‘स्टिल उद्योगलाई स्वदेशी कच्चा पदार्थ पर्याप्त’
२ अर्ब ५० करोड रुपैयाँ लगानीमा स्थापना भएको स्वस्तिक रोलिङ्ग मिल पूर्ण रुपमा संचालन गर्ने तयारी गरिरहेको छ । हाल कूल क्षमताको ६० प्रतिशत उत्पादन गरिरहेको स्वस्तिक रोलिङ मिलले कच्चा पदार्थ (स्पन्ज)मा आधारित ५०० मेट्रिक टन क्षमताको मिल सञ्चालनमा ल्याएको हो ।
सुनसरीको दुहवी नगरपालिका–१ मा स्थापना भएको उक्त मिलले कच्चा पदार्थमा आधारित उद्योगबाट बजरंग ब्राण्डको उत्पादन बजारमा पठाउन थालिसकेको छ । मिलले ७० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर टिएमटी छड, बिलेट, एङ्गल, च्यानल र आई बिमको उत्पादन सुरु गरेको छ ।
केही समय अघिसम्म बिलेड, एङ्गल, च्यानल र आइ बिममा पूर्णतया भारतीय उत्पादनमा निर्भर रहेकोमा पछिल्लो समय नेपाल यी उत्पादनमा आत्मनिर्भर हुने अवस्थामा पुगेको सो मिलका डाइरेक्टर रमेश राठी बताउँछन् । भारतबाट अर्ध तयारी वस्तु ल्याउँदा भन्दा कच्चा पदार्थमा आधारित उद्योगबाट उत्पादन गर्दा राज्यलाई राजस्व आम्दानीमा फाइदा पुगेको र उपभोक्तालाई पनि सहुलियत भएको उद्योगी राठीले बताए ।
भारतको प्रशिद्ध टाटा कम्पनीबाट उत्पादन भएको गुणस्तरीय स्पन्ज आयात गरी प्रयोग गरिएकोले आफ्नो उत्पादन गुणस्तरीय रहेको राठीले दाबी गर्छन् । प्रस्तुत छ, राठीसँग गरिएको कुराकानीको सम्पादित अंशः
नेपालमा स्टिल उद्योगको अहिलेको अवस्था कस्तो छ ?
नेपालमा स्थापना भएका स्टिल उद्योगमध्ये ९० प्रतिशतभन्दा बढी उद्योगले आफ्नै भट्टी राखेर पगाल्ने उद्योगमा रुपान्तरण भइसकेका छन् । मेरो हिसावले ७५ प्रतिशत चालु भइसकेका छन् र १५ देखि २० प्रतिशत चालु हुने अवस्थामा छन् । दुई–चार वटा युनिट बाहेक ९० देखि ९५ प्रतिशत उद्योगले आफै उद्योग लगाएर बिलेड उत्पादन गर्ने अवस्थामा पुगिसकेका छन् । पूर्वमा रहेका उद्योग तथा काठमाडौंका, भैरहवाका ठूला स्टिल उद्योगहरुमा पनि बिलेड उत्पादनको लागि नयाँ प्लान्ट स्थापना भइसकेको छ ।
सरकारले बिलेड उत्पादन गर्ने उद्योगलाई व्यापक सहुलियत दिँदा पनि डण्डीको मूल्य समायोजन नभएको गुनासो थियो । अहिलेको अवस्था के हो ?
मूल्यको कुरा गर्दा आजभन्दा ९ महिना अगाडि उद्योगीको आन्दोलन सुरु भएको थियो बिलेड र फर्निस युनिटसँगको आन्दोलन थियो । त्यतिखेर प्रतिकिलो भ्याट बाहेक १०५ रुपैयाँ प्लस भ्याटको मूल्य थियो । आज ८८ रुपैयाँ प्रतिकिलो प्लस भ्याटमा उपभोक्ताले डण्डी पाइराखेका छन् । यो झण्डै २० प्रतिशतको गिरावट हो । किनभने सबै युनिटहरु प्रतिस्पर्धामा आइसकेका छन् । यसबाट उपभोक्तालाई धेरै लाभ भइरहेको छ । आज कसैले बिलेड बाहिरबाट ल्याउँछ भने त्यो बिलेडलाई तताउने खर्च नै २ देखि ३ रुपैयाँ प्रतिकिलो पर्छ । यसपटक हामीले तातो माल नै लिएर आएको कारण त्यो मूल्य सेभ भयो र उपभोक्ताले फाइदा पाएका छन् ।
नेपालमै पाइरहेको स्क्र्याबबाट बन्ने डण्डीको गुणस्तर कस्तो छ ? अनि तपाईहरुले बाहिरबाट सस्तोमा बिलेड ल्याएर मालको गुणस्तर कमजोर बनाएको कुरा पनि छ नि ?
म तपाईमार्फत के जानकारी गराउँछु भने हामीले टाटा स्टिलबाट ल्याउँछौं । टाटा भनेको विश्वको प्रतिष्ठित कच्चा पदार्थ उत्पादन गर्ने कम्पनी हो । हामी त्यहीँबाट कच्चा पदार्थ आयात गरिरहेका छौं । तपाईलाई प्रमाण चाहिन्छ भने आयात गरेको कागज पनि देखाउन सक्छौं । अर्को कच्चा पदार्थ भनेको स्क्र्याब हो । त्यो भनेको फलाम हो । फलामबाट फलाम नै बन्ने हो । त्यसबाट कुनै कमशल वस्तु उत्पादन हुँदैन । यहाँको कच्चा पदार्थ राखेर मात्रै उत्पादन गर्दा गुणस्तर नआउने भएको कारण हामीले टाटाको स्पोन्ज र यहाँको स्क्र्याबको समिश्रणबाट माल उत्पादन गर्छौं । त्यसो गर्दा गुणस्तर र निखार आउँछ । त्यो खाली स्क्र्याप हालेर बनाउँदा पनि केही हुँदैन । सुनबाट सुन नै बन्ने हो, फलामबाट फलाम नै बन्ने हो । तर, स्पन्ज आइरन हालेर बनाउँदा राम्रो गुणस्तर हुन्छ ।
नेपालमा स्क्र्याब कच्चा पदार्थको उपलब्धताको अवस्था चाहिँ कस्तो छ ?
भारतबाट स्क्र्याब आउँदैन । नवलपरासीमा दुईवटा फलाम खानीहरु पत्ता लागेको छ र कम्पनी पनि दर्ता भएको छ । उद्योग मन्त्रालयमा धौलादी फलाम खानी पनि स्थापना भइसकेको छ । त्यसको टेस्टिङ पनि भइसकेको छ । म सरकारलाई अनुरोध गर्न चाहन्छु । त्यो फलाम खानीलाई तुरुन्त प्रक्रिया अगाडि बढाएर चालू गरौँ । ता कि नेपालकै कच्चा पदार्थ नेपालका उद्योगहरुले प्रयोग गर्न पाउन् ।
अर्को कुरा भनेको खाली स्क्र्याबले मात्रै हामी युनिट चलाउँदैनौं । हामीले कच्चा पदार्थ राम्रो मिसाउँदा समिश्रणबाट राम्रो क्वालिटी निस्किन्छ । त्यो हिसावले ७० उद्योग चालु अवस्थामा रहँदा अहिले हामीले चाहिने जति स्क्र्याब नेपालमै पाइराखेका छौं । अहिले स्क्र्याब आयात गर्नुपर्ने अवस्था छैन । हामीले लोकल कच्चा पदार्थ नै पाइराखेका छौं ।
नेपालमा पछिल्लो समय सिमेन्ट र स्टिल उद्योगहरु धमाधम खुलिरहेको छ । यस्ता उद्योगमा भएको आकर्षण चाहिँ के हो ? र स्टिल उद्योगको भविष्य कस्तो छ ?
यहाँको माग अनुसार मालवस्तु अपुग भएका कारण यहाँ सिमेन्ट र स्टिल उद्योग आएका हुन् । अहिले भने निर्माणका काम केही रोकिएको छ । अब विस्तारै एमसीसीमार्फत ट्रान्समिसन लाइनको ठूलो काम संचालनमा आउँदैछ । त्यसमा पनि बजरंग स्टिलको सामान धेरै प्रयोग हुँदैछ । त्यहाँ ५० अर्बको टेण्डर खुल्दैछ ।
अर्को कुरा, एसियन हाइवेको कुरा पनि आइरहेको छ । टेण्डर खुल्दैछ । त्यसमा पनि धेरै पुल पुलेसा बन्दैछन् । अरुण दोस्रो, तेस्रोलगायत अन्य जलविद्युत् आयोजनाको निर्माणको टेण्डर प्रक्रियामा छन् । त्यसबाट यो प्रदेशमा भएका धेरै उद्योगले राहत पाउनेछन् । अब दुईचार महिना लाग्ला तर राम्रो परिस्थिति बन्दैछ । एंगल चेन्जर पनि भारतबाट अरबौंको आयात भइरहेको थियो । अहिले नेपालमै हामीले उत्पादन गरिरहेका छौं । आयात लगभग बन्द भइसकेको छ । जुन आइटम बनाउन सकिएको छैन वा बनाउने प्रक्रियामा छौं, त्यस्ता आइटम मात्रै आयात भइरहेको छ ।
डण्डी निर्यातको अवस्था चाहिँ के हो ? केही समय अगाडि निक्कै हल्लाखल्ला आएको थियो ?
निर्यातमा हामी प्रतिस्पर्धी हुँदैछौं । सरकारले अनुदान घोषणा गरेको छ । त्यससम्बन्धी कार्यविधि पनि बनाइसकेको छ । हामीले सरकारसँग माग गरेको के हो भने जुन रेटमा भारतमा विद्युत् निर्यात भएको छ, त्यही रेटमा यहाँको निर्यात गर्ने उद्योगले पनि त्यही रेटमा पाउनु पर्छ । त्यस्तो अवस्थामा नेपालको व्यापार घाटा कम गर्न सक्छ । निर्यात गर्ने उद्योगले भारतमै बिजुली बेचे जत्तिकै पाएको खण्डमा यहीँको उत्पादन फस्टाउँछ र हामी निर्यात गरेर अझै सक्षम हुन्छौं ।
सरकारले विकास बजेट खर्च नगर्दा निर्माणसँग सम्बन्धित उद्योगहरु संकटमा आएको कुरा आइरहेको छ । आर्थिक मन्दीको कुरा पनि छ । खास कुरा के हो ?
पछिल्लो ५ वर्षको इतिहास हेर्दा सरकारको विकास खर्चको अवस्था उस्तै छ । तर, एक डेढ वर्षदेखि मात्रै मन्दीको गीत गाइरहेका छौं । विकास खर्च भनेको पहिलेदेखि नै यस्तै छ । असारे विकास भयो, विकास भएन भनेर हामी भनिरहन्छौं । आज मन्दी आयो, अलिकति सुस्त गतिमा छ । अर्थतन्त्र समस्यामा छ । तर, अब लयमा फर्किन्छ भन्ने कुरा हामी मिडियाबाट सुनिरहेका छौं । निक्षेप जम्माको अवस्था पनि सुधार हुँदैछ । ब्याजदर घटाउने कुरा पनि आइरहेको छ । त्यसले पक्कै पनि लाभ हुन्छ । यो उतार चढाव सबै उद्योगमा आउँछ । अहिले विश्व नै आर्थिक मन्दीमा छ । दुईचार महिनामा सुधार हुन्छ, यसमा कुनै दुईमत छैन ।
सरकारको वर्तमान अर्थनीति, राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति र अहिलेको चालु पुँजी कर्जा निर्देशिकाले उद्योग क्षेत्रमा कस्तो प्रभाव पार्छ ?
अहिले चालु पुँजी निर्देशिका अहिलेसम्म लागू भएको छैन । लागू हुने तर्खरमा छ । हामी व्यापारीको आन्दोलन तपाईहरुले पनि सुनिरहनु भएको छ । हाम्रो भनाइ छ कि चालु पूँजी कर्जालाई समय दिनुपर्छ । एकैचोटी ल्याएर यस्तो आर्थिक मन्दीको समयमा उद्योगी व्यापारीलाई च्याप्नु भएन । जसरी व्यक्तिगत कर्जामा सरकारले २ करोडबाट ५० लाखको सीमा चार वर्षमा ल्यायो । त्यसैगरी यो चालू पूँजी कर्जालाई पनि चार वर्ष, तीन वर्षको अवधि दिनुपर्छ । राम्रो कुरा ल्याउँदा हामीलाई नै फाइदा छ । राज्यको नीतिले अहिले स्टिल उद्योगलाई भने राम्रो गरेको छ । त्यसलाई कार्यान्वयन गर्न केही समय लाग्ला । तर, यो लागु हुँदा राम्रो हुन्छ । अहिलेको ब्याजदरले भने अत्याधिक च्यापेको छ । ब्याजदर एकल अंकमा आउनु पर्छ । यो हाम्रो उद्योगी व्यापारीको माग हो । यसमा नआउँदा हामी संकटमा छौं । यसले उपभोक्तालाई पनि समस्यामा पारेको छ । यदि त्यसमा करेक्सन भए उपभोक्ताले पनि सस्तोमा पाउने र उत्पादन पनि बढ्ने अवस्था छ ।
तपाईको उद्योगमा कति जनशक्ति छन् ? भारतीय कामदार छन् कि छैनन् ?
जनशक्तिको कुरा गर्दा अहिले हाम्रो उद्योगमा तीन सय जना कामदार छन् । भोलिका दिनमा हामीलाई ५ सयदेखि ६ सय जनशक्ति चाहिन्छ । यही महिनाबाट हामी मिल पूर्ण रुपमा संचालन गर्ने लक्ष्य लिएका छौं । अहिले हामीले ६० प्रतिशत मात्रै उत्पादन गरिरहेका छौँ । ४० प्रतिशत उत्पादन बढाउने अवस्था छ । हामीसँग जुन डिमाण्ड आइरहेको छ, त्यो अहिले दिन सकेका छैनौं । त्यसैले पनि उत्पादन बढाउने योजनामा हामी छौं । त्यसो हुँदा जनशक्ति ६ सयको हाराहारीमा पुग्छ । हाम्रो उद्योग सामाजिक सुरक्षा योजनामा पनि समावेश भइसकेको छ । सबै कर्मचारीलाई हामीले न्यूनतम पारिश्रमिक दिनै पर्छ । हाम्रो उद्योगमा काम गर्ने जनशक्तिमध्ये २०–२५ जना जनशक्ति यहाँ नभएको कारण भारतबाट ल्याउनै पर्ने बाध्यता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने