बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

श्रृंखलाबद्ध कविता : काँच

शनिबार, ०९ पुस २०७९, ०६ : ०१
शनिबार, ०९ पुस २०७९

काँच–१
धेरै तातो नहाल्नु
फुट्छ
टुक्र टुक्रा हुन्छ सपना
पौरखी नेपालीले पौरख बेचेर 
भाकेको  रङ्गीन सपना ।
तर सपनाको पनि हुन्छ र रङ्ग
कि बेरङ्ग हुन्छ सपना
पानी जस्तै
कि काँच जस्तै हुन्छ सपना 
रङ्गीन सपना देख्न 
पल्केका युवा घामहरु
पस्दैछन् खाडीतिर
तर पाउलान् के उनेरले 
रातको त्यो अँध्यारोमा चन्द्रमा ?
पाउँछन् तर पटक पटक टुक्रेर घाम
टुक्रा टुक्रा हुनुपर्छ
अनि, 
प्रत्येक टुक्रामा लेखिनु पर्छ नाम
चन्द्रमा ।
...
अँ, तातो विचार पसेर अहिले 
टुक्रा टुक्रा भएको छ कविता
म बटुल्दैछु
भूपीहरुलाई
देवकोटाहरुलाई
कविताको यी टुक्राहरु लगेर फ्याँक्नेछु 
देवालको च्यापमा ।
तर हातैमा नआउने टुक्रा 
खुट्टामा बिझे स्याप्टिक हुन सक्छ
वीपी, मदन र प्रचण्डहरु बिझेर 
भएको स्याप्टिक
निको पार्न
धाँउदैछ नेपाल अहिले दुबई कतारहरु
हयान्डल विथ केयर
भित्र फुट्ने सामग्री छ
काँच ।

काँच–२
रङ्गहीन काँचले रङ्ग पक्डेको छ यसपटक
विदेशी ब्राण्डको रङ्ग
रा...तो
रातो रङ्गको नशाले टिल्ल छ विश्व 
रङहीन भएर नै काँच छेपारो जस्तो छ
देशी दूध परेर त्यही काँच सेतो भो अहिले
काँच
गाउँ हो, देश हो
विश्व हो काँच 
ट्रेड सेन्टर र होटेल ताज हो काँच
तर,
काँच सडक जस्तो विल्कुल छैन
जो गाउँ पुग्दै पुग्दैन ।
काँच त गाउँ गाउँमा सजिएको छ, 
अनुहार भरी
आमाहरुको विश्वासको सिँउदो भरी
सानुमति
स्कुल जाँदा बाटेको चुल्ठो भरी 
अनि,
ठुलीहरुले हातभरी सजाएको 
हाम्रो रङ्गीन मानचित्रहरु 
फुट्दैछ्न आफैसंग ठोक्किएर
भो, रोकिदेउ यो फुटाइ
किनकि बुद्ध र अशोकहरुले देखेका छैनन् 
धुलोले फुस्रै भएको हाम्रो अनुहार
साइँली तयार राख रुमाल 
उनेरको चश्मा 
पुछि दिनुछ अब हाम्ले ।

काँच–३
मेरो चिसो हात
जबरजस्ती उसको न्यानो स्तनमा पर्दा
कुनै नौलो भएन उसको कुमारीपनलाइ 
बारम्बार बलात्कार हुने यो देशमा

संविधानहरु दिनदहाडै बलात्कृत हुन्छ यहाँ 
न्यायलयको चस्माको पावर 
कम भएर हो कि ज्यादा ?
देख्नै मान्दैन देशको बलात्कृत अनुहार
देश काँच हो
लोकतन्त्र हो काँच
अनि 
कुमारी छोरी हो काँच
फुट्न कति बेर पनि लाग्दैन 
मन्दिरहरुको यो देशमा ।

देश लोकतन्त्र र कुमारी छोरी
मान्छेको संवेदनाको नाम
संवेदनहीन छ मान्छे 
तर,
तातो चिसो बुझ्दैन मान्छे
आँसु, हाँसो बुझ्दैन मान्छे
खुन, पसिना बुझ्दैन मान्छे
यसैले त देश बुझ्दैन मान्छे ।

बरु रुख बुझ्छ
घाम बुझ्छ
अरु के के बुझ्छ
तर माटो र देश बुझ्दैन मान्छे ।

कृष्णले बुझेको माटो, 
उद्धवले बुझेन
माटो प्रेम हो
प्रेम समवेदना हो 
अनि समवेदना काँच हो
फुट्न कति बेर लाग्दैन
कंसहरुको यो विश्वमा ।

 –शिक्षक, श्रीकृष्णाश्रम मावि कन्याम, इलाम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप