बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिमा गठबन्धनबाटै ‘तेहेरो’ दाबी, कसले मार्ला बाजी ?

बुधबार, ०६ पुस २०७९, १६ : ०५
बुधबार, ०६ पुस २०७९

फागुनमा चयन हुने नयाँ राष्ट्रपतिका लागि आकांक्षी नेताहरूले अहिलेबाटै दौडधुप बढाएका छन् । मंसिर ४ को निर्वाचन परिणाम आएपनि सरकार गठन नहुँदै राष्ट्रपति पदलाई बढी नै महत्व दिँदै आकांक्षीहरुले दौडधुप तीव्र बनाएका हुन् ।

अहिलेसम्मको स्थितिमा राष्ट्रपतिका लागि सत्ता गठबन्धनकै नेताहरूको तेहेरो दावी पर्ने देखिन्छ । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीबाट झलनाथ खनाल र माओवादीका तर्फबाट डा. बाबुराम भट्टराईको नाम भावी राष्ट्रपतिका रुपमा चर्चामा आएको छ ।

पौडेल र खनालले राष्ट्रपतिका लागि माहोल आफ्नो पक्षमा पार्ने प्रयास थालिसकेका छन् । नेता पौडेलले आफ्नै पार्टीका सभापति तथा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवादेखि गठबन्धनका नेता माधव नेपाल र प्रचण्डलाई भेटेर यसको संकेत दिइसकेका छन् । पौडेलले यसअघि आफुलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने गरेपनि संसदीय दलको नेतामा देउवालाई सहजै छाडेर आफूलाई राष्ट्रपतिमा सुनिश्चित गर्ने उपाय रचेका छन् । कांग्रेस नेता कार्यकर्ताका अनुसार आफुलाई राष्ट्रपति बनाउने शर्तमा पौडेलले देउवालाई दलको नेतामा सघाएका हुन् ।

त्यसका लागि दुई नेताबीच गोप्य सहमति भएको हुनसक्ने कांग्रेसभित्र व्यापक चर्चा छ । पौडेलबाहेक एकीकृत समाजवादीका सम्मानित नेता खनालले पनि राष्ट्रपतिमा आफ्नो स्वाभाविक दावी रहने सार्वजनिक रुपमै बताइसकेका छन् । सोमबार मात्रै नेता खनालले रातोपाटीसँगको अनौपचारिक कुराकानीमा राष्ट्रपतिका लागि आफ्नो सशक्त दावी रहने बताएका थिए । यसअघि पनि गठबन्धनका नेताहरूले आफूलाई राष्ट्रपति बनाउने आश्वासन दिएकाले अहिले आफूलाई दावी गर्न अप्ठेरो नहुने खनालको भनाइ छ ।

‘स्वाभाविक रुपमा राष्ट्रपतिमा मेरो सशक्त दावी रहन्छ’, खनालको भनाइ छ । संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्री नपाए राष्ट्रपति र सभामुखमा दावी गर्ने तयारी गरेको छ । यद्यपि माओवादीले आफ्नो बटमलाईन प्रधानमन्त्री नै बनाएको छ । ‘यदि दलहरूबीच शक्ति बाँडफाँटका क्रममा माओवादीले प्रधानमन्त्री नपाउने अवस्था भयो भने स्वाभाविक रुपमा राष्ट्रपति र सभामुखमा दावी गर्छ’, प्रचण्ड निकट एक माओवादी नेताले भने,‘त्यसो हुँदा गठबन्धनमा सहकार्य समेत गरेका डा. बाबुराम भट्टराईलाई अघि सार्ने निश्चित छ ।’

राष्ट्रपतिमा पनि गठबन्धनको बहुमत

नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन सम्बन्धी व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेशसभा सदस्यहरू मतदाता हुने संवैधानिक व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि संघीय सांसद र प्रदेश सांसद मतदाता रहने भएपनि उनीहरूको मतभार फरक–फरक हुन्छ । संघीय सांसदको मतभार प्रतिव्यक्ति ७९ कायम छ भने प्रदेश सांसदको ४८ तोकिएको छ ।

यस्तोमा हालकै सत्ता गठबन्धन कायम रहे राष्ट्रपति र उपराष्ट्रपति पनि सत्ता गठबन्धनकै रहने मतभारले प्रस्ट पार्छ । अहिलेको अवस्थामा  ८८४ जना सांसदले मतदान गर्न पाउने हुँदा उनीहरूको कुल मतभार ५२ हजार ७८६ हुन जान्छ । यस्तो अवस्थामा सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा समाजवादी, लोसपा र जनमोर्चाका सांसदहरुको मतभार जोड्दा २७ हजार ४१२ हुन आउँछ । जबकी राष्ट्रपति उपराष्ट्रपतिमा निर्वाचित हुन कुल मतभारको ५१ प्रतिशत भए पुग्छ । यो भनेको २७ हजार ४१२ को २६ हजार ३ सय ९४ मत हुन्छ ।

गठबन्धनको बैठक प्रभावित
यता नयाँ सरकार गठन र शक्ति बाँडफाँटबारे छलफल गर्न मंगलबार बेलुकालाई तय भएको शीर्ष नेताको बैठक प्रभावित भएको छ । मंगलबार बेलुका शीर्ष नेता बसेर गठबन्धनको बैठक बोलाउने तयारी भएपनि गठबन्धनका एक नेता माधवकुमार नेपाल बिरामी भएपछि शीर्ष नेतासहित गठबन्धनको बैठक प्रभावित भएको हो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका अध्यक्ष माधवकुमार नेपाल मंगलबार बिहानबाट अस्वस्थ भएर त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । नेता नेपाल बिरामी भएपछि गठबन्धन बैठक पनि अनिश्चितजस्तै भएको नेताहरुले बताएका छन् । बुधबार प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल नै पुगेर नेता नेपालको स्वास्थ्यस्थितिबारे सामान्य जानकारी लिएका छन् ।

नेताहरूका अनुसार मंगलबार बेलुका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता गरेर गठबन्धनको बैठक बोलाउने तयारी थियो ।

निर्वाचन आयोगले चुनावको परिणाम सार्वजनिक गरसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि पुस १० गतेभित्र प्रधानमन्त्रीको दावी गर्न आह्वान गरिसकेको अवस्थामा नेता नेपाल अस्वस्थ भएपछि नेताहरु शक्ति बाँडफाँटका लागि दवावमा छन् । राष्ट्रपतिले दिएको समय सीमाभित्र बहुमतसहित प्रधानमन्त्रीमा दावी पेश गर्न गठबन्धनबीच शक्ति बाँडफाँट गर्नुका साथै सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगोमा पुग्नुपर्ने बाध्यता छ । गठबन्धनमा आलोपालो प्रधानमन्त्री हुने भनिएपनि कांग्रेस सभापति शेरबहादुर देउवा पहिला कि माओवादी केन्द्रका अध्यक्ष पहिला प्रधानमन्त्री हुने भन्ने निश्चित भैसकेको छैन । प्रधानमन्त्रीको निश्चित भएपछि सोही आधारमा अन्य मुख्य पद बाँडफाँट गर्नुपर्ने पक्षमा नेताहरू उभिएका छन् ।

एकीकृत समाजवादीका महासचिव समेत रहेका नेता डा. बेदुराम भुसालले गठबन्धनको बैठक कहिले बस्ने भन्ने निश्चित नभएको बताए । ‘मंगलबार ३ नेताबीच छलफल गरेर गठबन्धनको बैठक बोलाउने कुरा थियो, तर त्यही दिन हाम्रो अध्यक्ष अस्वस्थ भएर अस्पताल भर्ना हुनुभयो । त्यसैले अब कहिले छलफल हुन्छ भन्ने निश्चित छैन’, भुसालले भने, ‘बिहीबारसम्म अध्यक्ष डिस्चार्ज हुनुभयो भने सोही दिन बेलुका वा शुक्रबारसम्म बैठक बस्न सक्छ ।’

प्रधानमन्त्री बाहेक राष्ट्रपति पदमा पनि सत्ता गठबन्धनबाट दोहोरो दावी रहेको छ । राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दावी गर्ने तयारी गरेका छन् भने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि सशक्त दावी गर्ने सार्वजनिक रुपमै बताइसकेका छन् । पौडेल तनहुँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपनि खनाल इलामबाट पराजित हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप