काँग्रेसको संसदीय दलको चुनावः नयाँ पुस्तालाई अझै सकस
वीपी कोइरालाले ३५ वर्षको उमेरमा ०७ सालको क्रान्तिको नेतृत्व गरेका थिए, जसले राणाहरुको जहानिया शासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना गर्यो, । त्यसैले, उनी ४५ वर्षको युवावस्थामै देशको प्रथम निर्वाचित प्रधानमन्त्री बने ।
त्यतिमात्र नभै वीपीले काँग्रेसलाई जुन विचार र सिद्धान्तमा हिँडाए, आज पनि काँग्रेसको सैद्धान्तिक आधार त्यसैमा अडेको छ । अहिले नेपाली काँग्रेसको संसदीय दलको नेताको चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति दिने पार्टी महामन्त्री गगन थापा पनि ४५ वर्ष पुगेका छन् ।
उमेरले मात्र कोही योग्य नेता हुँदैन, केवल भाषणकलामा निपूर्ण व्यक्ति असल नेता हुन्छन् भन्ने पनि कुनै ग्यारेण्टी छैन । पञ्चायतकालमा हिरालाल विश्वकर्मा भाषण कलामा ज्यादै निपूर्ण थिए तर उनी वास्तविक अर्थमा नेता हुन सकेनन् । त्यस्तै ०४६ सालमा बहुदलको पुनस्थापनापछि काँग्रेका युवा नेता मनमोहन भट्टराई धाराप्रवाह भाषण गर्न सक्थे । र, चुनावको समयमा उनको भाषणको मतदाताहरुले डिमाण्ड नै गर्थे तर उनी पनि राजनीतिमा सफल हुन सकेनन् ।
नेपाली काँग्रेसका सर्वोच्च नेता गणेशमान सिंह भाषण कलामा त्यति निपूर्ण थिएनन् । तर उनी काँग्रेसको मात्र नभै कम्युनिष्टको पनि सर्वमान्य नेता बने । र, ०४६ सालको जन आन्दोलनको नेतृत्व गरी त्यसमार्फत् बहुदलीय व्यवस्था पुनस्थापना गर्न सफल भए ।
सिंहले ०७ सालको क्रान्ति, ०३६ सालको आन्दोलन, ०४२ सालको सत्याग्रह र ०४६ सालको जनआन्दोलनमा कुशल नेतृत्व दिए । वीपी.को देहवासानपछि काँग्रेस पार्टी कसको नेतृत्वमा अघि बढ्ला भन्ने आम चासो र चिन्ता थियो । तर सिंहले त्यसपछि पनि सत्याग्रह र ०४६ सालको वामप्रजातान्त्रिक आन्दोलनलाई नेतृत्व प्रदान गरी प्रजातन्त्र पुनस्थापना गराइ छाडे ।
०३७ सालको जनमत संग्रहताका नेपाली कांँग्रेसका नेताहरु भूमिगत जीवन र निर्वासित अवस्थाबाट खुला राजनीतिमा फर्किने क्रममा गिरिजाप्रसाद कोइरालाले सिफलस्थित सानो गौचरणको आमसभामा पहिलो पल्ट भाषण गर्दा म भाषण गर्न जान्दिन भनेरै भाषण सुरु गरेका थिए ।
तर पछि उनै गिरिजाप्रसादले देशको प्रधानमन्त्रीको चार पल्ट वागडोर सम्हाल्नुका साथै ०६२÷०६३ को जनआन्दोलनको नेतृत्व गरी गणतन्त्र स्थापना गर्नमा समेत अहम् भूमिका निभाए ।
काँग्रेसका अर्का लोकप्रिय नेता प्रदिप गिरी भाषण गर्न ज्यादै सिपालु थिए । उनको भाषण कम्युनिष्टहरुले समेत चाख लिएर सुन्ने गर्थे । तर उनले आफ्नो जीवनकालमा कुनै आन्दोलनको नेतृत्व गरेको वा कुनै जिम्मेवार पद सम्हालेको थाहा भएन ।
सफल राजनीतिज्ञ त्यो व्यक्ति हो, जसले परिस्थितिको सही मूल्याङ्कन गरेर सही कार्यक्रम दिन्छन् र त्यो कार्यक्रम कार्यान्वयन गर्न सही रणनीति अपनाउँछन् । र, त्यो रणनीति अनुरुपको परिस्थिति सिर्जना गरेर देशलाई सही दिशामा डोर्याउँछन् ।
वीपी कोइरालाले ०३३ सालतिर भारतमा इन्दिरा गान्धीको शासनको समयमा त्यहाँ बसेर काम गर्ने अवसर नदेखेपछि स्वदेश फर्कने निर्णय गरे । राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरेर आफ्नो प्राणको वाजी लगाएर गणेशमान सिंहसमेत स्वदेश फर्के ।
त्यसवखत कतिपयले उनको त्यो नीतिलाई आत्मसमर्पण भनी आलोचना नगरेका हैनन् । तर उनको त्यो कदम दूरदर्शी थियो, जसले विस्तारै नेपालमा राजनैतिक परिवर्तनको पक्षमा वातावरण बनाएको थियो । त्यसको केही समयपछि विद्यार्थी आन्दोलन भयो र राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरे, जसमा सुधारिएको पञ्चायत व्यस्था र बहुदलीय व्यवस्थामध्ये एकलाई रोज्ने अवसर जनतालाई दिइएको थियो ।
यसरी वीपीले त्यसवेला अपनाएको राष्ट्रिय मेलमिलापको नीतिले देशमा दूरगामी परिवर्तन ल्याउन अहम् भूमिका खेल्यो ।
अहिले नेपाली काँग्रेस परिवर्तनको संघारमा उभियो । एकातिर पुराना खारिएका नेताहरु पार्टीको नेतृत्व सम्हालिरहेका छन् भने अर्कातर्फ नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनपर्ने आवाज पार्टीभित्र बुलन्द भयो । तर नेतृत्व हस्तान्तरणको कुरा स्वाभाविक हुनुपर्छ । कुनै ठूला नेताले टीका लगाएर बनाएको नेतृत्व दीगो हुन सक्दैन ।
पुरानो र स्थापित नेतृत्वपंक्तिले नयाँ पुस्तालाई अगाडि बढ्ने मौका दिन पर्छ तर नयाँ पुस्ता पनि त्यस निम्ति तयार रहनुपर्छ । नेतृत्व भनेको कसैले सुनको किस्तीमा राखेर कोशेलीमा दिने कुरा हैन, कडा मेहनत, लगन र कुशल क्षमता प्रदर्शित गरेर नेतृत्व लिन सक्नु पनि पर्छ नयाँ पुस्ताले ।
संसदीय दलमा चुनावबाट नेतृत्व चुनिने प्रक्रियालाई अगाडि बढाउन दिइनुले काँग्रेस पार्टीको प्रजातान्त्रिक चरित्रलाई उजागर गर्ने कार्य भएको छ । काँग्रेसबाहेक अरु पार्टीहरुमा संसदीय दलको यसरी औपचारिक निर्वाचन प्रक्रया सुरु भएको देख्न वा सुन्नमा आएको छैन । यसले सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी काँग्रेसको ऐतिहासिक महत्वलाई पनि दर्शाएको छ ।
फेरि संसदीय दलको चुनावमा विजय हुँदैमा स्वतः काँग्रेसलाई सरकारको नेतृत्व मिल्छ भन्ने पनि कुनै ग्यारेण्टी छैन । नेकपा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै आफू प्रधानमन्त्रीको निम्ति इच्छुक रहेको भन्ने धारणा सार्वजनिक गर्नुले पनि काँग्रेस पार्टीको निम्ति स्थिति सहज भन्दा चुनौतीपूर्ण बनेको देखिन्छ ।
अहिले काँगे्रससंग न त संसदमा पर्याप्त मत नै छ, न त पाँचदलीय गठवन्धन कायमै रहेको खण्डमा पनि सामान्य बहुमत सजिलै मिल्ने स्थिति छ । काँग्रेसले प्रतिनिधिसभामा जम्माजम्मी ८९ सीट हासिल गरेको छ भने पाँचदलीय गठवन्धनको कुल सीट संख्या १३६ मात्र पुग्छ, जुन सामान्य बहुमतभन्दा २ मतले कम हुन आउँछ । वामप्रजातान्त्रिक गठवन्धनअन्तर्गत आगामी सरकारको नेतृत्व हासिल गर्नु फलामको च्युरा चपाउनु सरह नै हुनेछ ।
देउवाले राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्तित्व बनाइसकेको हुनाले उनको स्थान तत्काल लिन सक्ने नेता काँग्रेसमा देखिएको थिएन, यद्यपि देउवाले स्वेच्छाले सक्रिय राजनीतिबाट विश्राम लिएको भए उनको निम्ति पनि आफ्नो प्रतिष्ठा कायम राख्ने त्यो ठूलो अवसर हुन्थ्यो । तर अहिले पार्टीभित्र मात्र हैन, बाहिर पनि सन्तुलन मिलाउन र खास गरी गठवन्धनका अन्य दलहरुसंग वार्गेनिङ गर्न सक्ने अन्य नेता काँग्रेसमा देउवाबाहेक अरु नदेखिनु पनि कटु यथार्थ हो ।
यद्यपि, काँग्रेसमा देउवाबाहेक प्रधानमन्त्री हुन सक्ने अरु पनि धेरै नेताहरु छन् । तिनमा नयाँ पुस्ताकै कुरा गर्ने हो भने पनि उपप्रधानमन्त्री भैसकेका पार्टीका नेता प्रकाशमान सिंह, केन्द्रिय सदस्य शेखर कोइराला, शशांक कोइराला र महामन्त्री गगन थापा पर्छन् ।
तर अहिले संसदीय नेताको चुनावमा शेखरले गगनको समर्थन गरे । अनि सिंहले देउवाको समर्थन गरे । शेखर अन्तिम समयसम्म पनि पार्टीको संसदीय दलका नेताको चुनाव लड्न इच्छुक देखिएता पनि उनले अन्तिम समयमा हिम्मत देखाउन सकेनन् र आखिर गगनलाई समर्थन गरे । गत वर्ष पार्टी सभापतिको चुनावमा हारिसकेका उनले यसपल्ट पनि हारेमा नेतृत्व पंक्तिबाटै ओझेलमा पर्न सक्ने जोखिम मोल्न चाहेनन् । संसदीय दलमा संस्थापन पक्षको स्पष्ट बहुमत थियो नै ।
पार्टीको महाधिवेशनको समयको गणितमा अहिले केही फेरबदल भएको स्थिति देखा पर्यो । त्यसवखत देउवा पक्षबाट महामन्त्री पदमा चुनाव लड्ने प्रदीप पौडेल र प्रकाशमान सिंहको टिमबाट महामन्त्री पदका प्रत्याशी विश्वप्रकाश शर्मा अहिले गगनको पक्षमा उभिएका थिए ।
तर फेरि सभापति पदका स्वयं प्रत्यासी प्रकाशमान सिंह र शेखरलाई समर्थन गर्ने रामचन्द्र पौडेल भने अहिले देउवाको पक्षमा उभिए ।
प्रकाशमान सिंहको समर्थन देउवाको निम्ति निकै महत्वपूर्ण सावित भयो । त्यसैगरी शशांक र सुजाता पनि देउवाकै पक्षमा देखिनाले कोइराला परिवार यसपल्ट पनि विभाजित भयो ।
अन्ततः बुधबार भएको संसदीय दलको नेतामा ८९ भोट खसेकोमा देउवा ६४ मत ल्याई विजयी भएका छन् । गगन थापाले जम्मा २५ मत मात्रै ल्याउन सके । थापाको अपेक्षाकृत कम मत आएको छ ।
मंसिर ४ को चुनाव देउवाकै नेतृत्वमा सम्पन्न भएको हुँदा देउवाले तत्काललाई प्रधानमन्त्री पदमा दावी गर्नु अस्वाभाविक पनि थिएन । हुन त गगनले संसदीय दलको नेताको चुनाव लड्नुमा कुनै घाटा भएन । देउवासंग चुनाव लडी चर्चामा आएबाट आगामी दिनहरुमा पार्टीको वा सरकारको नेतृत्व गर्न त्यसबाट अनुभव बटुल्ने मौका गगनलाई अवश्य पनि मिल्छ नै । साथै देउवासंग चुनाव लड्नाले त्यसबाट गगनकोे व्यक्तित्व अरु खारिने अवसर प्राप्त हुने कुरामा शंका छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुन्थर घाटमा १ लाख माछाको भुरा छोडियो
-
‘मिस इन्टरकन्टिनेन्टल’मा भाग लिन इजिप्ट उडिन् आयुष्नोभा
-
समय नखुलेको इ–हाजिरी पेस गरी खाजा भत्ता भुक्तानी
-
पेरुको ‘ग्राण्ड कल्चर रनवे’मा नेपालको प्रतिनिधि वसन्त र प्रशंसा
-
पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी आउँदै
-
नेपालीले विदेशमा पसिना बगाउँदा राष्ट्र बैंक ‘मालामाल’