बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

राजेन्द्र पाण्डे : शपथ प्रतिनिधिसभा सदस्यको, मुख्यमन्त्री प्रदेशको !

बिहीबार, ०७ पुस २०७९, १५ : २३
बिहीबार, ०७ पुस २०७९

बिहीबार प्रतिनिधि सभाका २७४ सांसदले पद तथा गोपनियताको सपथ लिएका छन् । संसद भवन नयाँ बानेश्वरमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सांसदहरुलाई शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण गरेसँगै उनीहरूको कार्यकाल समेत सुरु हुन्छ । 

मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर बिहीबार शपथ लिनेमध्येमा एक थिए– राजेन्द्रप्रसाद पाण्डे पनि । पाण्डे अघिल्लो निर्वाचनमा वागमती प्रदेशसभा सदस्यमा निर्वाचित थिए । तर मंसिरको निर्वाचनमा उनी धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । सोही कारण पाण्डेले पनि बिहीबार अन्य सांसदसँगै पद तथा गोपनियताको सपथ ग्रहण लिएका हुन् । पाण्डे हाल वागमती प्रदेशको मुख्यमन्त्री समेत छन् । यसरी हेर्दा उनी हाल दोहोरो भूमिकामा देखिन्छन् ।

नेपालको संविधानअनुसार मुख्यमन्त्रीको पद चारवटा अवस्थामा मात्रै रिक्त हुने देखिन्छ ।  संविधानको धारा १६९ मा भनिएको छ, ‘ (क) निजले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिएमा, (ख) धारा १८८ बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निजको विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा, (ग) निज प्रदेशसभाको सदस्य नरहेमा, (घ) निजको मृत्यु भएमा ।’ 

वागमती प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यहरूको सपथ ग्रहण नै भएको छैन । आगामी साता मात्रै प्रदेश सभाका सांसदहरुले सपथ ग्रहण गर्ने र त्यसपछि नयाँ सरकार र नेतृत्व चयन हुने भएकाले पाण्डे अझै केही दिन दोहोरो भूमिकामा रहने देखिन्छन् । 

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका पाण्डेले आफू संविधानअनुसार नै भूमिकामा रहेको बताए । उनले कार्यवाहकको जिम्मेवारी समेत दिन नमिल्ने अवस्था रहेको बताए । संविधानको यही व्यवस्थाअनुसार अब आफूले नयाँ सरकार बनेपछि जिम्मेवारी दिएर आफू छोड्ने बताए । 

‘संविधानमा अर्को कुनै व्यवस्था रहेनछ’, उनले भने, ‘अब मेरो कर्तव्य प्रदेशमा चाँडोभन्दा चाँडो सरकार जन्मिदिएर उनीहरूलाई जिम्मा लगाएर म विदा हुनुपर्छ ।’ संविधान निर्माणका क्रममा यसबारे नसोचिएको भन्दै आगामी दिनमा ध्यान दिनुपर्ने पनि पाण्डेको भनाई  छ । ‘संविधान बनाउने क्रममा यस्तो पनि परिस्थिति आउला, यस्तो घटना होला भनेर कसले सोचेको थियो र ?’, पाण्डेको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप