शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदहरुको शपथ ग्रहणपछि मात्र जसपाले संसदीय दलको नेता छान्ने

बुधबार, ०६ पुस २०७९, ११ : ४५
बुधबार, ०६ पुस २०७९

जनता समाजवादी पार्टी नेपालले सांसदको शपथग्रहणपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । लगभग सबै प्रमुख दलले संसदीय दलको नेता टुङ्ग्याइसके पनि जसपाले हालसम्म त्यसबारे छलफल पनि सुरु गरेको छैन ।

जसपाका प्रवक्ता मनिष सुमनका अनुसार पार्टीभित्र संसदीय दलको नेतालगायत अन्य विषयको बारेमा पार्टीमा आन्तरिक गृहकार्य सुरु भएको छ । संघीय सांसदको शपथग्रहणपछि संसदीय दलको नेता चयन हुने उनको भनाइ छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपनि अब संसदीय दलको नेता को हुने भन्नेमा अन्योल देखिएको छ । अध्यक्ष उपेन्द्र यादव सांसदका रुपमा निर्वाचित भएको अवस्थामा उनी नै संसदीय दलको नेता बन्ने निश्चितजस्तै थियो तर उनी संसदमा प्रतिनिधित्व गर्न असफल भएपछि संसदीय दलको नेता बन्न होडबाजी देखिएको छ ।

वरिष्ठतमको आधारमा अशोक राईलाई संसदीय दलको नेता बनाउने चर्चा पनि पार्टीभित्र चलिरहेको छ । तर जसपाको संगठन मधेसमा रहेको र मधेसबाटै बढी सांसद जितेका कारण मधेसी समुदायबाटै नेता चयन गर्नुपर्ने तर्क पनि प्रकाशमा आइरहेको छ ।

जसपा राष्ट्रिय पार्टी भए पनि यसको आधार मधेस नै हो, अहिलेको चुनावमा प्रतिनिनिधिसभातर्फ सबभन्दा बढी मधेस प्रदेशबाटै जितेर आएका कारण मधेसी समुदायबाटै संसदीय दलको नेता चयन हुनुपर्ने दाबी पार्टीभित्र भइरहेको छ । प्रतिनिधि सभामा जितेका सात जनामध्ये मधेसबाट पाँच जनाको प्रतिनिधित्व छ ।

राजकिशोर यादव, रामसहाय यादव, नवलकिशोर साहले संसदीय दलको नेतामा दाबी गरेका छन् । यो चुनावमा जसपा कमजोर भएको छ । अध्यक्ष उपेन्द्र यादव आफै हारेका छन् । त्यस अवस्थामा पहाडी समुदायबाट संसदीय दलको नेता बनाउने काम भयो भने मधेसमा गलत संदेश जाने भएकाले मधेसबाटै संसदीय दलको नेता बनाउन अध्यक्ष उपेन्द्र यादवमाथि दबाब परिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप