मातृभाषामा शपथ लिन सांसदहरू किन हिच्किचाए ?
निर्वाचित प्रतिनिधि सभाका सदस्यहरूले शपथ लिने क्रममा मातृभाषाको उपहास भएको छ । संसद् सचिवालयमा मातृभाषामा शपथका लागि दिएको निवेदनमा हुँदै नभएको मधेसी भाषा तथा प्रयोग र प्रचलनमै नरहेको संस्कृत भाषामा शपथ खाएपछि मातृभाषाको उपहास भएको हो ।
प्रतिनिधि सभामा निर्वाचित २७५ जना सांसद्मध्ये २६ जना सांसदले बिहीवार विभिन्न १४ मातृभाषामा शपथ खाए । संसद् सचिवालयले मातृभाषामा शपथ सम्बन्धमा प्रतिनिधि सभा सदस्य २०७९ सूचीमा उल्लेख भएअनुसार सांसदहरूले उर्दु, तामाङ, भोजपुरी, थारू, कोइ/कोयू, मैथिली, नेपाली खस, मधेसी भाषा, सन्थाली भाषा, नेपाल भाषा, अवधि, नेपाली÷मुस्लिम, हिन्दी र संस्कृत भाषामा शपथ लिएका थिए ।
मधेसी भाषामा शपथ लिएकोमा विरोध
जनमत पार्टीका ३ जना सांसद विनिता कुमारी सिंह, चन्द्रकान्त राउत र अनितादेवी साहले मधेशी भाषामा तथा राष्ट्रिय स्वतन्त्र पार्टीका असिम साहले नेपाली÷मुस्लिम भाषामा शपथ खाए ।
भाषा आयोगले निकालेको सूचीमा मधेशी भाषा, नेपाली÷मुस्लिम भाषा छैन । ‘संसद् सचिवालयका पदाधिकारीहरुलाई भाषा आयोगले निकालेको भाषा सूचीबारे जानकारी हुनुपर्ने हो । जुन भाषै छैन, त्यो भाषामा शपथ कसरी ख्वाइयो ?’ नेपाल संगीत नाट्य प्रतिष्ठानका प्राज्ञ धीरेन्द्र प्रेमर्षि भन्छन्, ‘सरकारले भाषा नीति बनाएर, आफै त्यसको बर्खिलापमा रहेको शपथ प्रकरणले देखाएको छ । भाषा आयोगले पनि यसबारे मौनता साध्नु किमार्थ उचित होइन ।’
मधेसी समुदायको प्रतिनिधित्व गर्नेले त्यस क्षेत्रमा प्रचलित भाषा प्रयोग गर्नुपर्थ्यो । उनीहरूले मैथिली, भोजपुरी, बज्जिका, अवधि या त्यहाँको अन्य कुनै भाषामा शपथ लिनुपर्थ्यो । जनमत पार्टीका अध्यक्ष डा सीके राउतले प्रतिनिधिसभा सदस्यको शपथ मधेसी भाषामा लिएपछि शुक्रबार उनको गृहजिल्ला सप्तरीमा पुतला जलाइएको छ । उनले शपथ लिएको मधेसी भाषाको कुनै दस्तावेज नरहेको भन्दै विरोध सुरु भएको हो ।
मैथिली साहित्य परिषदका अध्यक्ष सतिश कुमार दत्त, आईलभ मिथिला डटकमका अध्यक्ष विद्यानन्द यादव र मिलापका अध्यक्ष रमिला शाहले प्रेस विज्ञप्तए जारी गरेर राउतको विरोध गरेका छन् ।
उक्त विज्ञप्तीमा भनिएको छ, ‘भाषाको सूचीमा मधेसी भाषा कतै उल्लेख छैन । मधेसी भाषामा लिएको शपथ अवैध हो । राउतले मैथिली भाषीको अपमान समेत गरेका छन् ।’ डा राउत लगायतको शपथ खारेज गरी पुनः शपथ नगराए संघीय संसद सचिवालयविरुद्ध कडा आन्दोलन गर्ने उक्त संस्थाका पदाधिकारीले चेतावनीसमेत दिएका छन् ।
डा राउत चुनाव जितेको सप्तरी–२ मैथिली बोलिने क्षेत्र हो । मैथिली भाषाका अभियन्ता समेत रहेका प्राज्ञ धीरेन्द्र प्रेमर्षि भन्छन्,‘भाषाको नाममा यहाँ अराजकता मच्चाउने खेल सुरु भएको छ । यसबाट सबै सचेत रहनुपर्छ ।’
स्मरण रहोस्, डा राउत एक मधेस, एक प्रदेशका अभियन्तामध्ये एक हुन् । भाषा आयोगको सूचीकरणमा हुँदै नभएको मधेसी भाषा दर्ज गरी आफ्नो राजनीतिक अभियानको रंग उनले शपथ प्रकरणमा देखाएका छन् ।
प्रदेश २ को नाम मिथिला हुनुपर्ने तथा त्यहाँको भाषा मैथिली हुनुपर्ने धर्नामा सञ्जय साह टकलाले वम विस्फोट गराएका थिए । सो विस्फोटनमा केहीको ज्यान गएको थियो । उक्त ज्यान मुद्दामा सञ्जय अहिले पनि जेलमा छन् । मधेसी भाषामा शपथ खाने जनमत पार्टीकी एक सांसद अनितादेवी साह उनै सञ्जय साहकी बहिनी हुन् । एक मैथिलीभाषी अभियन्ता भन्छन्, ‘पहिले सञ्जयले मैथिलीभाषी अभियन्ताको धर्नामा विस्फोटन गराए । उनकी बहिनी, सीके राउत लगायतले अहिले मधेसी भाषामा शपथ खाई संसद भवनमा मैथिली भाषाउपर भाषिक विस्फोट गराएका छन् ।’
उता गोरखापत्र दैनिकमा उर्दु भाषाका पृष्ठ संयोजक रहेका अब्दुल सलाम खान भन्छन्, ‘भाषा आयोगमा नेपाली÷मुस्लिम भाषा सूचीकरण छैन । तर एक सांसदले नेपाली÷मुस्लिम भाषा उल्लेख गरेर शपथ लिएछन् । नेपाली मुस्लिमले उर्दु भाषा बोल्छन् भन्ने उनमा ज्ञान देखिएन । जथाभावी भाषाको नामकरण गर्नु ठिक होइन ।’
दलगत हिसाबले नागरिक उन्मुक्ति पार्टीमात्रै शपथमा भाषागत हिसाबले एकजुट देखियो । यस पार्टीका सांसदहरु अरुणकुमार चौधरी, रञ्जिता श्रेष्ठ चौधरी, गङ्गाराम चौधरी डंगौरा तथा यही पार्टी समर्थित स्वतन्त्र सांसद लालवीर चौधरी सबैले थारु भाषामा शपथ लिए ।
मातृभाषामा शपथ लिने अन्य सांसदमा सराद अहमद पारुकीले उर्दु भाषामा, हितबहादुर तामाङ, मिना तामाङ र सूर्यमान तामाङ दोङले तामाङ भाषामा, प्रदीप यादव र रामसहायप्रसाद यादवले भोजपुरीमा, रूपा सोसी चौधरी, अशोककुमार चौधरीले थारू भाषामा, दुर्गा राईले कोई÷कोयू भाषामा, रञ्जुकुमारी झा र मनिष झाले मैथिली भाषामा, कान्तिका सेजुवालले नेपाली खस भाषामा, सोनु मुर्मुले सन्थालीमा, लक्ष्मी तिवारीले अवधिमा, महिन्द्र राय यादवले हिन्दीमा, उमरावती देवी यादवले भोजपुरीमा र किरण कुमार साहले संस्कृत भाषामा शपथ लिए ।
मधेसी भाषा नेपालमा बोलिने १२३ भाषाभित्र पर्छ कि पर्दैन भन्ने प्रश्नमा भाषा आयोगका सदस्य गोपाल अश्कले मधेसी भाषा भनेर मधेसमा बोलिने जुनसुकै भाषा पर्ने बताए । नेपालमा बोलिने मातृभाषाको सूचीमा मधेसी भाषा नभए पनि मधेसमा बोलिने जुनसुकै भाषा शपथग्रहणको भाषा हुन सक्ने उनले बताए ।
सीके राउतले त्यसलाई स्पष्ट पारेको अश्कको भनाइ छ । “मधेसी भाषा भनेर मातृभाषाको सूचीमा सूचीकृत त भएको छैन तर मधेसी भाषा भनेको मधेशमा बोल्ने जुनसुकै भाषा हुन सक्छ भनेर उहाँहरूले स्पष्ट पार्नुभएको छ” उनले भने, “त्यस हिसाबले नेपाली, भोजपुरी, मैथिलीलगायत मधेसमा बोलिने जुनसुकै भाषा पर्छन् ।”
हिमाली क्षेत्रमा बोलिने भाषालाई बोलीचालीमा हिमाली भाषा भनिए पनि मातृभाषा हिमाली लेखिँदैन तर हिमाली भेगमा बोलिने भाषा हुन् । त्यस्तै मधेसमा बोलिने भाषालाई उहाँले यसरी प्रकट गर्नुभएको उनको तर्क छ । तर भाषा आयोगका सदस्य अश्क आफै मधेसी भाषाबारे प्रष्ट देखिएनन् । मधेसको विविध भाषाअन्तर्गत कुनै एउटा भाषामा नामै किटेर शपथ लिए उपर्युक्त हुने भन्नेबारे न सांसद, न आयोगका सदस्य प्रष्ट देखिन्छन् ।
नेपालमा यति धेरै जातजाति भए पनि, त्यस समुदायबाट निर्वाचित भए पनि आफ्नो समुदायको भाषालाई किन भुले भन्ने प्रश्नमा भाषा आयोगका सदस्य अमृत योञ्जनले सांसद्हरूलाई थाहा नभएर पनि हुन सक्ने बताए ।
त्यसरी शपथ लिनका लागि प्राविधिक पक्षले पनि भूमिका खेल्छ भन्छन् उनी । “संसद् सचिवालयले मातृभाषामा शपथ लिन सूचना जारी गर्छ, शपथ खाने तीन दिनअघि नै सम्बन्धित सांसद्ले सचिवालयमा निवेदन दिनुपर्ने व्यवस्था छ, कतिपयले यसबारे जानकारी पाउँदैनन्,” उनले भने, “धेरै सांसदहरु शपथको दिन मात्र आएका हुन सक्छन् । त्यसैले, यो सङ्ख्या न्यून भएको हुन सक्छ ।”
तामाङ भाषामा ३ जनाले मात्र शपथ खाएका थिए । उनका अनुसार यी तीन जानालाई नेपाल तामाङ घेदुङमार्फत् सूचना पुगेको हुनाले तामाङ भाषामै शपथ लिएका हुन् । “तामाङ भाषामा शपथ खाने तीनैजना नेकपा माओवादीबाट प्रतिनिधित्व गर्छन्,” उनले भने, “नेपाली काँग्रेसबाट पनि जितेका छन्, राप्रपाबाट पनि छन्, अरू पार्टीहरूबाट पनि जितेका छन् तर तिनले मातृभाषामा शपथ खाएनन् ।”
यसै गरी मधेसबाट प्रतिनिधित्व गर्ने एक सांसदले संस्कृत भाषामा शपथ लिएका सम्बन्धमा तामाङ भन्छन्, “उनलाई संस्कृतप्रतिको आदरभावले हुन सक्छ, संस्कृतमा शपथ लिए ।” नेपालको जनगणनाको रिपोर्टअनुसार १२३ भाषामध्ये संस्कृत पनि मातृभाषा हो, फ्रेन्च पनि मातृभाषा हो ।
रौतहट–२ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित सांसद किरणकुमार साहले संस्कृत भाषामा शपथ लिएका थिए । साहले दक्षिण एसियाका धेरै भाषाको मूलभाषा संस्कृत हो, त्यसैले यसको संरक्षण गर्नुपर्ने धारणा राख्दै संस्कृत भाषाको सम्मानका लागि आफूले यसभाषामा शपथ लिएको बताए । संस्कृतले राष्ट्रिय एकतालाई पनि मजबुत बनाउने उनको भनाइ छ ।
यसै गरी नेपाल भाषामा शपथ लिन संसद् सचिवालयमा नामसमेत दर्ता गराएका विराजभक्त श्रेष्ठले भने उक्त सूचीबाट नाम कटाएका थिए । जनगणना २०६८ अनुसार नेपालमा १२३ मातृभाषा बोलिन्छ । जसमा नेपाली ४४.६३, मैथिली ११.६७, अवधि ५.९५, थारू ५.७७, तामाङ भाषा ५.१, नेपाल भाषा ३.१, मगर २.९७, भोजपुरी १.८९, सन्थाल ०.१८, उर्दु २.६१ प्रतिशत मातृभाषी छन् ।
समावेशी प्रतिनिधित्वको सिद्धान्तअनुसार समानुपातिक उम्मेदवार निर्वाचित गर्दा खस–आर्यबाट ३१.२ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, मधेसी १५.३ प्रतिशत, दलित १३.८ प्रतिशत, थारू ६.६ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत, पिछडिएको क्षेत्रबाट ४ प्रतिशत सहभागिता गराउनुपर्ने व्यवस्था रहेको छ । तर त्यसको प्रतिबिम्ब प्रतिनिधि सभामा शपथ खाँदा देखिएन ।
नेपालको संविधानले नेपालमा बोलिने सबै भाषालाई राष्ट्र भाषा भनेर सम्मान गरे पनि त्यसको मर्म सम्बन्धित समुदायका प्रतिनिधिले नबुझेको जस्तो देखिएको छ । संविधानको धारा ६ मा नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् भनिएको छ । यसै गरी धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भनिएको छ । यस्तै, उपधारा २ मा नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्र भाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ भनेको छ ।
यस्तै, धारा ३२ ले प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुनेछ भनेको छ । यसको उपधारा ३ मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, सांस्कृतिक सभ्यता र सम्पदाको संवद्र्धन र संरक्षण गर्ने हक हुनेछ भनिएको छ । तर, त्यसको कार्यान्वयन गर्ने, प्रोत्साहन गर्ने सांसदहरुले नै आफ्नो अधिकारलाई बेवास्ता गरेको देखियो ।
मातृभाषामा शपथले दिने सन्देश
नेपाल बहुजाति, बहुभाषिक देश भएकाले सम्बन्धित समुदायका प्रतिनिधिले आआफ्नो भाषा संस्कृतिको सम्मान होस् भन्ने सबै समुदायले चाहन्छन् । सङ्घीय संसद् यही बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक प्रतिनिधित्व गर्ने थलो पनि हो ।
बिहीबार धेरै नयाँ जनप्रतिनिधिले आफ्नो पहिचान झल्किने पोसाकसहित उपस्थित पनि भए । त्यसले सकारात्मक सन्देश पनि दिएको छ । यस सम्बन्धमा भाषा आयोगका सदस्य योञ्जन भन्छन्, “हाम्रा सांसद्हरू, प्रतिनिधिहरूले आफ्नै मातृभाषामा शपथ खाइदिऊन्, आफ्ना कुरा भनिदिऊन् भन्ने आम समुदायमा हुन्छ । त्यसले आफ्ना प्रतिनिधिप्रति निकटता बढाउँछ, यो हाम्रो हो है भन्ने आम समुदायमा पर्छ नै । तसर्थ त्यहाँ गएर सांसद्हरूले पाउने अधिकार प्रयोग गरेर बोलिदिने हो ।”
सकेसम्म सबै सांसदले आआफ्नो मातृभाषामा नै शपथ लिएको राम्रो हो भन्छन् उनी । यसरी मातृभाषामा शपथ लिँदा आफ्नो समुदायको, आफ्ना मतदाताको भावनाको पनि सम्मान हुने उनको धारणा छ । “मातृभाषामा शपथ खाँदा सम्बन्धित समुदायमा राम्रो सन्देश जान्छ भन्छन् भाषा आयोगका सदस्य अश्क । उनी भन्छन्, “नेपाली भाषालाई सरकारी कामकाजको भाषा भनिए पनि मातृभाषामा शपथ खाँदा, संसदमा बोल्दा जनमानसमा प्रभाव त पर्छ नि । यो सम्बन्धित समुदायको अस्मिता र पहिचानको कुरा पनि हो ।” सले आम श्रोता, पाठक र जनतामा सकारात्मक सन्देश जाने निश्चित हो भन्छन् अश्क ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी