आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

रामेछापका जनप्रतिनिधिको संकल्पः कुलमानको गाउँपालिकामा बत्ती बाल्नेदेखि जनताको प्यास मेट्नेसम्म

सोमबार, २९ जेठ २०७४, १३ : ५५
सोमबार, २९ जेठ २०७४

काठमाडौं, जेठ २९–रामेछापका विभिन्न ८ स्थानीय निकायका प्रमुख र उप–प्रमुखमा निर्वाचित जनप्रतिनिधिहरुले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको गाउँपालिका (सुनापती) झिलीमिली पार्नेदेखि सुख्खा क्षेत्रका स्थानीयको प्यास मेट्नेसम्मको संकल्प सार्वजनिक गरेका छन् । आइतबार राजधानीको तिनकुनेमा आयोजित अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

रामेछाप–काठमाडौं पत्रकार समाजले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा जनप्रतिनीधिहरुले विद्युतिकरण, सरकारी विद्यालयमा अंग्रेजी माध्यबाट पढाउने तथा बाटो र खेलमैदान निर्माणको कार्यलाई आगामी पाँच बर्षमा प्राथमिकताका अगाडी बढाउने योजना यसरी सुनाएः 
शैलुङलाई आलुको पकेट क्षेत्र घोषणा गर्छौ
कमानसिंह मोक्तान (अध्यक्ष दोरम्बा गाउँपालिका) 
स्थानीय निर्वाचनको बेला गरेका प्रतिवद्धता पुरा गर्ने चुनौती हाम्रो अगाडी छ । त्यो चुनौतिलाई पार गर्न संघर्ष गर्नुपर्नेमा दुबिधा छैन । प्रतिबद्धताहरु कानुन र संविधानमा टेकेर पुरा गर्नुपर्ने छ । हामीले अबको पाँच बर्षमा कम्तिमा पाँचओटा क्षेत्रमा फड्को मार्नुपर्ने छ, जस्तो ः सड्क, बत्ति, खानेपानी ईत्यादी । 
दोरम्बा गाउँपालिकाको प्रयाजसो ठाउँमा ट्रयाक खुलेको छ, त्यो ट्रयाकलाई स्तरवृद्धि गर्नमा हाम्रो जोड रहन्छ । पानिको समस्या समाधान गर्नका लागी हामीले प्राथमिकताका साथ योजना बनाउँछौं, केही वडामा बिजुली पुगेको छैन, त्यसका लागी पहल गर्दै छौं । कम्तिमा यसै बर्षभित्र दोरम्बाका सवै वडामा बत्ति बाल्छौं । शैलुङ्ग, सानो सैलुङ्ग र गुराँसेलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्छौं । सैलुङ्गलाई आलुको पकेट क्षेत्र र सानो सैलुङ्गलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरेर विकास गर्छौं । 
सुनापतीलाई ६ महिनाभित्र उज्यालो पार्छु
धावा लामा (अध्यक्ष, सुनापती गाउँपालिका) 
मैले निर्वाचनको बेला ३६ बुँदे अवधारण पेश गरेको थिएँ, त्यसैको बेसमा टेकेर काम गर्छु । बोलेपछी गरेरै छाड्छु, मेरो गाउँपालिकामा पर्ने सुनकोशी तेस्रो जलविद्युत्त आयोजना आगामी पाँच बर्षभित्र डिटेल सर्भे गरेर पिपिए समेत गर्ने सोच छ । सुनापतीका सवै जनतालाई सुनकोसी तेस्रोमा शेयर दिलाउँछु । खाँडादेवी गाउँपालिका स्थित राकाथुमको खैरेनीघाट हुँदै डडुवाको खोलाखर्च सम्मको सड्क पिच गर्छु । सुनापतीलाई कृषि जोन विकास गरेर अगाडी बढ्ने प्लान छ । आगामाी छ महिनाभित्र विद्युत्त विस्तार गरेर सुनापतीलाई उज्यालो पार्छु । 
खाँडादेवी खोलमा बगेको पानी जनताको आँगनमा 
प्रेम तामाङ्ग (अध्यक्ष, खाँडादेवी गाउँपालिका)​
खाँडादेवी गाउँपालिका सुख्खा क्षेत्रमा परेको हुनाले खानेपानीको समस्या छ । खानेपानीको समस्याकै कारण त्यहाका मानिसहरु शहर पस्न थालेका छन् । खाँडादेवी खोलमा बगेको पानी जनतालाई खुवाउने पहिलो निर्णयमा मैले हस्ताक्षर गरिसकेको छु । खाँडादेवी क्षेत्रमा रहेका सड्कको स्तर उन्नती गरेर पाँच बर्षमा ग्राभेल गरिसक्ने योजना छ । त्यस्तै सामुदायीक विद्यालयमा कक्षा १ देखी नै अंग्रेजी माध्यमबाट पढाउने योजना बारे सरोकारवालाहरुसँग छलफल भैरहेको छ । 

एउटा राम्रो अस्पताल, हरेक वडामा बर्थिङ सेन्टर बनाउँछौं  
उर्मिला कार्कि (उपाध्यक्ष, उमाकुण्ड) 
उमाकुण्ड गाउँपालिकाको हरेक वडामा बर्थिङ सेन्टर नहुँदा ज्यानको बाजी राखेर महिला दिदी बहिनीहरु बच्चा जन्माउन बाध्य छन् । अब प्रत्येक वडामा बर्थिङ सेन्टर र गाउँपालिकाको केन्द्रमा एउटा राम्रो हस्पिटल बनाउने योजना  छ । त्यस्तो शैक्षिक गुणस्तर सुधारका लागी पनि पहल गर्ने छौं । 
निर्वाहमुखी कृषिलाई ब्यवसायिकतामा ढाल्छौं 
खड्गबहादुर सुनुवार( अध्यक्ष, गोकुलगंगा गाउँपालिका) 
हाईड्रोपावरको विकास गरेर गरिबी निवारणका लागी प्रयत्न गर्छौं । निर्वाहमुखी कृषिलाई ब्यवसायिकतामा ढालेर अर्थोपार्जनको गारेटो खन्ने कामलाई प्राथमिकता दिने योजना बनाएका छौं । गोकुलगंगा क्षेत्रमा आलुको संभावना भएकोले पकेट क्षेत्र बनाउने कार्यमा लाग्नेछौं । यस क्षेत्रमा फलाम र स्लेट खानिहरु पनि भएकाले त्यस्ता खानी उत्खनन गरेर रोजगारी सिर्जना गर्ने योजना बनाएका छौं । 
तलवभत्ता लिन्न, विपन्नलाई बाँड्छु 
गोविन्द खड्का (अध्यक्ष, लिखु गाउँपालिका) 
हाम्रा राजनेता जनताप्रति उत्तरदायी नहुँदा हामी अहिलेसम्म अँध्यारोमा बस्नु परेको छ । कुलमान घिसीङ्ग दाईसँग कुरा गरेर लिखुलाई उज्यालो बनाउने काममा लाग्नेछु । मेरो कार्यकालभरी मैले आफुले पाउने तलव भत्ता नलिने घोषणा गरेको छु । मेरो तलव भत्ता विपन्न र गरिव परिवारलाई वितरण गर्छु । 

झोलामा खोला र लाईसेन्स राख्नेको खोजी गरिन्छ 
नरबहादुर थापामगर (मेयर, रामेछाप नगरपालिका) 
हाईड्रो पावर विकासका लागी प्राथमिकताका साथ काम गर्नेछौं । अब झोलामा खोला र लाईसेन्स राखेर बस्नेको खोजी गर्नेछौं । रामेछाप नगरपालिकाका खोलानाबाट निकाल्ने बिजुलीको शेयर र रोयल्टी त्यहाँका स्थानियले पाउनुपर्छ भन्ने हाम्रो निती रहेको छ । गुणस्तरीय शिक्षाका लागी प्रयत्न गर्छौ, सामुदायीक विद्यालयमा कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पढाएर परिवर्तनको आभाष दिन्छौं । 
क्रसर उद्योग खोल्छौं, कृषियोग्य जमिनमा घर बनाउन प्रतिबन्ध 
रमेश बस्नेत (मेयर, मन्थली नगरपालिका)
मन्थली नगरपालिकामा १५ बर्षदेखी सुसासन थिएन् । १४ वटै वडा कार्यालयबाट सहज सेवा दिनेगरी पुर्वाधार विकास गर्ने योजना छ । 
मन्थली सुख्खा क्षेत्र भएकाले पानीको समस्या छ । खानेपानी ब्यवस्थापनको कामलाई प्राथमिकता दिन्छु । नगर क्षेत्रमा नदि किनारको सभ्यता विकास गर्नु मेरो लक्ष्य रहेको छ । 
अर्को आर्थिक बर्षमा कम्तिमा दुईओटा सामुदायीक स्कुलमा अंग्रेजी माध्यमबाट पढाई हुने ब्यवस्था मिलाउँछु । कृषियोग्य जमिनमा घर घडेरी बनाउन प्रतिबन्ध लगाउँछु, २–३ वटा क्रसर उद्योग खोलेर गिट्टी बालुवा उत्पादन गरेर नगर क्षेत्रमा हुने निर्माण सामग्री अभावलाई अन्त्य गर्छु । 
मन्थली गर्मि गाउँ हो, स्विमीङ पुल सहितको आधुनिक पार्क निर्माण गर्ने लक्ष्य लिएको छु । मेयर बनेपछी मसगँ ७८ जना जागिर माग्न आए, नगर क्षेत्रमा अहिले सिकर्मी डकर्मीको हाहाकार छ । हामी प्राविधीक शिक्षा दिन्छौं, काम गर्न तयार हुनुपर्छ । मेरो नगरपालिकामा जे–जस्तो काम गर्न पनि तयार छु भन्ने सबैलाई रोजगारीको अवसर दिन्छु । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप