मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

बच्चालाई कुन खोप कहिले लगाउने ?

खोप लगाइसकेपछि यस्ता लक्षण देखिन सक्छन्
शुक्रबार, ०८ पुस २०७९, १० : ०४
शुक्रबार, ०८ पुस २०७९

भविष्यमा लाग्न सक्ने रोगबाट बचाउनका लागि बच्चालाई विभिन्न किसिमका खोप दिइन्छ । शारीरिक स्वास्थ्यलाई सुरक्षित राख्ने उद्देश्यले रोग प्रतिरोधात्मक क्षमता विकास गर्न र विभिन्न रोग लाग्न नदिनका लागि खोपहरु दिइन्छ ।यस्ता खोपमध्ये केही सुईमार्फत र केही खुवाएर दिइन्छ । नेपालमा विभिन्न रोगबाट बचाउन साना बच्चालाई मात्रै होइन, गर्भवती महिलालाई समेत खोप दिइन्छ ।

परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका अनुसार बच्चा जन्मेदेखि दुई वर्षमुनिका बालबालिकालाई लहरे खोकी, भ्यागुते रोग, धनुषटङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इनफ्लुएन्जा, जापानिज इन्सेफ्लाइटिस, निमोनिया, दादुरा–रुबेलालगायत ११ प्रकारका रोगबाट बचाउन निःशुल्क खोप दिइन्छ ।

बी.सी.जी. खोप - यो खोप बच्चा जन्मिएदेखि एक वर्ष भित्र एक पटक दिइन्छ । यस खोपले क्षय रोगबाट हुनबाट बचाउँछ । बी.सी.जी. खोप सुईमार्फत दायाँ पाखुराको माथिल्लो भागमा लगाइन्छ ।

खोप दिएको स्थानमा माड्नु हुँदैन साथै खोप लगाएको केही समयसम्म तेल, साबुन जस्ता चिज पार्नु हुँदैन । बी.सी.जी. सुई लगाएको भागमा धेरैजसो बच्चामा प्रतिक्रिया स्वरुप पाक्न जान्छ । साधारणतया बी.सी.जी खोप दिएको स्थानमा सानो डल्लो फोकाजस्तो देखापर्दछ । सुई लगाएको स्थानमा छाला पाक्छ र यो २ हप्तासम्म रहनसक्छ ।

यो सामान्य अवस्था भएकाले आत्तिनु पर्दैन र आफै हराएर जान्छ । खोप पश्चात् छाला पाक्नु भनेको रोगसँग लड्ने शक्ति प्राप्त गरेको लक्षण हो ।

डी.पी.टी हेपाटाइटिस बी. हेव - यो खोप बच्चा जन्मिएको ६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा दिइन्छ । यस खोपले भ्यागुते रोग, लहरे खोकी, धनुषटङ्ण्कार र हेपाटाइटिस बी, हेमाफिलस बी बाट हुने वेक्टेरियल मेनिन्जाइटिस र निमोनिया लगायतका रोग लाग्नबाट सुरक्षा प्रदान गर्छ ।

यो खोप एक–एक महिनाको फरकमा तीन पटक बायाँ तिघ्राको मध्य बाहिरी भागमा लगाइन्छ । हेव बी खोप लिएपछि बच्चाहरुलाई सामान्य ज्वरो आउन सक्छ तर यो सामान्यतया आफै निको हुन्छ । खोप लगाएपछि ज्वरो आएमा वा सुई लगाएको स्थानमा सुन्निएमा पारासिटामोल दिन सकिन्छ ।

खोप लगाएका प्रायः बच्चालाई सुई दिएको ठाउँमा दुख्ने, रातो हुने, अथवा सुन्निने हुन सक्छ । बच्चा खोप लगाइसकेपछि लगातार ३ घण्टाभन्दा बढी रोइरहेमा स्वास्थ्यकर्मीसँग सल्लाह माग्नुपर्छ ।

पी.सी.भी : यो खोपले निमोनियाबाट सुरक्षित राख्छ ।  जन्मिएको ६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरसम्म यो खोप दिइन्छ । एक–एक महिनाको फरकमा तीन पटक बायाँ तिघ्राको मध्य बाहिरी भागमा यो खोप दिइन्छ । यो खोप लगाएपछि बालबालिकालाई ज्वरो आउन सक्छ । तर केही समयपछि आफै ज्वरो निको हुन्छ ।

सुई दिएको स्थानमा दुख्ने, रातो हुने, सुन्निने हुन सक्छ । बच्चा लगातार ३ घण्टाभन्दा बढी रोइरहेमा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुपर्छ ।

पोलियो ओ.पी.भी : यो खोप एक वर्षको उमेरभित्र बालबालिकाका लागि १४ हप्ता र ९ महिनामा गरी २ पटक दिइन्छ । एक वर्षको उमेरभित्र सो खोप नियमित तालिकामा लगाउन छुटेमा ५ वर्ष उमेरभित्र सम्पूर्ण बालबालिकाले १६ हप्ताको फरकमा अर्थात् ४ महिनाको फरकमा २ मात्रा लगाउनु पर्छ ।

पोलियो खोपको मात्रा २ थोपा हो । यो खोप मुखबाट खुवाइन्छ । थोपा मुखबाट खुवाउँदा बच्चाले तुरुन्तै बान्ता गरेको खण्डमा खोपले काम नगर्न सक्छ । त्यो अवस्थामा दोहो¥याएर २ थोपा पोलियो खुवाउनु पर्छ ।

दादुरा–रुबेला : बच्चा जन्मिएको नौ महिनादेखि १ वर्षभित्रमा यो खोप दिइन्छ । दादुरा रुबेलाबाट सुरक्षित रहनका लागि यो खोप लगाउने गरिन्छ । बालबालिकालाई दायाँ तिघ्राको माथिल्लो भागमा यो खोप लगाइन्छ । दादुरा रुबेला खोप लगाएको ४–५ घण्टापछि सामान्य ज्वरो आउन सक्छ । केही बच्चामा खोप लगाएको १ हप्तापछि शरीरमा बिमिरा देखा पर्न सक्छ । यद्यपि करिब १० लाख बालबालिकामा एक जनालाई ‘एनाफिलोक्सिस’ हुन सक्छ ।

टी.टी–टी.डी : यो खोप गर्भवती महिलाहरुलाई लगाइन्छ । टी.टी खोपले धनुषटङ्कार रोगबाट सुरक्षित राख्छ । पहिलो गर्भमा एक महिनाको फरकमा २ पटक र त्यसपछिका गर्भका १ पटक खोप लगाए हुन्छ । यो खोप बायाँ पाखुराको माथिल्लो बाहिरी भागमा लगाइन्छ ।

जापानिज इन्सेफालाइटिस : यो खोप १२ देखि २३ महिनाका बालबालिकाहरुलाई लगाइन्छ । जापानिज इन्सेफाइटिस् रोगका लागि लगाइने यो खोप एक पटकमात्र लगाउँदा हुन्छ ।

बच्चाको दायाँ तिघ्राको माथिल्लो भागमा यो खोप लगाइन्छ । खोप दिएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने र पाक्ने हुन्छ, जुन पछि आफै ठिक भएर जान्छ । 

एफआइपीभी : यो खोप बच्चा जन्मिएको ६ हप्ता र १४ हप्ताको उमेरमा दुई पटक दिइन्छ । यसले रोटा भाइरसबाट हुने पखालाविरुद्ध काम गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप