहिलो पटक पोख्न मन लागेर आएकी हुँ । कसैलाई भन्नु हुन्न होला भन्नेमा म विश्वस्त छु ।’

उनले भन्न सुरु गरिन्, जीवन त मारे पाप र पाले पुण्य भनेर सुरू भएकै थियो । पुण्य पाउने कर्म त म आफूले पनि गर्नुपर्छ भनेर विवाह गरेर मलाई जिम्मा लिएर ल्याएका श्रीमान्को पनि उस्तै हुन्छ होला भन्ने आशा थियो । यो दायित्व दुवैको हो भन्ठानेर म पुण्य कमाउने कर्म आफ्नो कर्तव्यबाट पूरा गर्दै थिएँ ।

मैले एउटी आदर्श श्रीमती, बुहारी, आमा, गाउँ समाज र आफ्नो जागिरे जीवन समाल्दै आएकी छु । मलाई कसैले नराम्रो भन्नु हुन्न । सबैले खुल्ला रुपमा गरेको माया र प्रशंसाले मलाई जहिल्यै उत्साह दिन्छ तर मेरो जीवनको मुख्य पात्र मेरो श्रीमान्ले कहिल्यै नजिकबाट अनुभूति गर्नु  भएन  । 

आफ्नो खुट्टामा उभिएर मात्र विवाह गर्ने भनेर बसें । बुझिदिने श्रीमान् पाएँ भनेर विवाह गरें । तर, कुनै भूमिकामा मैले सोचेको श्रीमान् पाइनछु । उहाँलाई आफूबाहेक अरूको खासै चिन्ता, सोच र दायित्व आफ्नो हो भन्ने फिटिक्कै छैन । 

श्रीमान्ले मलाई मात्र पनि आफ्नो ठानेर माया गरी दिए हुन्थ्यो नि भन्ने लाग्छ । तर मलाई मात्र सेवा गर्ने अरु सेवक बनुन् भन्ने उहाँको धारणा छ । आफूले भनेको काम भन्ने बित्तिकै भएन, उहाँको चाहना मात्र  पुरा भएन भने यति घृणित, अपमानित र असभ्य भाषाले गाली गलौज र दुव्र्यवहार गर्नु हुन्छ नि । कहिलेकाहीं त  मनमात्र होइन, शरीर दुख्ने गरीको हर्कत समेत गर्नु हुन्छ । 

‘हेर्नु न’ भन्दै पाखुरामा भएको नीलो र रातो डोब देखाइन् । यही हो मैले भोग्ने गरेकी घाउहरू ।  दुई महिना भयो लडेर ठोकिएको भनेर ३ टाँका लगाएँ निधारमा हेर्नु न । यी मेरो दैनिकी हुन् । राम्रो परिवार, राम्रा मान्छे, आर्थिक हैसियत राम्रो भएको र आफ्नो कम्पनी भएको मान्छे भावना बुझ्ने होला भनेर विवाह गरें तर त्यस्तो होइन रहेछ । अहिले ती बाहिर देखिने सबै कुरा मैले यी यस्तो भित्र खपेर बाहिर राम्रो नै देखाउनु छ ।

‘दूधे बालक छ, अहिले त थाहा पाउँदैन बाबुले, पछि पनि यस्तै भयो भनें । इज्जत के होला ? उनी अश्रुमिश्रित स्वरमा भन्दै थिइन्, ‘यति हुँदा पनि म उहाँको धर्मपत्नी हुँ । मैले उहाँको इज्जत, प्रतिष्ठा र सम्मानका लागि सहनु पर्छ भनेर आजसम्म कसैलाई भन्न सकेकी थिइन । मेरो  विवाह हुने भए पछि रातभरी आमाले मलाई घर राम्रो पाइस् नानी, ज्वाइ पनि असल हुनुहुन्छ । तर, लामो जिन्दगी बिताउने व्यवहार हो, तलमाथि केही भए, समझदारीमा कहिलेकाहीं केही भए सहनशील हुनुपर्छ, घरको कुरा बाहिर ल्याउनु हुन्न, आफ्नो परिवारको इज्जत राख्नुपर्छ भनेर सिकाउनु भएको सम्झेर  यो मेरो संस्कार र दायित्व हो भनेर सम्हालिएकी  हुँ । 

उहाँ बाहिर त्यस्तो देखिनु हुन्न । हामी दुईलाई हेर्नेले उहाँलाई त्यस्तो अशिष्ट र असभ्य मान्छे छ र यो ? भन्ने सम्झन्छन् । धेरैले यो कुरा स्वीकार गर्नै सक्दैनन् । उहाँ देखिँदा सभ्य, सुसंस्कृत र सुन्दर पनि हुनुहुन्छ तर उहाँको सधैँ देखिने वास्तविक रौद्र रूपले मेरो सातो जाने गर्छ । 

सासुआमालाई चाहिँ थाहा छ । उहाँ भन्नु हुन्छ , ‘कसरी जिन्दगी काट्छेस् सन यस्तो मुर्खसंग बाबै ।’  

त्यै पनि सासुलाई भन्ने गर्छु, ‘आमा, हजुरले सानोबाट त यति ठूलो बनाउनु भयो । मैले त ठूलो मान्छे पाएको छु । एकदिन त पक्कै माया गर्नुहुन्छ नि,’ भनेर हाँसेर टारी दिन्छु । 

उहाँको छोरोले दिएको सास्ती, सासुले गर्ने माया र स्नेहभावले गर्दा अझ सहने शक्ति दिन्छ । तर, कहिलेकाहीं त विद्रोह गरेर निस्की जानु जत्तिकै हुन्छ ।

उनी रोकिन सकेकी छैनन्, संसारका राम्रा जोडी देख्नेले हामीहरूलाई हेरेर  यसरी नै बुझ्छन् । देख्नेहरुले देखेर बुझ्छन्, कति राम्रो जोडी भनेर । के गर्नु भोग्नेले फरक भोगिरहेकी छु । यी सबै कुराहरूलाई आफ्नो सहनशीलताको आदर्श बन्ने सामाजिक दायित्वभित्र आफूलाई पहिलो आदर्श पत्नी र आफ्नो भूमिकाले आफ्नो श्रीमान्लाई असल पात्रको पहिचानबाट चिनाइरहेकी छु । 

कस्तो संस्कार हो यो, ‘पाले पुण्य’ आफै पालिएकी छु, ‘मारे पाप’ मार्न पनि सक्छन्, मारे भने उनीहरुले नै पापको भागेदार हुनुपर्छ, तिमी मारिन पनि सक्छ्यौ । यही संस्कृतिले बाँधिएकी म एक पात्र हुँ  ।  

उनी वेदना सुनाउँदै थिइन् । म भनेँ आफू भित्रको विद्रोही भावमा डुबिसकेछु । कति महिलाहरु आफ्नो खुट्टामा उभिएर पनि कसैको घरमा आउनु भनेको उसैले पालेको जस् पाइरहेको हुन्छ । उनी पनि सरकारी सेवामा आबद्ध भएर पनि कसैको अधिनस्थ भएर पीडा लुकाएर भित्रबाट अरु कसैले संस्कारी भनी दिइका लागि हँसिलो, फुर्तिलो भएर विवाह भई आएको घर, परिवार, सामाजिक र सार्वजनिक भूमिका कुशलतापूर्वक निर्वाह गर्नै पर्दछ ।

उनको आदर्श बन्ने भूमिकालाई जीवन्त राख्न कहिल्यै नभनेका भावहरू पोखिए ।  कहिल्यै नरोएर नपोखिएका आँसु र कहिल्यै नहतासिएका आवेग र संवेगका हतासिएका वेगबाट यी मनका कुरा यति पोखिए । 

...

उनी एक पात्र होलिन्, उनी जस्ता भोगाइका गुप्त कथा धेरैले लुकाएका छन् । यी जे जति उनले मसंग भनिन्, त्यसको उपचारका वैकल्पिक बाटोहरूका बारेमा कुरा गर्यौं । कुनै पाटो पनि तत्काल उनलाई उपयुक्त भएन । 

उनी भनिरहेकी थिइन्, ‘मनको कुरा बिसाउन पाएँ, मन् हलुका भयो । यति हलुका मनले अब मलाई निकै समय उहाँका सबैखाले हर्कत खप्ने तागत बढाएँ । यी सबै मेरो नियति नै ठानेको छु, कहिलेसम्म भोग्नुपर्ने हो । कसैलाई नभनी दिनु है । मैले भारी बिसाउने चौतारी ठानेर मनको भारी बिसाएकी हुँ ।’ 

उनको भारी बोक्ने सामथ्र्य म मा उनले देखिन् र त उनले बोकाईन् तर म पनि धेरै दिन उनको त्यो गरुंगो भारी बोकेर बसिरहन कहाँ सक्थें र ? निकै प्रश्नहरूले मलाई उनले बोकाएको त्यो भारी म माथि थपिँदै गइरहेको थियो ।

एउटा राज्यको सेवक, राज्यको पहिचान खुल्ने पोशाकभित्र बाँचेकोको उत्पीडन  उनले यसरी  सुनाइन् । यी उनीमाथि उनका श्रीमान्ले  गरेका सबै हर्कत, घरेलु हिंसाभित्र पर्ने कुरा राज्यले नै बनाएको कानुनले व्याख्या गरेको छ । यद्यपि हिंसाको सुनुवाई गर्नुभन्दा पनि परिवारको इज्जत र प्रतिष्ठाका लागि भित्र कुण्ठाहरु बोकेर बाहिर हाँसेर भित्रभित्रै सहन क्षमता बढाइरहेका छन्, यस्ता सचेत पात्रहरुले । परिवारको प्रतिष्ठाका लागि उत्पीडन सहनुको एउटा हद होला । हद नाघे पछि के हुन्छ ?      

थुप्रै प्रश्नहरूको उत्तर उनले मात्र होइन, यो समाजमा बाँचेको सहनशीलताका रोल मोडेलहरुले दिनुपर्छ ।

...

बहिनी, तिमी होइन, तिम्रो मन देखाएको छु है, यहाँ मैले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप