जेलेन्स्कीको भ्रमणले देखाउँछ कि युक्रेन र अमेरिका शान्ति चाहँदैनन् : रुस
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको अमेरिका भ्रमणप्रति रुसले कडा प्रतिक्रिया दिएको छ र अमेरिकाले आफूसँग अप्रत्यक्ष युद्ध गरिरहेको आरोप लगाएको छ ।
अमेरिकाका लागि रुसी राजदूत अनातोली एन्टोनोभले यो ‘उत्तेजक कार्य’ भएको र यसको नतिजा भयानक हुनसक्ने बताएका छन् ।
अनातोली एन्टोनोभले रुसी सरकारी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा भनेका छन्, ‘रुस चाहन्छ कि मानिसहरुले आफ्नो कदमबारे सोच विचार गरुन् तर युक्रेनलाई पेट्रियट मिसाइल डिफेन्स सिस्टम दिने खबर चिन्ताजनक छ ।’
यसै क्रममा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले जेलेन्स्कीको अमेरिका भ्रमणमा शान्तिको विषयमा कुनै वार्ता नभएको बताएका छन् । उनका अनुसार यो अमेरिकाले रुससँग प्रोक्सी युद्ध गरिरहेको भन्ने प्रमाण हो ।
उनले भने, ‘युक्रेनको यो कदमले रुसलाई आफ्नो विशेष सैन्य अभियानको लक्ष्य हासिल गर्नबाट रोक्ने छैन ।’
यसैबीच, रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भनिन्, ‘युक्रेनी राष्ट्रपति र अमेरिकी राष्ट्रपतिको वासिङ्टनमा भएको भेटले युक्रेन र अमेरिका शान्ति चाहँदैनन् भन्ने देखाउँछ । उनीहरुको नियत युद्ध जारी राख्ने हो ।’
यस वर्षको फेब्रुअरीमा रुस–युक्रेन युद्ध सुरु भएयता जेलेन्स्कीले अमेरिकाको भ्रमण गरेको यो पहिलो हो । यस क्रममा उनले अमेरिकी राष्ट्रपति बाइडेनलाई भेटे र अमेरिकी संसदलाई पनि सम्बोधन गरे ।
यस अवसरमा बाइडेनले युक्रेनलाई १.७ अर्ब डलरको नयाँ राहत प्याकेज घोषणा गरेका छन् जसमा उनले थप ४५ अर्ब डलर दिने वाचा पनि गरेका छन् । साथै उनले अमेरिका युक्रेनको साथमा दृढतापूर्वक उभिने बताए ।
प्याट्रियट मिसाइलहरू महँगो मात्रै होइन, यी अझ प्रभावकारी पनि छन् । ह्वाइट हाउसले भनेको छ ‘यसले युक्रेनलाई रुसको बर्बर आक्रमणबाट आफ्नो महत्वपूर्ण पूर्वाधारको रक्षा गर्न मद्दत गर्नेछन् ।’