मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसबाट राष्ट्रपतिमा गोपालमानको पनि दौड

शुक्रबार, ०८ पुस २०७९, २२ : ३०
शुक्रबार, ०८ पुस २०७९

नेपाली कांग्रेसभित्र राष्ट्रपतिका लागि हानथाप देखिएको छ । कांग्रेसका वरिष्ठ नेताद्वय रामचन्द्र पौडेल र गोपालमान श्रेष्ठ राष्ट्रपतिका आकांक्षी देखिएका छन् । प्रधानमन्त्रीमा दाबी गरेका पौडेल संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवाको प्रस्तावक बसे ।

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित भएपछि अहिले पौडेल प्रधानमन्त्रीको रेसबाट स्वतः बाहिरिएको अवस्था छ । देउवाले पौडेल र श्रेष्ठ दुवै जनालाई राष्ट्रपतिको आश्वासन दिएको कांग्रेसवृत्तमा चर्चा छ ।

कांग्रेसले समानुपातिक सांसद छनोट गर्दा जनजाति कलस्टरको १ नम्बरमा रहेका श्रेष्ठ छुटेका थिए । कांग्रेसका ३२ जना समानुपातिक सांसदमा तीन पुरुषले मात्र अवसर पाउँदा सहमहामन्त्री जीवन परियार, प्रवक्ता प्रकाशशरण महत र नेता विमलेन्द्र निधिको स्थान सुरक्षित भएको थियो । त्यतिबेला देउवाले आफूलाई आउने अपर्च्युनिटीमा फर्स्ट प्राइरिटी दिन्छु भनेको श्रेष्ठको दाबी छ ।

उनी भन्छन्, ‘सभापतिले तपाईको आवश्यकता अन्तै छ । आउने अपर्च्युनिटीमा फर्स्ट प्रायोरिटी दिन्छु भन्नुभएको छ ।’ तर कांग्रेस संसदीय दलको निर्वाचनमा देउवाका प्रस्तावक बसेका पौडेललाई भावी राष्ट्रपतिको रुपमा हेरिएको छ ।

१४ औं महाधिवेशनमा तटस्थ बसेर देउवालाई सहयोग पुर्याएका पौडेल अहिले प्रस्तावक नै बने । संसदीय दलमा गगन थापा समूहका केही सांसदको मत देउवालाई दिलाउन पौडेलले भूमिका खेलेका थिए । प्रधानमन्त्रीको आकांक्षा राखेका पौडेलले राष्ट्रपति पदको आश्वासनमा देउवाको प्रस्तावक बसेको कांग्रेसका एक पदाधिकारी बताउँछन् ।

उनले भने, ‘गठबन्धनभित्र कांग्रेसले राष्ट्रपति पाउँदा रामचन्द्र दाइ हुनेमा कुनै शंका रहेन । प्रधानमन्त्री बन्छु भन्दै हिँड्नु भएको उहाँ त्यसै प्रस्तावक बस्नुभएको छ र ?’ उनका अनुसार देउवामाथि पनि पौडेललाई न्याय गर्नुपर्ने दबाब छ ।
राजनीतिका विभिन्न घुम्तीमा दरिलो साथ दिएका श्रेष्ठले राष्ट्रपतिमा दाबी गरेपछि देउवालाई सकस हुने देखिन्छ । देउवाले २०५९ मा पार्टी विभाजन हुँदा श्रेष्ठले देउवालाई साथ दिएका थिए । देउवा नेतृत्वको तत्कालीन कांग्रेस प्रजातान्त्रिकमा उनी उपसभापति बने । २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले देउवालाई अपदस्थ गरेर जेल हालेका थिए  ।

त्यसपछि भएको कांग्रेस प्रजातान्त्रिकको ११ औं राष्ट्रिय सम्मेलन गरेर कार्यवाहक सभापति श्रेष्ठले जेलमा रहेका देउवालाई सर्वसम्मत सभापति बनाएका थिए । २०६४ मा कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकता हुँदा श्रेष्ठ एक नम्बरको उपसभापति बनेका थिए ।

पछिल्लो समय कांग्रेसको संगठन विभाग प्रमुख र निर्वाचन परिचालन समितिको संयोजकमा रुपमा देउवाको मिसन सफल बनाउन भूमिका खेलेको उनको दाबी छ। श्रेष्ठ नेतृत्व गरेको आम निर्वाचनमा कांग्रेस मुलुकको पहिलो पार्टी बनेको छ । निर्वाचन परिचालन समितिका संयोजक नै सांसदबाट बन्चित भएकाले राष्ट्रपति आफूले पाउने श्रेष्ठको बुझाइ छ ।

लोकतन्त्रकका लागि ८ वर्ष जेल जीवन विताएका श्रेष्ठ देउवाले गुन तिर्नेमा आशावादी देखिन्छन् । ६२ वर्षदेखि सक्रिय राजनीतिमा रहेका श्रेष्ठ राष्ट्रपति भएर विदा हुन चाहन्छन् । कांग्रेसमा आफू देउवा र पौडेलकै ब्याजी भएको श्रेष्ठको भनाइ छ ।

‘देउवा डडेल्धुराबाट काठमाडौं आउनुभयो । म पनि स्याङजाबाट काठमाडौं आएँ । त्रिचन्द्र कलेजमा सँगसँगै पढेर अगाडि बढेका हौँ,’ श्रेष्ठ विश्वास व्यक्त गर्छन्, ‘मैले देउवाजीलाई राजनीतिक हरेक मोडमा साथ दिएको छु । राष्ट्रपतिका विषयमा उहाँ अब मेरो पक्षमा उभिनुहुन्छ ।’

पार्टीको कार्यवाहक सभापति र उपप्रधानमन्त्री भइसकेकाले अब आफ्ना लागि राष्ट्रपतिको पद उपयुक्त ठान्छन् श्रेष्ठ । ‘मधेसको पनि राष्ट्रपति भइसकेको छ । खस आर्यबाट महिला पनि राष्ट्रपति भइसक्यो । अब पालो जनजातिको हो,’ उनी भन्छन् । मुलुकमा २९ प्रतिशत जनजाति रहेको भन्दै त्यसको सम्मानका लागि आफू राष्ट्रपति हुनुपर्ने श्रेष्ठ बताउँछन् ।

प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपति बनाउन नहुने भन्दै कांग्रेसमा आफू नै मुख्य दाबेदार भएको श्रेष्ठको जिकिर छ । उनले भने, ‘सांसदलाई राष्ट्रपति बनाउनु हुँदैन । सांसदलाई राष्ट्रपति बनाए फेरि चुनावमा जानुपर्छ ।’

सभापति देउवाले सांसदलाई राष्ट्रपति नबनाउने बताएको श्रेष्ठको दाबी छ । गैर सांसदबाट राष्ट्रपति बनाउँदा श्रेष्ठ देउवाको छनोटमा पर्न सक्ने सम्भावना बढी छ। गठबन्धनभित्र पनि आफू स्वीकार्य व्यक्ति भएको श्रेष्ठ बताउँछन् ।

श्रेष्ठ आफूलाई १२ बुँदे समझदारीको हस्ताक्षरकर्ता दाबी गर्छन् । उनले तत्कालीन समयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईसँग दिल्लीमा गएर वार्ता गरेका थिए ।

तत्कालीन कांग्रेस प्रजातान्त्रिकबाट ०६२–०६३ जन आन्दोलनमा श्रेष्ठले नेतृत्व गरेका थिए । तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले महासचिव माधव नेपालसँग आफूले पनि जनआन्दोलनको नेतृत्व गरेको उनको दाबी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप