बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

शोभराजलाई जेल मुक्त गर्न के–के प्रक्रिया पूरा गर्नुपर्छ ?

बिहीबार, ०७ पुस २०७९, १४ : १२
बिहीबार, ०७ पुस २०७९

‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराजलाई रिहा गर्ने प्रक्रिया सुरु गरिएको छ । १९ वर्षदेखि नेपालको कारागारमा रहेका शोभराजलाई बुधबार सर्वोच्च अदालतले कैद सजाय घटाएर रिहा गर्न आदेश गरेको थियो । न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठले उनलाई रिहा गर्न आदेश गरेका हुन् ।

नेपाल घुम्न आएका क्यानेडियन नागरिक क्यारियरे लरेन्ट र अमेरिकन नागरिक कोन्नी जो ब्र्रोन्जीचलाई चार्ल्सले हत्या गरेको अदालतको ठहर छ । सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न भक्तपुर जिल्ला अदालतलाई पत्राचार गरेको छ । उनी विरुद्ध सुरुमा भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

सर्वोच्चले भक्तपुर जिल्ला अदालतलाई लेखेको पत्रको बोधार्थ केन्द्रीय कारागारमा आएको केन्द्रीय कारागारका जेलर डोरेन्द्र निरौलाले रातोपाटीलाई बताए । निरौलाले भने– ‘भक्तपुरबाट पत्र आएको छैन, पत्र आएपछि हामीसँग भएको फाइल हेरेर थुनामुक्त गर्ने निर्णय लिन्छौं ।’

चार्ल्सले हत्या गरेका महिलाको शव मनोहरा खोला किनार र साँगामा फेला परेको थियो ।

भक्तपुर जिल्ला अदालतका श्रेस्तेदार ऋतबहादुर पुलामीले सर्वोच्चको आदेश अनुसार केन्द्रीय कारागारमा पत्र पठाइने बताए । उनले भने– ‘हामी आदेश कार्यान्वयन गर्न पत्र पठाउँछौँ ।’ भक्तपुरबाट पत्र आएपछि प्रहरीलाई पत्राचार गरिने केन्द्रीय कारागारका जेलर निरौलाले बताए । उनी भन्छन्–‘उहाँलाई रिहा गर्नुअघि प्रहरीलाई पनि पत्राचार गर्छौ ।’

प्रहरी सुरक्षासहित शोभराजलाई अध्यागमन विभागमा बुझाइने छ । शोभराज फ्रान्सेली नागरिक हुन् । विदेशी नागरिक भएको हुनाले उनलाई अध्यागमन विभागमा जिम्मा लगाइने जेलर निरौलाले रातोपाटीलाई बताए ।

भक्तपुर जिल्ला अदालतले पत्र नलेख्दासम्म शोभराज थुनामै रहन्छन् २०७७ चैतमा कारागार व्यवस्थापन विभागले गरेको छानबिन प्रतिवेदनअनुसार जाली नोट कारोबारी युनुस अन्सारीको ज्यान मार्ने उद्योगमा पनि शोभराज दोषी देखिएका छन् ।

सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको शोभराज ७८ वर्ष भएका छन् । चार्ल्सको चालचलनमा सुधार आएको, ७५ प्रतिशत कैद भुक्तान गरेको र पाँच प्रकारका औषधी सेवन गर्नुपर्ने अवस्था रहेको कुरालाई दृष्टिगत गरेर उनलाई थुनामुक्त गर्नु उपयुक्त हुने सर्वोच्चको आदेशमा भनिएको छ । दुईजना विदेशीको हत्या गरेर भागेका शोभराज पुनः नेपाल आएको बेला २०५९ असोजमा पक्राउ परेका हुन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप