पत्रकार महासंघको केन्द्रीय साधारण सभाको तयारी अन्तिम चरणमा, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने
नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाका लागि सुर्खेतमा तीब्र तयारी भइरहेको छ । यही पुस ८ र ९ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गर्न लागिएको साधारण सभाका लागि सभा हल, होटेल, व्यवस्थापनदेखि प्रचार–प्रसारको काम तीब्र गतिमा भइरहेको हो ।
पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले देशभरबाट आउने पत्रकारहरुका लागि वीरेन्द्रनगरका २२ वटा होटलको व्यवस्थापन गरिएको बताए । साधारण सभामा झण्डै ७ सयभन्दा बढी पत्रकारको सहभागिता हुने बताइएको छ । साधारण सभाको तयारीबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासंघको सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले कार्यक्रमको तयारीमा कुनै कमी हुन नदिने बताए ।
महासंघले सहभागीहरूका लागि चार छाक खान, बस्नको व्यवस्थापन गरेको छ । महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले ६७ वर्ष लामो इतिहासमा पहिलो पटक कर्णाली प्रदेशमा साधारण सभा हुन लागेको बताए । उनका अनुसार साधारण सभाको लागि आर्थिक दायित्व केन्द्रीय समितिले नै गरिरहेको छ । साधारण सभाका लागि कर्णाली प्रदेश सरकारले १७ लाख बजेट दिने निर्णय गरेको छ भने केन्द्रीय सरकार समक्ष पनि बजेटको माग गरिएको उनले बताए ।
सुर्खेत जिल्लाका सबै स्थानीय तह र सुर्खेत उद्योग वाणिज्य संघलाई पनि आर्थिक सहयोगका लागि आग्रह गरिएको उनको भनाइ छ । यद्यपि अहिलेसम्म प्रदेश सरकार बाहेक कुनै पनि निकायबाट बजेटबारे निर्णय भइसकेको छैन । महासंघका केन्द्रीय महासचिव रोशन पुरीले साधारण सभाको तयारी तीब्र गतिमा भइरहेको बताए । उनका अनुसार कार्यक्रममा वैदेशिक शाखादेखि पत्रकारसँग सम्बन्धित सम्पूर्ण शाखाबाट प्रतिनिधिहरु सहभागी हुने छन् ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आउनेछिन् । यस्तै सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की, कांग्रेस उपसभापति पुर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट कृष्ण महरा, कर्णाली सरकारका मुख्यमन्त्री जीवन बहादुर शाही र कर्णालीका विभिन्न पालिकाका प्रमुखले अतिथिको रुपमा सहभागिता जनाउने छन् ।
८ गते विहान ८ बजे वीरेन्द्रनगरको मंगलगढी चोकदेखि प्रभातफेरी सुरु हुने र ९ बजे उद्घाटन कार्यक्रम राखिएको जनाइएको छ । साधारण सभा वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिने भएको छ । महासंघको केन्द्रीय समितिको बैठक पनि ७ गते वीरेन्द्रनगरमै बस्ने छ ।
महासचिव पुरीले महासंघको विगतदेखि भइआएका गतिविधि र महासंघले आगामी दिनमा गर्नुपर्ने कार्य योजनाको बारेमा वृहत छलफल हुने बताए । साधारण सभाको अवसर पारेर कर्णाली प्रदेशमा महत्वपुर्ण स्थानहरुको फोटो प्रदर्शनी समेत गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा फडिन्द्र देवकोटाले अस्वीकार गरे मन्त्री पद
-
यूरोप, अमेरिकामा रोजगारी दिने भन्दै ठगी बढेपछि सचेत रहन मन्त्रालयको आग्रह
-
माथिको आदेश मात्रै पालना गर्ने हो भने नेताहरू डाइनोसर हुन्छन्: मुख्यमन्त्री कार्की
-
जसपा विभाजनपछि विप्लवको टिप्पणी : स्थिति चिन्ताजनक छ, परिस्थितिलाई सम्हालियोस्
-
नार्कमा ४६ प्रतिशत दरबन्दी रिक्त
-
सञ्चालनमा आयो नेपालगन्ज एकीकृत जाँच चौकी, २ ट्रक प्लाइउड भारत निर्यात