शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपति बन्न नसकेका अमियकुमार : फेरि कांग्रेसले सम्मान गर्ने आस

बुधबार, ०६ पुस २०७९, १० : ३५
बुधबार, ०६ पुस २०७९

देशमा प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपतिदेखि सभामुख बन्नेसम्मको चर्चा चुलिएको छ । यस्तोमा काँग्रेस महासमिति सदस्य अमियकुमार यादव ‘अमिरी’ को पनि कान ठाडो भएको छ । 
नहोस् पनि किन, आखिर अमियकुमार यादव यसअघि २०७२ मा काँग्रेसको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार जो बनेका थिए । सिरहा, कजारका यादवलाई त्यतिबेला पार्टीले उम्मेदवारी दिन लगाएको थियो । यसपटक भने उनी आफै पनि उम्मेदवार बन्न इच्छुक छन् । 

२०७२ मा उपराष्ट्रपतिको उम्मेदवार बन्दा यादव संविधान सभाका सदस्य पनि थिए । माओवादी केन्द्रले नन्दबहादुर पुनलाई उपपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो । त्यतिबेला एमालेले विद्यादेवी भण्डारीलाई अनि काँग्रेसले राष्ट्रपतिमा कुलबहादुर गुरुङलाई उम्मेदवार बनाएको थियो ।

त्यतिबेला एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका कारण कुलबहादुर गुरुङ तथा अमियकुमार यादव दुवैले चुनाव जितेनन् । गुरुङले २१४ मत र यादवले २१२ मत प्राप्त गरेका थिए । 
यादव भन्छन्, ‘त्यतिबेला पार्टीलाई आवश्यकता परेर मलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाइएको थियो, यसपटक पनि पार्टीले उम्मेदवारी दिन लगाए तयारै छु ।’ उनले अगाडि भने, ‘अब म संसदीय राजनीति गर्दिन, उमेर पनि ७६ वर्ष पुगिसक्यो । अब चुनाव लडेर सांसद बन्न सक्दिन । पार्टीले नै सम्मान गरेर केही दिन्छ भन्ने आशामा छु ।’

उपराष्ट्रपतिको २०७२ को चुनावमा काँग्रेसले मधेसवादी दलको मत तान्न मधेसी अनुहारको उम्मेदवार खडा गरेको थियो । तर मधेसी दलले मत नहालेको यादवको बुझाई छ । तर यसपटक पाँचदलीय गठबन्धन छ, सुविधाजनक बहुमत छ । त्यसैले मधेसबाट उम्मेदवार बनाइयो भने जित्ने सम्भावना धेरै हुने उनी जिकिर गर्छन् । 

यादव प्रायः गाउँमै बसेर पार्टीमा क्रियाशील छन् । कहिलेकाहीँ पार्टीको कामका सिलसिलामा काठमाडौँसम्म जाने गरेका छन् । नभए सिरहामै केन्द्रीत रहेर जिल्लाको राजनीतिमा सक्रिय रहन्छन् । 
२०४८ को आमचुनावमा स्वतन्त्र उम्मेदवार बनेका अमियकुमार यादवले त्यतिबेला चुनाव हारेका थिए । त्यसपछि उनी २०५६ मा काँग्रेसबाट तत्कालीन राष्ट्रिय सभामा निर्वाचित भएका थिए । २०६२ सम्म राष्ट्रिय सभा सदस्य भएर काम गरे । २०६४ को संविधान सभा चुनावमा प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा थिए तर पार्टीले टिकट दिएन । 

२०७० को दोस्रो संविधान सभा चुनावमा भने उनलाई समानुपातिकतर्फ संविधान सभा सदस्य बनाइयो । २०७४ मा पनि उनले चुनाव लड्ने इच्छा देखाएका थिए तर पार्टीले टिकट दिएन । २०७९ को चुनावमा पार्टीले समानुपातिकको बन्द सूचीमा नाम राखेको थियो । तर पुरुषमा ३ जनाको मात्रै नाम छनोट गर्ने अवस्था आएपछि उनी समाुनपातिकबाट सदस्य बन्न पाएनन् । 

उनी भन्छन्, ‘पार्टीको गुटबन्दीको शिकार भएको छु, पार्टीमा गुट नभएको भए सायद म पनि समानुपातिक सांसद हुन्थे ।’ अबको आश भनेको राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख तथा राष्ट्रिय सभा सदस्यमा मात्र हो ।
आफ्नो राजनीतिक यात्रा उमेरले पनि अन्तिम चरणमा रहेको बताउँदै उनले भने, ‘अब पाँच–सात वर्ष मात्र सक्रिय राजनीतिमा रहने सोच छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप