माओवादी संसदीय दलमा प्रचण्डलाई चुनौती दिने कोही छन् कि छैनन् ?
नेकपा माओवादी केन्द्रले बेलुका ४ बजे सिंहदरबार स्थिति आफ्नै पार्टीको संसदीय दलको कार्यालयमा दलको नेता चयन गर्दै छ । सिंहदरबारमा बस्ने संसदीय दलको बैठकले दलको नेता, उपनेता र प्रमुख सचेतक लगायत चयन गर्ने तयारी गरेको हो ।
माओवादी संसदीय दलको नेतामा प्रचण्ड चयन हुनेमा निश्चित जस्तै छ । पार्टीका अरू सिनियर नेताहरूले दाबी नगरेकाले प्रचण्ड नै हुने सम्भावना छ । २०६२/०६३ साल माओवादी शान्ति प्रक्रियामा आएदेखि नै दलको नेतामा प्रचण्ड हुँदै आएका छन् । उनलाई चुनौती दिने गरी दलको नेता र पार्टी अध्यक्षमा कसैले दाबी गरेका छैनन् । बरु प्रचण्डसँग पार्टीभित्र अन्तर संघर्ष गर्नेहरू पार्टी नै छोडेर अर्को पार्टी गठन गरेका दृष्टान्त छन् । प्रचण्ड विगत १५ वर्षदेखि लगातार दलको नेता हुँदै आएका छन् ।
कांग्रेसमा भने दलको नेतामा नेताहरूले प्रतिस्पर्धा गर्दै आएका छन् । गत बुधबार भएको कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवासँग गगनकुमार थापाले प्रतिस्पर्धा गरे । थापा देउवा भन्दा उमेरले ३२ वर्ष कान्छा भए पनि दलको नेतामा प्रतिस्पर्धा गरेर पराजित भएका छन् । कांग्रेसभित्र दलको नेता प्रतिस्पर्धा नगरेर नेताहरूले छोड्ने गरेका छैनन् । एमाले अध्यक्ष र दलको नेतामा पार्टीभित्रै प्रतिस्पर्धा हुने गरेको छ । यो पटक भने दलको नेतामा केपी शर्मा ओली सर्वसम्मत चयन भइसकेका छन् । ओली नेतृत्वमा आएपछि दलको नेतामा प्रतिस्पर्धा हुने परम्परा हराएर गएको छ ।
माओवादीका संसदीय दलको नेतामा अध्यक्ष प्रचण्डको विकल्प नरहेको माओवादी सांसदहरू बताउँछन् । अहिलेसम्म पार्टीमा दलको नेता हुन्छु भनेर कसैले दाबी नगरेको सांसद रेखा शर्माको बताइन\ । पार्टी र देशलाई नेतृत्व गर्नुपर्ने भएकाले अध्यक्ष प्रचण्डलाई नै दलको नेता बनाएर जानुपर्ने शर्माको भनाई छ ।
यता, माओवादीका सांसद पूर्णबहादुर घर्तीले संसदीय दलको नेता र नेतृत्व उमेरले दाबी गर्न नमिल्ने सांसद जिकिर गरे । ‘कम्युनिस्ट पार्टीमा उमेर हुँदैन । विचारले नेतृत्व परिवर्तन र पुस्तान्तरण हुन्छ । नेतृत्व आफैले अब नेतृत्व गर्न सक्दिनँ भन्यो वा नयाँ पुस्ताले अब पुरानो पुस्ताबाट हुँदैन हामी नेतृत्व गर्छौँ भन्ने गरी विश्वास दिलाएर अघि आएमा हुनसक्छ’ रातोपाटीसँग कुरा गर्दै घर्तीले भने, ‘तर, कुनै अमुक पार्टीमा नेतृत्वमा बुढा भयौँ छाड भन्यो भन्दैमा कम्युनिस्ट पार्टीमा यस्तो हुँदैन । यसरी कम्युनिस्ट पार्टीमा भन्नु विधिसंगत र तर्कसङ्गत हुँदैन । आवश्यकताले नेतृत्व परिवर्तन गरिन्छ ।’ बरु नेतृत्व लिने गरी विकास गरेर अगाडि आउन नसक्नु युवा पुस्ताको कमजोरी भएको घर्तीको भनाई छ ।
यस्तै माओवादीका अर्का सांसद सुदन किराँतीले जनयुद्धदेखि शान्ति प्रक्रियासम्म प्रचण्डले नै नेतृत्व गरेकाले दलको नेतामा अर्को विकल्प नभएको दाबी गरे । शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्ने भएकाले प्रचण्ड नै दलको नेता बनाएर जानुपर्ने जिकिर गरे । अहिले नै दलको नेतामा विकल्प खोज्नु आत्मघाती हुने भएकाले प्रचण्डलाई दलको नेता बनाएर जानुपर्ने किरातीको उनको भनाइ । माओवादीका प्रत्यक्ष १८ जनासहित समानुपातिक गरेर कुल ३२ सांसद छन् । प्रचण्ड दलको नेता चयन भएपछि उनले प्रधानमन्त्रीका लागि सत्ता गठबन्धनभित्र आफ्नो कुरा राख्ने भएका छन् । प्रचण्ड पहिलो चरणमै प्रधानमन्त्री हुने गरी अरू दलको नेताहरूसँग संवाद जारी राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता