आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सांसदबाट राजीनामा दिँदै राजेन्द्र लिङ्देनले गरेको त्यो घोषणा

पाचौँ शक्ति राप्रपाको संसदमा कस्तो रहला भूमिका ?
बिहीबार, ०७ पुस २०७९, १३ : ३२
बिहीबार, ०७ पुस २०७९

प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भइसकेपछि पनि संसदको आयु कहिले भन्ने विवाद रहेकै अवस्थामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भदौ १९ गते एकाएक सांसद पदबाट राजीनामा दिएको घोषणा गरे । राजीनामा घोषणा गर्दै लिङ्देनले अर्को संसदमा आफू एक्लै नआउने र बलियो पार्टीका रुपमा उपस्थित हुने घोषणासमेत गरेका थिए ।

उनै लिङ्देन मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट प्रतिनिधिसभामा पाँचौ ठूलो दलका रुपमा उपस्थित भएका छन् । रोचक त के भने उनकै पार्टीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट सांसदहरुले शपथ लिएका छन् ।  

अघिल्लो निर्वाचनमा समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेको राप्रपाबाट लिङ्देनमात्रै प्रत्यक्षमा विजयी भएका थिए । यो पटक भने राप्रपाले प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सिट जितेको हो । पार्टीको एक वर्षअघि सम्पन्न महाधिवेशनबाट लिङ्देन नेतृत्वमा आएसँगै पार्टीले संसदीय राजनीतिमा कमब्याक गर्दै संसदमा बलियो उपस्थिति जनाएको हो ।

भदौ १९ को प्रतिनिधिसभा बैठकमा लिङ्देनले के भनेका थिए ?

सभामुख महोदय, समय र यो रोस्टम उपलब्धका लागि आभार व्यक्त गर्न चाहान्छु । प्रतिनिधिसभामा यो कार्यकालका लागि आजको यो बैठक मेरा लागि अन्तिम भएका हुनाले मैले विशेष सुविधा मागेर यो रोस्टम प्रयोग गरेको छु । खासगरी जब चुनावको घोषणा भयो, त्यसदेखिनै राप्रपाको के धारणा थियो भने निर्वाचन घोषणा भइसकेपछि संसद चलिराख्नु/जिवित भइराख्नु उपयुक्त हुँदैन।

त्यसमाथि पनि प्रजातन्त्रमा विश्वास राख्ने राजनीतिक दलहरुले निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउनका लागि सरकारसमेत चुनावी सरकारमा परिणत गरेर अथवा निष्पक्ष सरकार बनाउन उपयुक्त हुन्छ भन्ने धारणा थियो । तर, संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टीको जे उपस्थिति छ, आफ्नो धारणा राख्नेबाहेकको निर्णय प्रक्रियामा कुनै फरक पार्दैनथ्यो । त्यसकारण व्यक्तिगत रुपमा म चाहिँ अब संसदमा आउँदिनँ । सानो पार्टीको अध्यक्ष हुनुको नाताले आउने चुनावमा संसदमा आफ्नो प्रभावकारी उपस्थिति बनाउनका लागि जनताका सामु जान वेशी समय खर्च गर्नुपर्छ ।

त्यसकारण भत्ता पकाउनका लागि मात्रै अब संसद आइँदैन भनेर आउन छाडिसकेको थिएँ, तर संसदको आयू मंसिर ४ गतेपछि पनि कायम राख्ने भन्ने ढंगको निर्णय गर्ने प्रक्रियाहरु सुरु भएका छन् । त्यसले मलाई असाध्धै लज्जित र दुःखित तुल्याएको छ । यसबीचमा मैले बाटोबाटै संसद छाडे भन्नुको अर्थ हुँदैन, कमसेकम संसदमा उभिएर सबैलाई सुनाएर जान उपयुक्त हुन्छ भनेर म आज यहाँ उपस्थित भएका छु । यहीबाट घोषणा गर्न चाहन्छु कि म आजबाट सांसदको रुपमा यहाँ उपस्थिति हुनेमात्रै छैन, मेरो नाममा पठाइने तलब, भत्ता, सुविधा समेत रोक्का गरियोस् । म कहीँ लेखेर दिनुपर्छ भने लेखेर दिन तयार छु । यसप्रकरणको कुनै पनि अनैतिक काममा लाग्न मेरो आत्माले मानेन । मेरो अन्तरआत्माको निर्देशनअनुसार सबै त्याग गर्न उपस्थिति भएको छु ।

५ वर्षको कार्यकालमा संसदमा थुप्रै अनुभव भए । एक्लो सदस्यको हिसावले उपस्थित हुँदा कयौँ नीतिगत कुरामा आफूलाई उपेक्षित भएको महसुश पाएपनि सबैबाट स्नेह र सद्भाव नै पाएको छु । सबैप्रति धन्यवाद तथा आभार प्रकट गर्छु । जब म त्यहाँ (हलमा देखाउँदै) बसेँ, यहाँबाट सर्दै सर्दै त्यो पछिल्लो कुना– जहाँ ढ्याढ्याप हान्नको लागि हान्ने टेबल पनि छैन । त्यो ठाउँसम्म पुग्दा पनि कोही पनि कुनै पनि दलको माननीय सदस्यबाट मलाई उपेक्षा गरियो भन्नेखालेको व्यवहार महसुश गर्न परेन ।

 म अब एक्लो सांसद होइन । बलियो पार्टीको रुपमा यहाँ उपस्थित हने र यसप्रकारका गलत निर्णयहरू हुन नदिने त्यो भूमिका निर्वाह गर्ने एउटा संकल्प र अठोटका साथ जनताको बीचमा जाँदैछु । हामी सबैले आ–आफ्नो ठाउँबाट प्रयत्न गरौँ । आगामी दिनमा आफ्नो स्वार्थका लागि मात्रै हुने निर्णयहरू आगामी कार्यकालको संसदमा हुने छैनन् ।  

लिङ्देनले भनेजस्तै संसदको कार्यकाल लम्ब्याउने तयारी भएपनि दलहरुबीच तीव्र मनान्तर भएपछि त्यसलाई फिर्ता लिइएको थियो । पछि निर्वाचन आयोगले तोकेको मनोनयन दर्ताको समयलाई आधार मानेर संसदको कार्यकाल सकिने मिति तय भएको थियो ।

संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाबाट प्रत्यक्षतर्फ निर्वाचित हुने सांसदमा राजेन्द्र लिङ्देनसँगै दीपक बोहोरा, विक्रम पाण्डे, ज्ञानेन्द्र शाही, ध्रुवबहादुर प्रधान, दीपकबहादुर सिंह र धवल शमशेर राणा रहेका छन् । यस्तै समानुपातिकबाट पशुपति शमशेर जबरा, रोशन कार्की, गीता बस्नेत, बुद्धिमान तामाङ, बीना लामा, बीना जैसवाल र अनिशा नेपाली निर्वाचित भएका छन् । सबै सांसदले शपथ लिएसँगै पाँचौ शक्तिका रुपमा राप्रपा संसदमा प्रवेश भएको हो ।

आगामी दिनमा राप्रपाले संसदमा कस्तो भूमिका खेल्छ त्यो भने हेर्न बाँकी नै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप