राष्ट्रपतिमा झलनाथ खनालको सम्भावना कति ?
नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीले राष्ट्रपति पाउनुपर्ने ‘बटमलाइन’ बनाएपछि सो पार्टीबाट राष्ट्रपतिको दाबेदारमा सबैभन्दा अगाडि सम्मानित नेता झलनाथ खनाल देखिएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुस ४ गते संसदीय दलको नेता चयन गर्न आयोजित बैठकमा पार्टीको बटमलाइन राष्ट्रपति भएको ब्रिफिङ गरेका थिए ।
प्रधानमन्त्री, राष्ट्रपति र सभामुखमध्ये एकीकृत समाजवादीको जोड राष्ट्रपति हुने नेपालको भनाइ थियो । उसो त सत्ता गठबन्धनको बैठकमा समेत एकीकृत समाजवादीले राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने दाबी प्रस्तुत गर्दै आएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहिसकेका खनालले सार्वजनिक रुपमै राष्ट्रपतिमा आफ्नो इच्छा प्रकट गर्दै आएका छन् । उनले राष्ट्रपतिको अघिल्लो कार्यकालमा पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याएर राष्ट्रपति बनाएपछि खनाल मौन बसेका थिए ।
यहीबीच तत्कालीन नेकपामा विवाद भएपछि प्रचण्ड–माधव पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने क्रममा खनाललाई भावी राष्ट्रपति दिने आश्वासन दिएको थियो । नेकपा विघटनलगत्तै नेकपा एमाले विभाजित बन्यो भने माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भयो । जुन पार्टीमा खनाल सो सम्मानित नेता रहेका छन् ।
मंसिर ४ को निर्वाचनपछि सत्ता गठबन्धनमा राजकीय प्रमुख पदमा कसले कुन पद लिने भन्ने विषयमा बहस र छलफल चल्दै गर्दा नेकपा एकीकृतले राष्ट्रपतिमा दाबी गरेको हो । ‘अहिले प्रधानमन्त्री पाउने अवस्था छैन । त्यसैले राष्ट्रपति पाउनुपर्छ भन्ने अडान छ । राष्ट्रपति नभए सभामुख हुन सक्छ,’ एकीकृत समाजवादीका एक पदाधिकारीले भने, ‘तर, पार्टीको तर्फबाट स्ट्रोङ रुपमा राष्ट्रपति हुनुपर्छ भन्ने छ । त्यसमा लचिलो नहुने भन्ने छ ।’
यदि गठबन्धनबाट राष्ट्रपति पाउने अवस्था नभएमात्रै सभामुख लिएर चित्त बुझाउने एकीकृत समाजवादीको रणनीति छ । राष्ट्रपति हुन खनालले सत्ता गठबन्धनका नेताहरूलाई भेटेर माहोल बनाउने प्रयास गरिरहेका छन् । ‘राष्ट्रपति राष्ट्रको अभिभावक पद हो । राजनीतिक इतिहास र पृष्ठभूमि भएको व्यक्तिलाई बनाउनुपर्छ । एकाध गैरराजनीतिक पृष्ठभूमि भएको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भनेर चर्चा चलेको छ । त्यो विगतलाई हेरेर पनि गल्ती दोहोर्‍याउनु हुँदैन’ रातोपाटीसँग कुरा गर्दै खनालले भने,‘अब सत्ता गठबन्धनमा समझदारी बनाउँदा एकीकृत समाजवादीको राष्ट्रपतिको दाबी रहन्छ । त्यसमा पार्टीको तर्फबाट मेरो दाबी रहन्छ ।’ राष्ट्रपतिमा आफू भएमा अहिलेको व्यवस्थालाई संस्थागत गर्न बल पुग्ने खनालको दाबी छ ।
खनाल इलाम १ बाट मंसिर ४ को निर्वाचनमा एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका खनाल २०५६ साल बाहेक पराजित हुनु परेको थिएन । यो चुनावमा भारी मत अन्तरले पराजित भएपनि खनालले राष्ट्रपतिमा लबिङ जारी राखेका हुन् ।
सत्ता गठबन्धनमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा समझदारी बन्न सकेको छैन । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद दाबी गर्दै आएको छ । यस्तै माओवादी केन्द्रले पहिलो चरणमै प्रधानमन्त्री लिएर राष्ट्रपति कांग्रेस वा एकीकृत समाजवादीलाई दिनुपर्ने धारणा राख्दै आएको छ । यदि पहिलो चरणमै कांग्रेसले प्रधानमन्त्री लिएमा राष्ट्रपति एकीकृत समाजवादीबाट खनाल वा माओवादीका कुनै नेताको सम्भावना छ । तर, पहिलो चरणमै प्रधानमन्त्री प्रचण्डले लिएमा राष्ट्रपति कांग्रेसको भागमा पर्ने निश्चित जस्तै छ । त्यस्तो अवस्थामा खनालको राष्ट्रपति बन्ने सम्भावना सकिनेछ ।
प्रधानमन्त्री देउवाले दलको नेता चयन भएपछि सत्ता साझेदारीका विषयमा छलफल गर्ने बचन दिएका थिए । माओवादी अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्रीमा सघाउन प्रस्ताव गरेपछि देउवाले कांग्रेस संसदीय दलको चुनाव सकिएपछि मात्रै छलफल गर्ने जवाफ दिएका थिए ।
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित भएसँगै अब प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, मुख्यमन्त्री लगायत प्रमुख पदमा सत्ता गठबन्धन समझदारी बनाएर जाने देखिएको छ । उसो त राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा पनि पुस १० मा सकिँदैछ । जसका कारण सो अघि नै सत्ता गठबन्धनमा सहमति गर्नुपर्ने वाध्यता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी