शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा संसदीय दलको नेता चयनमा दलहरु उदासीन, को–को छन् आकांक्षी ?

शुक्रबार, ०८ पुस २०७९, १४ : ५९
शुक्रबार, ०८ पुस २०७९

 लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरु संसदीय दलको नेता चयनमा उदासीन देखिएका छन् । निर्वाचन परिणाम घोषणा भएको लामो समयसम्म पनि उनीहरु संसदीय दलको नेता छान्न पहल गर्न सकेका छैनन् ।

लुम्बिनी प्रदेशसभामा सबैभन्दा ठुलो दल एमालेले संसदीय दलको नेता कहिले चयन गर्ने भन्ने अझै टुङ्गो गरेको छैन । प्रदेशसभा सदस्य तथा एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले शपथ ग्रहण गरेपछि पनि संसदीय दलको नेता चयन हुन सक्ने बताए ।

उनले रातोपाटीसँग भने, ‘संसदीय दलको नेता चयन कहिले हुन्छ भन्ने अझै टुङ्गो छैन तर १५ गतेसम्म छानिन्छ होला ।’ एमालेमा संसदीय दलको नेता बन्न भोजप्रसाद श्रेष्ठ, लीला गिरी, भूमिश्वर ढकाल, चेतनारायण आचार्य, विष्णु पन्थीले आन्तरिक तयारी गरेका छन् । एमालेको लुम्बिनी प्रदेशसभामा प्रत्यक्षमा १८ र समानुपातिकमा ११ गरी २९ सिट छ ।

नेपाली कांग्रेसले लुम्बिनी प्रदेश समितिको पार्टी बैठकपछि मात्रै संसदीय दलको नेता चयन गर्ने छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले ११ गते पार्टीको प्रदेश समिति बैठक बस्ने र त्यसले निर्वाचन कमिटी बनाएर सम्भवतः १५÷१६ गते सम्म संसदीय दलको नेता चयन गर्ने बताए ।

नेपाली कांग्रेसमा संसदीय दलमा ४ जना आकांक्षी छन् । रुपन्देहीका अब्दुल रज्जाक, पाल्पाका वीर बहादुर राना, दाङका डिल्लीबहादुर चौधरी, राजु खनाल आकांक्षी हुन् । यीमध्ये राना बाहेक अरू तीन जना संस्थापन पक्षका हुन् । नेपाली कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १० सिट ल्याएको छ ।

लुम्बिनी प्रदेशमा तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रले भोलि बस्ने बैठकबाट संसदीय दलको नेता चयनबारे निर्णय गर्ने बताइएको छ । माओवादी प्रदेश सांसद तुलाराम घर्तीले भोलि बस्ने बैठकले संसदीय दलको निर्वाचनको मिति तय गर्ने रातोपाटीलाई बताए । उनका अनुसार १५÷१६ गतेभित्र संसदीय दलको नेता टुङ्ग्याइने छ । लुम्बिनी प्रदेशमा माओवादी प्रत्यक्षमा ५ र समानुपातिकमा ४ गरी ९ सिट छ ।

माओवादीबाट जोग बहादुर महरालाई संसदीय दलको नेता बनाउने निश्चित जस्तै छ । सांसद घर्तीले भने, ‘हामीमध्ये सिनियर महराजी नै हो, उहाँलाई बनाइन्छ होला ।’

लुम्बिनी प्रदेशसभा सदस्यको शपथको पनि टुङ्गो लाग्न बाँकी छ । पुस १५ देखि १९ गते बीचमा सांसदहरुको शपथ गराउने तयारी भइरहेको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप