बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

झारफुकका नाममा त्रासदी घटना

बिहीबार, ०७ पुस २०७९, ०६ : १४
बिहीबार, ०७ पुस २०७९

काठमाडौँ जस्तो शिक्षित समाजमा पनि अझै झारफुकमा विश्वास गरिन्छ र त्यसले गम्भीर परिणाम निम्त्याएको छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । यस्तै अन्धविश्वासमा पर्दा एक महिला गम्भीर घाइते हुनुभएको छ । गएको वर्ष झारफुकमा विश्वास गर्दा दुई जना मृत्युको मुखमा पुगेका थिए । 

आफूलाई माता बताउने एक किशोरीले झारफुकका नाममा एक बिरामी महिलालाई तातो वस्तु (खुकुरी, पन्युँ, तेल तथा पानी)ले डामेपछि गम्भीर घाइते भएकी छिन्। काठमाडौँको तारकेश्वर नगरपालिका–६ स्थित जरङ्खुमा झारफुक गर्ने माता बताउने १९ वर्षीय सचिता मगरले बिरामीको शरीरमा तातो पन्युँ, तातो तेल र पानी खन्याउँदा भोजपुर आमचोक गाउँपालिका–६ की ३६ वर्षीया सविता राईको जीउभरि घाउ र फोकाका कारण सिकिस्तै भएकी छिन् ।  प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक नवीन विष्टले नेपाल प्रहरी अस्पतालमा बिरामी राईको उपचार भइरहेको र अवस्था गम्भीर रहेको जानकारी दिए । प्रहरीले किशोरी मातासहित सहयोगी चार जनालाई पक्राउ गरी कुटपिट तथा अङ्गभङ्गसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ । उक्त घटनामा संलग्न मातासहित उनका सहयोगी उदयपुर घर भएका २६ वर्षीय पदमबहादुर मगर, २६ वर्षीय सङ्गम राई, १८ वर्षका सागर मगर र चितवन घर भएका १८ वर्षीय अजित तामाङसमेत पक्राउ परेका छन् ।  

उपरीक्षक विष्टका अनुसार शरीर काप्ने, बर्बराउने तथा छटपटी हुने समस्याबाट पीडित सविता राईलाई किशोरी माताले निको पारिदिने दाबी गर्दै झारफुक गरिएको थियो । पुस १ गते झारफुकका क्रममा बिरामीको शरीरमा तातो वस्तु खन्याइएको थियो । अर्घाखाँची घर भएकी सचिता र भोजपुरकी सविता दुवै जरङ्खुमा बस्दै आएका थिए । पक्राउ परेकी किशोरी माताले बिरामीलाई निको पार्ने भनी आफूले तातो वस्तु बिरामीको शरीरमा खन्याएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

झारफुकको नाममा दिइएको यातनाबाट गत २०७८ सालको पुसमा दुई जनाको मृत्यु भएको थियो । आफूलाई माता दाबी गर्ने काठमाडौँ रानीवनकी उमा शाही ठकुरीले दिएको यातनाबाट सिन्धुपाल्चोक साँगाचोक गाउँपालिका–२ की १४ वर्षीया बालिका रोशनी श्रेष्ठको ज्यान गएको थियो । यसैगरी गत वर्ष गुल्मीको इस्मा गाउँपालिका–३, दर्लामचौरका ६३ वर्षीय रामबहादुर मुखियाको झारफुकको नाममा धामीले तातो पन्युँ र झाँझरले प्रहार गर्दा मृत्यु भएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप