शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : कुन दलले कहिले छान्दैछन् दलको नेता ?

दलको नेता बन्ने रेसमा छन् यी सांसद
शुक्रबार, ०८ पुस २०७९, १२ : १२
शुक्रबार, ०८ पुस २०७९

 बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबाट संसदीय दलको नेता चयनको तयारीमा छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरु संसदीय दलको नेता छान्ने तयारीमा जुटेका हुन् । नेपाली कांग्रेसले पुस १३ गते संसदीय दलको नेता छान्ने भएको छ । निर्वाचनको प्रक्रिया भने १२ गतेदेखि सुरु हुने जनाइएको छ । कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिले निर्वाचन समितिसमेत गठन गरी प्रक्रिया सुरु गरेको हो ।

पटक/पटक संसदीय दलको नेताको विषय सर्वसम्मतिमा टुङ्ग्याउने प्रयास असफल भएपछि समितिले निर्वाचनबाटै दलको नेता छान्ने निर्णय गरेको हो । संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिको सदस्यहरुमा महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सानु श्रेष्ठ छन् ।

यता प्रदेशसभाको दोस्रो ठुलो दल एमालेले भने दलको नेता सर्वसम्मत रुपमा चयन गर्ने तयारी गरेको छ । एमालेले दलको नेता छनोटका लागि मिति तय नगरेको एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेले जानकारी दिए । उनका अनुसार एमालेले पुस ११ देखि १४ गतेभित्र सर्वसम्मत रुपमा दलको नेता छान्ने तयारी गरेको छ ।

उता माओवादी केन्द्रले पनि दलको नेता चयनका लागि मिति तोक्न सकेको छैन । दलको नेता चयनका लागि पार्टीभित्र अनौपचारिक छलफल जारी रहेको र सम्भव रहेसम्म सर्वसम्मत रुपमा सांसदहरुको शपथ ग्रहण पूर्व नै सो विषयलाई टुंग्याउने तयारी भइरहेको माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले बताए ।

उनले समय अपुग भएको अवस्थामा सांसदको शपथपछि दलको नेता छान्ने बताए । माओवादी केन्द्र पनि सर्वसम्मत रुपमा दलको नेता छान्ने पक्षमा देखिएको छ । यद्यपि आकांक्षीहरु बीच सहमति नजुटेको खण्डमा भने निर्वाचनको विधि खुला रहेको उनले बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले आज (शुक्रबार) नै दलको नेता चयन गर्ने तयारी गरेको छ । प्रदेशसभा सचिवालयको सर्वदलीय बैठक पश्चात एकीकृत समाजवादीले दलको नेता चयन गर्ने नेता कृष्णप्रसाद शर्मा खनालले बताए । सो पार्टीले सर्वसम्मत रुपमा दलको नेता छान्ने तयारी गरेको उनले बताए ।

दलको नेता छान्ने विषयमा राप्रपाले खास चासो देखाएको छैन । सो दलले यस विषयमा कुनै आधिकारिक धारणा बाहिर ल्याउन चाहँदैन । जसले गर्दा प्रदेशको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीमा संसदीय दलको नेताका लागि हालसम्म कुनै चर्चा चलेको छैन ।

राप्रपा सत्तामा जाने वा नजाने विषयमा अन्यौल कायमै छ । पार्टीको केन्द्रीय निर्णय र नीति पश्चात् ठोस निर्णयमा पुग्ने सांसदहरू बताउँछन् । राप्रपा बागमती प्रदेश समितिका एक नेताका अनुसार दलको नेता छान्ने विषयमा आजबाट सामान्य छलफल सुरु हुनेछ ।

उक्त विषयमा छलफलका लागि आज काठमाडौंमा प्रदेश समितिको बैठक बस्दैछ । सम्भव रहेसम्म सोही बैठकमा दलको नेता चयन गर्ने उनले बताए । अन्यथा केन्द्रीय समितिलाई निर्णयका लागि पठाउने उनले बताए । 

नेमकिपाले पनि सांसदहरुको शपथ ताका नै दलको नेताको विषय टुंग्याउने भएको छ । सानो दल भएकाले सर्वसम्मत रुपमा दलको नेता चयन गर्ने तयारी रहेको सो पार्टीका नेता बताउँछन् ।

हाम्रो नेपाली पार्टीले पनि दलको नेता शपथ ग्रहणपछि चयन गर्ने भएको छ ।

दलको नेता बन्ने रेसमा छन् यी सांसद

बागमती प्रदेशमा ३७ सिट जित्दै कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । प्रदेशसभामा कांग्रेसको प्रत्यक्षबाट २५ र समानुपातिकबाट १२ गरी ३७ सदस्य छन् । बागमतीमा संसदीय दलको नेतामा कांग्रेसको संस्थापन पक्ष हाबी देखिएको छ । संस्थापन पक्षबाटै संसदीय दलको नेता बन्न २ जना आकांक्षी देखिँदा इतर पक्ष उम्मदेवार तयार गर्ने पक्षमा छैन ।

संसदीय दलको नेताका लागि कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा र कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ प्रतिस्पर्धामा छन् ।​ कांग्रेसको आन्तरिक विवाद मिलाउन प्रतिनिधिसभा सदस्य पदमा दावी गर्दै आएका लामा मुख्यमन्त्री बन्न कै लागि केन्द्रबाट प्रदेश झरेका थिए भने प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलको नेता भइसकेका बानियाँ सोही कार्यकालमा मुख्यमन्त्रीको दाबेदार थिए ।

यता प्रदेशसभाको दोस्रो ठुलो दल एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा देखिने पक्का भएकाले दलको नेताका लागि खासै प्रतिस्पर्धा छैन । एमालेमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीका निकट रहेका जगन्नाथ थपलियाले दलको नेतामा दावी गर्दै आएका छन् । २७ जना प्रदेशसभा सदस्य रहेको एमाले दलको नेतामा उनी निर्विकल्प उम्मेदवारको रुपमा देखिएका छन् ।

माओवादी केन्द्रमा संसदीय दलको नेतामा मुख्यरुपमा २ जनाको चर्चा छ । २१ जना प्रदेशसभा सदस्यसहित संसदको तेस्रो दलको रुपमा रहेको माओवादी केन्द्रबाट दलको नेताका लागि माओवादी केन्द्र प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल र नेता शालिकराम जम्कट्टेल प्रमुख दावेदार छन् । सरल सिन्धुपाल्चोकबाट निर्वाचित भएका हुन् भने जम्कट्टेल धादिङबाट निर्वाचित भएका हुन् । जम्कट्टेलले यस अघि पनि माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेताको जिम्मेवारीमा रहेर २ पटक मन्त्री बनिसकेका छन् ।

एमाले विभाजनपछि गठन भएको एकीकृत समाजवादीमा दलको नेताका लागि वर्तमान प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल आकांक्षी छन् । प्रत्यक्षमा ५ र समानुपातिकमा २ सिट गरी कुल ७ सिट जितेको एकीकृत समाजवादी प्रदेशसभाको पाँचौं दल हो । पदहरु भागबण्डा गर्दा सबै सदस्यले अवसर पाउने भएकाले खनाल दलको नेताको निर्विकल्प उम्मेदवारको रुपमा छन् । उनी यसअघि एकीकृत समाजवादी बागमती प्रदेशको दलको उपनेताको जिम्मेवारीमा रहिसकेका छन् । खनाल प्रदेशमा २ पटक मन्त्री भइसकेका छन् ।

प्रदेशसभामा १३ सिट जितेको राप्रपामा पनि दलको नेताका लागि २ जना आकांक्षी देखिएका छन् । दलको नेता लागि उद्धव थापा र भुवन पाठक आकांक्षी छन् । पाठक राप्रपाका महामन्त्री हुन् भने थापा केन्द्रीय सदस्य हुन् ।

प्रदेशसभामा ३ सिट जितेको नेमकिपामा दलको नेताका लागि सुरेन्द्रराज गासाई एक्ला उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् भने प्रदेशसभामा २ सिट जितेको हाम्रो नेपाली पार्टीबाट दलको नेताका लागि कुनै चर्चा नै भएको देखिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप