बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अङ्ग्रेजी नयाँ वर्ष नजिकिएसँगै ठमेलमा विदेशी पर्यटकको चहलपहल

बिहीबार, ०७ पुस २०७९, २० : ४१
बिहीबार, ०७ पुस २०७९

अङ्ग्रेजी नयाँवर्ष र क्रिसमस पर्व आउन केही दिन बाँकी रहँदा राजधानीको मुख्य पर्यटकीयस्थल ठमेलमा विदेशी पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीले थलिएको नेपालको पर्यटनलाई यो चहलपहलले व्यवसायीलाई केही राहत मिले पनि पूर्णरूपमा पर्यटक भरीभराउ हुन अझै समय लाग्ने व्यवसायी बताउँछन् ।

“मुख्यगरी भारतीय र फाट्टफुट्ट युरोप तथा अमेरिकाका पर्यटक देखिन थालेका छन्”, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले भने । ठमेलमा साना तथा ठूला गरी झन्डै तीन सय होटल रहेका छन् । यस्तै तीन सयभन्दा बढी रेष्टुरेन्ट रहेका छन् । रात्रिकालीन व्यवसायी ९० को हाराहारीमा रहेका छन् । अध्यक्ष शर्माले अहिले ठमेलभित्र रहेका होटलहरूको क्षमताअनुसार सरदर ५० प्रतिशतको हाराहारीमा पर्यटकहरू रहेका छन् । परिषद्ले अहिले ठमेल क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सम्बन्धित निकायसँगको सहकार्यमा सडक बालबालिकाको व्यवस्थापन, तारको व्यवस्थापनलगायतको काम गर्दै आएको छ ।

यस्तै, ठमेललाई सुन्दर बनाउन सडक बत्ती जडान, सिसी क्यामरा जडान, फुटपाथ व्यवस्थापन तथा साइन बोर्डको व्यवस्थापन गरिएको छ । ठमेललाई चौबिसै घण्टा स्वच्छ, शान्त र सुरक्षित बनाउन सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्न सम्बन्धित निकायसँग परामर्श भइरहेको अध्यक्ष शर्माको भनाइ छ । ठमेलस्थित रमदा होटलका महाप्रबन्धक महेश फुँयालले भारतीय पर्यटकले आफ्नो होटल क्रिसमस र नयाँ वर्षका लागि पूरै बुक भएको बताए । उनको होटलमा स्पा सुविधासहितको ९० कोठा छन् । “विश्वकप फुटबलले तेस्रो मुलुकका पर्यटकमा कमी आए पनि अङ्ग्रेजी नयाँ वर्षमा ठमेलमा भारतीय पर्यटकको बुकिङ बढेको छ”, उनले भने ।

विश्वसम्पदा सूचीमा रहेका काठमाडौं उपत्यकाका भक्तपुर, पाटन, स्वयम्भू, पशुपति र वसन्तपुरलगायत राजधानीका मुख्य पर्यटकीयस्थल घुमेपछि पर्यटकको बासस्थानको मुख्य रोजाइ ठमेल नै मानिन्छ । ठमेलस्थित काठमाडौं आगन्तुक होटलका सञ्चालक पशुपति कँडेलले अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमसजस्ता पर्व मुख्य पर्यटकीय मौसमपछिको पर्यटक आउने अवसर भएको बताए । “कोरोनापछि अपेक्षा गरेभन्दा बढी पर्यटक आएको महसुस भएको छ, आगामी वर्ष देशमा कुनै प्रकोप नआएमा यो सङ्ख्यामा थप वृद्धि हुनसक्छ,” सञ्चालक कँडेलले भने ।

विगतमा क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षमा अमेरिका, युरोप, चीन तथा बङ्गलादेशका पर्यटक बढी नेपाल आउने गरेका थिए । यसपटक तेस्रो मुलुकसहित भारतीय र बङ्गलादेशका पाहुना बढी आउने गरेका छन् । मुख्य बजार वरपर घुम्न वा राजधानी बाहिरका पर्यटकीय गन्तव्य पुग्नका लागि सहज हुने भएकाले ठमेल विदेशी पर्यटकको रोजाइमा पर्दछ । राजधानीपछि पर्यटकको रोजाइमा पोखरा, अन्नपूर्ण क्षेत्र, लुम्बिनी, चितवन र सगरमाथा आधार शिविर क्षेत्रलगायत पर्दछन् ।

ठमेल काठमाडौं महानगरपालिका–१६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको सबैभन्दा धेरै भाग वडा नं २६ मा पर्दछ । नेपाल घुम्न आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेका छन् । काठमाडौं–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले वार्षिक अर्बौंको कारोबार हुने ठमेललाई व्यवस्थितरूपमा सञ्चालन गर्न वडा कार्यालयबाट सहयोग हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप